सल्यानको कुमाखमा चैते धान परीक्षण

सल्यान — सल्यानको कुमाख गाउँपालिकाको मर्मखोलामा रहेको खेतमा चैते धानको परीक्षण गरिएको छ । जिल्लालाई धान उत्पादनमा आत्मनिर्भर बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना शाखा कार्यालय सल्यानको आर्थिक सहयोगमा चैते धानको परीक्षण गरेको हो ।

परीक्षणअनुसार यस वर्ष जनमैत्री कृषक समूहका अध्यक्ष कुमारी बुढाथोकीको तीन रोपनी जग्गामा चैते धान लगाइएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका निमित्त हेमन्त ओलीले बताए । कुमाख गाउँपालिकालाई २०७६ मा ‘धान जोन’का रूपमा घोषणा गरे पनि कारोनाका कारण यसलाई विस्तार गर्न नसकिएको र अहिले पुनः परीक्षण गरिएको उनले जानकारी गराए ।
चैते धान लगाउन कुमाख गाउँपालिकामा मात्र ६० किसान समूह गठन गरिएको छ । यो वर्ष १५ रोपनी जग्गामा धान लगाउने योजना रहेको ओलीको भनाइ छ । परीक्षण सफल भएमा कुमाख गाउँपालिकाको मर्मखोलाको आसपासमा भएका खेतीयोग्य जग्गामा दुई बाली धान लगाउन सकिने छ ।
चैते धान परीक्षणका लागि जिल्लाको शारदा नगरपालिका–१ को शारदा नदीको आसपासको जग्गा पनि छनौट गरिएको र केही दिनभित्र धान रोपिने परियोजनाले जनाएको छ । धान उत्पादनबाटै जिल्लाबासी आत्मनिर्भर हुन सक्ने र दुई बाली धान लगाउँदा बढी भएको खाद्यान्न बाहिर बिक्री गर्न सक्ने भएकाले चैते धान परीक्षण चलिरहेको परियोजनाले जनाएको छ ।
कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमबहादुर बस्नेतले यसभन्दा पहिला कालिमाटी गाउँपालिका–६ छरछरे आसपासमा परीक्षण गरेको र अहिले पनि त्यहाँका किसानले करिब ५ हेक्टर जग्गामा चैते धान लगाउँदै आएको बताए । सल्यानमा करिब ७ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धान खेती हुँदै आएको छ । त्यसमध्ये करिब २ हजार हेक्टर क्षेत्रमा चैते धान लगाउन सकिने कार्यालयको भनाइ छ ।
प्रकाशित : चैत्र १४, २०७९ १२:२२