कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कालीकोटवासीलाई केदारनाथमा सिफारिस अनिवार्य

तुलाराम पाण्डे

कालीकोट — वर्षौंदेखि बिनारोकतोक ज्याला मजदुरी गर्न भारत जाने गरेका पलाता–३ का नवीन विश्वकर्मा आइतबार सिफारिस लिन मान्मस्थित जिल्ला प्रशासन कार्यालय पुगे ।

कालीकोटवासीलाई केदारनाथमा सिफारिस अनिवार्य

प्रशासनमा भारत जाने निवेदनसहित उनले नागरिकताको प्रमाणपत्र र वडा कार्यालयले दिएको सिफारिस पेस गर्नुपर्‍यो । जिल्ला प्रशासनले ‘रोजगारीको सिलसिलामा भारत जाने भएकाले निजको चालचलन बुझिदिनु’ भन्दै प्रहरीलाई पत्र लेख्यो ।

प्रहरीले सीआरएस अभिलेखमा चालचलन राम्रो रहेको, आपराधिक संगठनमा नरहेको, कुनै राजनीतिक दलमा संलग्न नभएको र फौजदारी अभियोगमा सजाय नपाएको पत्र दिएपछि मंगलबार बेलुकी मात्र उनलाई प्रशासनले सिफारिस दियो । ‘अचेल त भारत जान पनि जिल्ला प्रशासनको सिफारिस चाहिने भयो,’ उनले गुनासो पोखे, ‘गाउँ र जिल्लामा सिफारिस बनाउनै ५ दिन लाग्यो ।’ यो प्रक्रिया पूरा गर्न उनले करिब ५ हजार रुपैयाँ खर्च भएको बताए ।

शुभकालिका–१ छाती गाउँका हर्क कामीसहित ७ जनाको टोली पनि केदारनाथ जान सिफारिस लिन प्रशासनकै लाइनमा थिए । ‘सिफारिस नलिए जान दिँदैनन् रे,’ उनले भने ।

बिनारोकतोक भारत र नेपाल गर्दै आएका कालीकोटका बासिन्दाले एक वर्षदेखि सास्ती खेप्दै आएका छन् । ज्याला मजदुरीको प्रमुख गन्तव्य केदारनाथ जान सिफारिस हुनैपर्छ । मजदुरी गर्न कालीकोटका कोही पनि केदारनाथ जानुअघि प्रशासनबाट सिफारिस लिन्छन् । गत चैत १० यता मात्र ५ हजार ८ सय ३६ जनाले सिफारिस लिएको निमित्त प्रहरी प्रमुख सुवराज बमले बताए ।

प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीका अनुसार कालीकोटका बासिन्दालाई मात्र केदारनाथमा सिफारिस चाहिन्छ । गत वर्ष जेठमा केदारनाथ मन्दिर जाने क्रममा एक भारतीय बालक भीरबाट खसेका थिए, सँगै रहेका कालीकोटका एक जना उनीसँग रहेको आइफोन र सुनको लकेट लिएर भागेको हल्ला चलेको थियो । त्यसपछि त्यहाँको प्रहरीले कालीकोटवासी मजदुरलाई केदारनाथ प्रवेशमा रोक लगाएको प्रजिअ माझीले बताए ।

प्रकाशित : वैशाख २०, २०८० ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?