कर्णालीका मुख्यमन्त्री शर्माले पाए दोस्रोपटक विश्वासको मत

तृप्ति शाही

वीरेन्द्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रोपटक विश्वासको मत पाएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिएका थिए । उनलाई ३८ जना सांसदले विश्वासको मत दिएका छन् । उनको विपक्षमा राप्रपाको १ मतमात्र खस्यो । यसअघि विश्वासको मत नदिएको कांग्रेसले यो पटक भने विश्वासको मत दियो ।

पुस १० गते एमालेसहितको गठबन्धन बन्दा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्र, एकीकृत समाजवादी केन्द्रका २६ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा शर्मा नियुक्त भएका थिए । तर केन्द्रमा पुरानै गठबन्धन बनेपछि राप्रापले सरकारलाई दिएको समर्थन फिर्ता लिँदा मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिनु परेको हो ।

प्रकाशित : चैत्र १७, २०७९ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्

चितवन-२ मा एमालेबाट न्यौपाने उम्मेदवार सिफारिस

रमेशकुमार पौडेल

चितवन — वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन-२ मा नेकपा (एमाले)ले पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउन माथिल्लो कमिटीलाई सिफारिस गरेको छ । क्षेत्रीय समिति र जिल्ला समितिले न्यौपानेलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टीका जिल्ला पूर्वअध्यक्ष तथा चितवन-२ का पूर्वसांसद कृष्णभक्त पोखरेलले बताए । 

पार्टीका जिल्ला उपसचिव प्रकाश ढुंगनाले न्यौपानेको नाम सर्वसम्मत रूपमा सिफारिस भएको र सो निर्णय शुक्रबार नै प्रदेश कमिटीमा गएको बताए । प्रदेश कमिटीपछि केन्द्रीय कमिटीबाट नाम अनुमोदन हुने प्रक्रिया छ । गत मंसिर ४ मा भएको निर्वाचनमा अत्यधिक मतान्तरसहित विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने नागरिकतासम्बन्धी विवादमा परेर अदालतले उनको सांसद पद खारेज गरेपछि चितवन-२ मा उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवार मनोनयन हुँदैछ । यसअघि नेपाली कांग्रेस केन्द्रीय समितिले चितवन-२ को उपनिर्वाचनमा पार्टीका जिल्ला पूर्वसभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । त्यसैगरी रास्वपाले जारी गरेको प्रारम्भिक सूचीअनुसार चितवन-२ मा रवि लामिछानेको नाम छ ।

गत मंसिरमा भएको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रबाट रास्वपा सभापति लामिछाने ४९ हजार २६१ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठको १४ हजार ९८३ मत आएको थियो भने एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६४७ मत पाएका थिए ।

७४ सालको संसदीय निर्वाचनमा सो क्षेत्रमा एमालेका कृष्णभक्त पोखरेल विजयी भएका थिए । दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पनि पोखरेल नै विजयी भएका थिए ।

प्रकाशित : चैत्र १७, २०७९ १७:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×