कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कर्णाली नदीमा भेटिएको शवको सनाखतपछि पोष्टमार्टम

जनकबहादुर शाही

हुम्ला — हुम्ला जिल्ला चंखेली गाउँपालिका–४ स्थित सल्लिसल्लाको कर्णाली नदीमा भेटिएको पुरूषको बेवारिसे लासको सनाखतपछि पोष्टमार्टम भएको छ ।

आइतबार साँझ साढे ९ बजे चंखेली गाउँपालिका–४ को देशीखोला र कर्णाली नदीको बीच (दोभान) गाराडिली भन्ने ठाउँमा फेला परेको शव आशंका गरिएका परिवारका सदस्यहरू घटनास्थलमा पुगेर आफ्नै मान्छे भएको बताएपछि सो लासको पहिचान खुलेको हो ।

पिप्लाङको गाराडिली भन्ने स्थानमा कर्णाली नदीमा भेटिएको लास मङ्सिर ८ गते चंखेली गाउँपालिका वडा नं. ४ को पिप्लाङबाट बेपत्ता भएका पुर्बिरुकुम जिल्लाको पृथ उत्तरगङ्गा गाउँपालिका –६ को मनहाङ गाउँका संसार घर्तीमगर भएको आफन्तले स्वीकार गरेपछि लासको पहिचान भएको हुम्ला प्रहरी प्रमुख डिएसपी भिमलाल भट्टराईले बताए ।

शव गलिसकेको अवस्थामा फेला परेको थियो । चार महिनासम्म कर्णालीको पानी त अझ चिसो भएर यतिको रहेको हो, तातो हुन्थ्यो भने अहिलेसम्म कंकाल मात्र हुन्थ्यो होला, हामीसँग पनि यस्तो मान्छे हराएको भन्ने हुलिया थियो र मृतकका आफन्तहरू मंगलबार राति घटनास्थल पुगेपछि शरीरमा भएका माला, घडीलगायतका चिजवस्तुका आधारमा स्पष्ट रूपमा शवको पहिचान गरेको हुम्ला प्रहरी प्रमुख डिएसपी भट्टराईले बताए ।

गत आइतबार बेलुका चंखेली गाउँपालिका –४ को पिप्लाङ गाउँको तल पर्ने गाराडिली भन्ने स्थानमा कर्णाली नदीमा माछाका लागि जाल हाल्न जाने क्रममा नदीमा अड्किएको लासदेखेपछि पिप्लाङ गाउँका हर्के कुलाल र सुरज विकले प्रहरीलाई खबर गरेका थिए । लास भेटिएपछि गत मंसिरमा बेपत्ता भएका घर्तीमगरकी आमा घुमिमाया घर्तिमगरसिहत परिवारका चार जना सदस्य घटनास्थलमा पुगेर लासको पहिचान गरेको प्रहरीले जनाएको छ ।

नदीमा लास भएको जानकारी पाएपछि गएको सोमबार नै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक गिता प्रसाद चौधरी नेतृत्वको प्रहरी टोली घटनास्थल गएको थियो । शवको पहिचान भएपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमकोट ल्याइ पोष्टमार्टमपछि आफन्तको जिम्मा लगेको प्रहरीले जनाएको छ ।

लामो समयदेखि प्रेम गरेकी प्रेमिका जागिरको सिलसिलामा गत कात्तिकमा हुम्लाको चंखेली गाउँपालिकामा आएपछि उनलाई भेट्न भनेर मंसिर ६ गते सुर्खेत हुँदै ८ गते चंखेली पुगेका संसार चंखेली पुगेपछि मंसिर ८ गते बेलुका साढे ४ बजेतिर आफ्ना साथी महेश खड्कालाई आत्तिएर फोनमा 'दाइ मलाई केटाहरूले लखेटिरहेका छन्, मलाई रोडबाट तल फालेका छन्, म भाग्न खोजिरहेको छु, मलाई मार्न लागिसके प्रहरीलाई खबर गरिदिनु पर्‍यो' भनेर फोन गरेको उनका साथी खड्काले बताए । 'तत्कालै त्यहाँको प्रहरीलाई खबर गर्ने मलाई उपाय पनि आएन, त्यसपछि उनको फोन अफ भयो र मान्छे पनि बेपत्ता भयो,' उनले भने ।

मान्छे बेपत्ता पारेको भनेर पहिले आएको उजुरीका आधारमा उनकी प्रेमीकासहित चार जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको थियो । शव भेटिएपछि अनुसन्धानमा थप सहयोग पुग्ने छ । पक्राउ पर्नेमध्ये एक जना संसार घर्तीकी प्रेमिका भनिएकी दाङकी २० वर्षीया राधा थापा र तीन जना पिप्लाङगाउँका स्थानीय युवा रहेको प्रहरीले जनाएको छ ।

आर्थिक नभएर हुम्लाको सदरमुकाम सिमकोटदेखि पोष्टमार्टम गरिएको शव दाहसंस्कार गर्न समस्या भएपछि जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी भट्टराईको पहलमा दाउराको व्यवस्था र गाटसम्म संसार घर्तिमगरको शव लिने गाडी भाडा नेपाल पत्रकार महासंघ हुम्ला शाखाले सहयोग गरेको मृतक घर्तिमगरकी आमा घुमिमाया घर्तिमगरले बताइन् ।

प्रकाशित : चैत्र १७, २०७९ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?