२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

आठबीसकोटले विद्यालय समायोजन गर्दै

महेश केसी

रुकुम पश्चिम — रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले विद्यालय समायोजनको काम अघि बढाएको छ । विद्यालय समायोजन कार्यविधि बनाएर यसका आधारमा प्रतिवेदन तयार गरी कार्यपालिकामा पेस गरिएको र उक्त प्रतिवेदनका सझावहरु छलफलमा लगेर कार्यन्वयनमा लैजाने तयारी भैरहेको नगरपालिकाले बताएको छ । 

आठबीसकोटले विद्यालय समायोजन गर्दै

गत वैशाख २ गतेको नगरकार्यपालिकाको बैठकले यसअघि विभिन्न बेलामा करारमा नियुक्त गरिएका जम्मा १ सय ८५ जना स्वयंसेवक शिक्षक तथा कर्मचारीको करार सम्झौता समेत रद्द गरेको नगरपालिकाका शिक्षा अधिकृत इन्द्रबहादुर विष्टले बताए । उनका अनुसार बालविकास केन्द्रका ३३, आधारभूत तहका १ सय ६, माध्यमिक तहकमा ३०, अन्य कर्मचारी ५ र कार्यालय सहयोगी ३ जनाको करार सम्झौता रद्द गरिएको छ ।

संघीय सरकारबाट आउनुपर्ने अनुदान सहयोगमा कमी भएको र नगरपालिकाको आम्दानी पनि कम भएका कारण खर्च धान्न नसकिने निक्र्यौल गरेर शिक्षक तथा कर्मचारीको सम्झौता रद्द गरेको नगर प्रमुख रवि केसीले बताए । ‘पछिल्लो शैक्षिक उपलब्धि अपेक्षित नभएका कारण यसो गरिएको हो,’ उनले भने, ‘अब हामी विद्यालय समायोजन तर्फ जान्छाँै र यसपछि मात्रै शिक्षक कर्मचारी के कति आवश्यक हो भन्ने कुराको निक्यौल गरेर अघि बढ्छौँ ।’

आठबीसकोटमा हाल बालविकास केन्द्र ७, आधारभूत तह ३९, र माध्यमिक तह १८ गरी जम्मा ६४ वटा सरकारी विद्यालय रहेको नगरपालिकाले बताएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत मणि शाहले कमजोर भौतिक पूर्वाधार र न्यून शैक्षिक उपलब्धिका बीचबाट सेवा दिइरहेका विद्यालयलाई गाभेर सुविधासम्पन्न र गुणस्तरीय शैक्षिक संस्था निर्माण गर्नतर्फ नगरपालिकाको ध्यान गएको बताए । ‘यही वैशाख ११ देखि १७ सम्म विद्यालय सुधार प्रतिवेदनले तय गरेका सुझाव लिएर तल–तलसम्म पुग्ने र त्यसका आधारमा कार्ययोजना बनाएर अघि बढ्ने तय गरिएको छ,’ उनले भने ।

विद्यालय समायोजनको काम सकिएपछि विद्यार्थी संख्याका आधारमा के, कति र कस्ता शिक्षक कर्मचारी आवश्यक परेका हो भन्ने थाहा हुने शिक्षा अधिकृत विष्टले बताए । उनले भने, ‘समेसम्म संघिय सरकारले तय गरेकै दरबन्दीअनुसारका शिक्षक भर्नाका लागी प्रयास र पहल गर्छौ । यो तत्काल सम्भव भएन भने मात्रै हामी फेरी करार शिक्षक नियुक्ति गर्ने प्रक्रियामा अगाडि बढ्छौँ,’ उनले भने ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आठबीसकोट नगरपालिकाका विद्यार्थी संख्याका आधारमा आधारभूत र माध्यमिक तहका लागि जम्मा ४ सय ६ जना शिक्षकको आवश्यतका निर्धारण गरेको अधिकृत विष्टको भनाइ छ ।

प्रकाशित : वैशाख ९, २०८० १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?