वैशाख ११ गते जुम्ला रारा अल्ट्रा म्याराथन हुने

डीबी बुढा

जुम्ला — कर्णालीको पर्यटन प्रवर्द्धनका लागि आगामी वैशाख ११ गते जुम्ला रारा अल्ट्रा म्याराथन आयोजना गरिने भएको छ । जुम्ला सदरमुकाम खलंगाको शून्य प्वाइन्ट चन्दननाथ मन्दिरदेखि रारातालको छेउ हुटुसम्मको ४९ किलोमिटर दूरीमा अल्ट्रा म्याराथन हुन लागेको हो ।

कर्णाली स्पोर्ट्स क्लब जुम्लाले पत्रकार सम्मेलनको आयोजना गरेर लोकतन्त्र दिवसको अवसरमा जुम्ला रारा अल्ट्रा म्याराथन आयोजना हुने जानकारी दिएको हो ।

क्लबका अध्यक्ष सरोज शाहीले म्याराथनले कर्णालीको पर्यटन प्रवर्द्धनका साथै पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारमा टेवा पुग्ने बताए । उनका अनुुसार शून्य प्वाइन्ट खलंगादेखि सुरु भएर डाँफे लेक, न्यौरीघाट, चौथा, डाब, चुचेमारा, मिलीचौर हुँदै रारातालको छेउ हुटुमा पुगेर अन्तिम बिन्दु तोकिएको छ ।

म्याराथनमा विभिन्न विधामा गरेर २८ जना खेलाडीलाई पुरस्कृत गरिने समेत आयोजकले जनाएको छ । खेलाडीले अनलाइनबाटै नाम दर्ता गराउन सक्ने र क्युआर कोडबाटै शूल्क भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ । विदेशी खेलाडीका लागि ७ हजार, नेपाली धावकका लागि ३ हजार शूल्क तोकिएको छ ।

म्याराथनमा प्रथम हुनेलाई एक लाख रुपैयाँ, प्रमाणपत्र र मेडल, द्धितीय हुनेलाई ७५ हजार नगद, प्रमाणपत्र र मेडल, तृतीय हुनेलाई ५० हजार नगद, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । यसैगरी चौथो र पाँचौं हुनेलाई २०/२० हजार, नगद प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजक कर्णाली स्पोर्ट्सका अध्यक्ष शाहीले जानकारी दिए ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डर एभरेष्ट म्यारथन ह्याट्रिकर हरिबहादुर रोकायको संरक्षणमा म्याराथन हुन लागेको हो । जुम्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा विकास गर्ने र खेलकुदको महत्त्वबारे जनचेतना अभिवृद्धि गराई खेल संस्कृतिको विकासका लागि म्याराथन आयोजना गर्न लागिएको धावक हरिबहादुर रोकायाले बताए ।

‘विश्वमा हिमाली तथा पहाडी क्षेत्रमा आयोजना हुँदै आएका यस्ता साहसिक खेलकुद प्रतियागिता गर्नेमध्ये जुम्ला पनि उच्च सम्भावना भएको जिल्लाको रुपमा चिचिनसक्छ,' धावक रोकायाले भने ।

जुम्लामा यसअघि तीनवटा म्याराथनका इभेन्ट भइसकेका छन् । हरेक प्रतियोगितामा तीन सयदेखि चार सयको हाराहारीमा देशभरका १८ जिल्लाका साथै बेलायत, नेदरल्याण्ड, भारत, इटाली, अमेरिका लगायत देशका खेलाडीहरु सहभागी भएका थिए । यस वर्ष चौथो जुम्ला रारा अल्ट्रा म्याराथनमा झण्डै २ हजार खेलाडी सहभागी गराउने लक्ष्य राखिएको छ ।

प्रकाशित : चैत्र १४, २०७९ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्

किसान महासंघमा १७ सदस्य मनोनीत

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भ्रातृ संस्था नेपाल किसान महासंघको तदर्थ कार्यसमिति विस्तार गरेका छन् । देउवाले गत असारमा १० वर्षदेखि महाधिवेशन नभएको किसान महासंघको अध्यक्षमा गणेशचन्द्र तिमिल्सिनालाई मनोनीत गरेका थिए ।

अध्यक्ष मनोनीत भएको नौ महिनापछि महासंघको कार्यसमिति सदस्यमा १७ जना नेताहरू मनोनीत भएका छन् । सभापति देउवाले मंगलबार महासंघको केन्द्रीय कार्यसमितिमा १७ जना सदस्य मनोनयन गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार काठमाडौंका आदर्शविक्रम कार्की, ईश्वर गिरी, मनोज थापा र विश्वनाथ दाहाल, नवलपुरका महेन्द्रभक्त अधिकारी, तनहुँका प्रभात आले, कास्कीका नम्रता बराल, सुर्खेतका प्रेमबहादुर घले, कैलालीका जितु उपाध्याय, सर्लाहीका भवानी कोइराला, पर्साका विश्वराज घिमिरे, महोत्तरीका धिरेन्द्र साह, झापाका कालु मेचे, गोरखाका जनार्दन अर्याल, सप्तरीका विवेकानन्द झा, बाँकेकी ऋचा लुइँटेल र डडेलधुराका रमेश रावल केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत भएका छन् ।

कांग्रेसका दर्जनौँ भ्रातृ तथा शुभेच्छुक संस्थाहरुले नियमित महाधिवेशन गर्न सकेका छैनन् । तदर्थ समिति गठन भए पनि तिनले पूर्णता नपाउँदा कामविहीन बनेका छन् ।

प्रकाशित : चैत्र १४, २०७९ १७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×