कर्णाली नदीमा बेवारिसे शव भेटियो

हुम्ला — हुम्लाको चंखेली गाउँपालिका–४ स्थित सल्लीसल्लामा रहेको कर्णाली नदीमा एक जना पुरूषको बेवारिसे शव फेला परेको छ ।
आइतबार साँझ साढे ९ बजे चंखेली गाउँपालिका–४ को देशीखोला र कर्णाली नदीको बीच (दोभान) मा बेवारिसे शव फेला परेको प्रहरी चौकी मेल्छामले जनाएको हुम्ला प्रहरी प्रमुख डीएसपी भीमलाल भट्टराईले बताए ।
आइतबार साँझ चंखेली–४ का हर्के कुलाल र सुरज बिक माछा मार्न गएका बेला नदीको बीचमा शव देखेपछि उनीहरूले प्रहरीलाई जानकारी दिएका थिए । प्रहरी चौकी मेल्छामको टोली राति नै घटनास्थलमा पुगेको थियो । साथै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक गीता प्रसाद चौधरी लगायतको टोली सोमबार बिहानै घटनास्थलमा पुगिसकेको प्रहरी प्रमुख भट्टराईले जानकारी दिए ।
घटनास्थलमा पुगेर चंखेली गाउँपालिका–४ का वडाध्यक्ष पदम बहादुर शाहीको रोहबरमा प्रहरी र स्थानीयवासीले शव नदीबाट निकालेर छेउमा राखेका छन् । शव सडिसकेकाले कसको शव हो भनी पहिचान भएको छैन । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित : चैत्र १३, २०७९ १८:०४