१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

फराकिला बन्दै दुर्गमका सडक

कच्ची सडकलाई स्तरोन्नति गरेर सकेसम्म कालोपत्र नभए ग्राभेलसम्म बनाउने योजना
महेश केसी

रुकुम पश्चिम — कुनै बेला एउटा गाडी पनि मुस्किलले अटाउने रुकुम पश्चिमका सडक अब ठूला र फराकिला हुन थालेका छन् । संघीय र प्रदेश सरकारमार्फत जिल्लामा सडक स्तरोन्नति भइरहेको हो । मुसीकोट नगरपालिका–२ राउखेतबाट जिल्ला सदरमुकाम खलंगा हुँदै वडा ५ को डिग्रे र वडा ६ स्थित भण्डारीकाडासम्म ११ किलोमिटर लामो सडकको काम अघि बढेको छ ।

फराकिला बन्दै दुर्गमका सडक

संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतद्वारा कुल १ अर्ब रुपैयाँ लागत अनुमानसहित यो सडक विस्तारको काम अघि बढाइएको इकाईका इन्जिनियर टीकाराम पोखरेलले जानकारी दिए । ‘यस खण्डअन्तर्गत पहिलो चरणमा २५ करोड बजेटमा ४ किलोमिटर स्तरोन्नति भइरहेको छ,’ उनले भने, ‘बाँकी काम गर्न थप ८० लाख बजेटको प्रक्रिया अघि बढेको छ । संघीय सरकारको बहुवर्षीय आयोजना हो । अहिले ४ मिटर चौडाइ बनाएर यसको नाला र बेस निर्माण भइरहेको छ ।’

संघीय आयोजना इकाईअन्तर्गत नै मुसीकोट–५ सेरी गाउँदेखि वडा नं. ३ धैरेनीचौरसम्म कुल ३.७ किलोमिटर सडकलाई पनि स्तरोन्नति गर्ने काम अघि बढेको छ । पोखरेलका अनुसार पहिलो चरणमा २५ करोड बजेटमा काम अघि बढेको हो । उल्लिखित दुई वटा सडकलाई सुधार गरी आस्फाल्ट कालोपत्र गरिने योजना छ । सडक डिभिजन चौरजहारीले राप्ती लोकमार्गको साविक सल्यान–रुकुम खण्डलाई मुसीकोटको सोलाबाङबाट आठबिसकोटको गोतामकोटसम्म विस्तार अघि बढाएको छ । सडक डिभिजन प्रमुख आशुतोष कर्णले उक्त सडकमा ३ वटा खण्डमा काम गरिरहेको बताए ।

उनका अनुसार सोलाबाङ–गाराघाट खण्डको ७ किलोमिटरमा कुल २२ करोड रुपैयाँ लागतमा काम भइरहेको छ भने नदुवा–लिस्ने भीर खण्डको ७ किलोमिटरमा कुल ३१ करोडको ठेक्का लागेको छ । राप्ती लोकमार्गअन्तर्गतकै गोतामकोट–छहरेबगरको १० किलोमिटरमा कुल ३४ लाख लागतमा काम भइरहेको छ । उल्लिखित ३ वटा खण्डलाई ७ मिटर चौडाइमा विस्तार गरी कालोपत्र गर्ने गरी ठेक्का सम्झौता भएको कर्णले बताए । ‘अबको २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण काम भइरहेको छ,’ उनले भने ।

जिल्लाको सडक विकास तथा विस्तारमा काम गरिरहेको अर्को कार्यालय हो, पूर्वाधार विकास कार्यालय चौरजहारी । यस कार्यालयअन्तर्गत सल्यानको देवस्थलबाट रुकुम पश्चिमको चौरजहारी सडक खण्डअन्तर्गत हाल देवस्थलबाट कैनकाँडासम्म कुल १३ किलोमिटरमा ३३ करोडको बजेटमा काम भइरहेको कार्यालयका प्रमुख रूपक रावलले जानकारी दिए । रावलका अनुसार आठबिसकोटको चिसापानीदेखि राडीबाट नदुवा हुँदै बाँफिकोटबाट मुसीकोट सडक आयोजनाअन्तर्गत अहिले चिसापानीदेखि राडी ७ किलोमिटर र बाँफिकोटको छिनखेत देखी बाँफिकोटको गाउँपालिका केन्द्र रहेको स्थालसम्म १३ किलोमिटर ३० करोड रुपैयाँमा स्तरोन्नतिको ठेक्का लागेको छ ।

कार्यालयले त्रिवेणी गाउँपालिकाको झुल्नेटाबाट सानीभेरीको अर्मा, पेदी, गरायला हुँदै घापागाढ सडक आयोजनाअन्तर्गत हाल ४.५ किलोमिटरमा काम भइरहेको छ । यस खण्डमा यो वर्ष कुल १२ करोड रुपैयाँमा लागतमा २.४ किलोमिटर सडक ग्राभेल र बाँकी सडक चौडा गर्ने काम भइरहेको प्रमुख रावलको भनाइ छ । कार्यालयले आठबिसकोटको राडीबाट नदुवा हुँदै मुसीकोट सडकअन्तर्गत १८ किलोमिटर कालोपत्र गरिरहेको छ । ‘यस खण्डमा कुल ६६ करोड लागतमा ठेक्का लागेको छ । तीन वर्षमा सम्पन्न गरिसक्ने लक्ष्यका साथ काम भइरहेको छ,’ उनले भने ।

पहिले धमाधम खनिएका कच्ची सडकलाई अब स्तरोन्नति गरेर सकेसम्म कालोपत्र नभए ग्राभेलसम्म भए पनि गर्ने सरकारी योजना रहेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख कर्णले बताए । ‘जिल्लाको आठबिसकोटको गोतामकोट र स्यालाखदीलाई राष्ट्रिय सडकको सञ्जालमा जोड्ने गरी राप्ती लोकमार्ग विस्तार भइरहेको छ,’ उनले भने, ‘यसपछि आधारभूत सडक निर्माणको काम सकिन्छ । सँगसँगै विस्तार तथा सुधारमा लाग्छौं ।’ जिल्लाका ६ वटा पालिकामध्ये आठबिसकोटको स्यालाखदीमा मात्रै सडक पुग्न बाँकी छ । अहिले भइरहेका सडकहरूलाई विकास तथा विस्तार गरेर गुणस्तर कायम गर्न प्रदेश र संघ सरकार लागेको पूर्वाधार विकास कार्यालयका प्रमुख रावलले बताए ।

प्रकाशित : वैशाख ११, २०८० ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?