वीरेन्द्रनगरमा जहिल्यै खानेपानीको अभाव

कान्तिपुर संवाददाता

वीरेन्द्रनगर — कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा खानेपानीको अभाव सुरु भएको छ । प्रायः बाह्रै महिना खानेपानीको अभाव हुने वीरेन्द्रनगरमा गर्मीयाम सुरुभएपछि हाहाकार हुने गरेको छ । चैत सुरु भएबाट फेरि पनि वीरेन्द्रनगरबासी खानेपानीको अभाव झेल्न बाध्य छन् ।

दिन बिराएर आउने पानीले अभाव झेल्नुपरिरहेको वीरेन्द्रनगर नगरपालिका —५ की निर्मला खड्काले बताइन् । ‘कहिँलेकाहीँ त २/३ दिनको एक दिन मात्र पानी दिन्छन्,’ उनले भनिन्, ‘दिन बिराएर आउँने पानीले पुग्दैन । साह्रै समस्या झेल्नुपरेको छ । भरेर राखेको पानी कसरी पुगाउने भन्ने चिन्ताले पिरोल्छ ।’

धारामा दुई दिनको एक पटक मात्र एक घण्टा पानी आउने गरेको वीरेन्द्रनगर नगरपालिका—७ भानुटोलकी नर्मदा हमालले बताइन् । नियमित पानीमा नआउँदा समस्या झेलिरहेको उनले बताइन् । ‘एकघण्टा आउने पानी पनि सानो भएकाले ५ सय लिटर पनि भरिँदैन,’ उनले भनिन् , ‘पानीको साह्रै अभाव भएपछि अहिले स्थानीय मिलेर बोरिङ खन्न सुरु गरेका छौं ।’

धारामा पानी नआउँदा छिमेकी कहाँ कुवाको पानी माग्न जानुपर्ने बाध्यता भएको वीरेन्द्रनगर नगरपालिका–१ की पविसरा कामीले दुःखेसो पोखिन् । ‘अरुले कुवा खनेका छन्, मैले छैन,’ उनले भनिन् , ‘धारामा पानी आउँदैन, छिमेकीको भरपर्नुपर्ने बाध्यता छ ।’

हप्तामा एक दिन १ घण्टा आउने पानीले खान, खाना पकाउन, सरसफाइलगायतका काम गर्न समस्या भएको उनले बताइन् । वीरेन्द्रनगरमा पानीको आपूर्ति कम र पानी उपभोग गर्नेहरूको संख्या बढी छ । पानीको स्रोतको कमी हुदाँ स्थानीयले पानीको अभाव भोग्नुपरिरहेको वीरेन्द्रनगरमा पानी उपलब्ध गराइरहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।

खानेपानी उपभोक्ता संस्थाका कार्यालय प्रमुख डम्बरबहादुर गौतमले पानीको उत्पादन कम हुँदा समस्या भएको बताए । उनका अनुसार वर्षायामभन्दा अहिले खडेरीले झण्डै ५० प्रतिशत पानीको उत्पादन घटेको छ ।

अहिले वीरेन्द्रनगरमा झुप्राखोला , खरीबोरीखोला , इत्रामखोला, खोर्केखोला र बुलबुलेको पानी प्रयोग भइरहेको छ । यी खोलाबाट प्रतिसेकेन्ड १ सय ३६ लिटर मात्र पानी उत्पान भइरहेको छ । माग भने प्रतिसेकेन्ड २ सय ७५ लिटर भएको उनको भनाई छ । उनका अनुसार सस्थाले वीरेन्द्रनगरमा करिब २० हजार धारा वितरण गरेको छ । वीरेन्द्रनगर बजारभित्र झण्डै ३७ हजार घरधुरी रहेको राष्ट्रिय जनगणना–२०६८ को तथ्यांक छ ।

प्रकाशित : चैत्र १८, २०७९ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्

क्षयरोगको पहिचानमा समस्या

काशीराम डाँगी

रोल्पा — पछिल्लो समय क्षयरोग फैलिने क्रम बढेपछि चिन्ता बढेको छ । रोगको पहिचान गर्नमा समस्या भएकाले संक्रमित हुनेको संख्या बढ्न थालेको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । 

क्षयरोगको अन्त्यका लागि राजनीतिक प्रतिबद्धता, दिगो योजनाको अभाव र बिरामीमैत्री स्वास्थ्य प्रणाली नभएकाले रोगको प्रकोप वृद्धि हुने क्रम बढेको हो । रोगको पहिचान, निदान, गुणस्तरीय उपचार र रोकथामको सुनिश्चितता अभावले बर्सेनि रोग बढ्दै गएको छ । हालसम्म ५ सय २५ जनामा क्षय रोगको संक्रमण भएको पाइएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा ३ सय ४ जनामा संक्रमण देखिएको थियो भने २०७८/७९ मा ३ सय ३३ जनामा र चालू आर्थिक वर्षको सात महिनामा १ सय ९२ जनामा क्षयरोग पत्ता लागेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार रोल्पा नगरपालिकासहित सुनिलस्मृति र त्रिवेणी गाउँपालिकामा क्षयरोगीको संख्या बढी रहेको पाइएको छ । निमित्त स्वास्थ्य प्रमुख नोखराज पोखरेलले पहिचान गर्न सकेमा थप बिरामी फेला पर्ने बताए ।

हालै गरिएको पहिचान अनुसार क्षय रोगको संक्रमण भएका २ सय ९९ जना नयाँ हुन् भने पहिले नै संक्रमित ३४ जनालाई पुनः औषधि दिएर उपचार थालिएको छ ।

लुम्बिनी प्रदेशमा क्षयरोग संक्रमितको संख्या आर्थिक वर्ष २०७४/७५ मा ६ हजार ५ सय ६ थियो भने आर्थिक वर्ष २०७८/७९ मा झन्डै २ हजारले बढेर उक्त संख्या ८ हजार ८६ पुगेको थियो । प्रदेशभर बितेको ७ महिनामा ४ हजार १ सय ७ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित : चैत्र १८, २०७९ ०८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×