कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

२ महिनापछि प्रदेशसभा बैठक

वीरेन्द्रनगर — दुई महिनापछि कर्णाली प्रदेशसभा बैठक बसेको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको ७ औं बैठकमा सभामुख नन्दा गुरुङले प्रदेश प्रमुखको कार्यालयबाट प्रदेश सरकारको मन्त्री परिषद गठन गरेको पत्र पढेर सुरु गरिन् । लामो समयपछि बसेको बैठकले कुनै महत्त्वपूर्ण विधेयक भने ल्याउन सकेन ।

२ महिनापछि प्रदेशसभा बैठक

संसद्मा प्रदेशसभा सदस्य धनश्याम भण्डारीले प्रदेश निजामती ऐनदेखि प्रदेश प्रहरी ऐनलगायत कानुनहरू निर्माण गर्नुपर्ने बताए । उनले कर्णालीमा भइरहेको बढ्दो दुर्घटना न्यूनीकरणका लागि सरकारले ध्यान दिनुपर्ने बताए । यस्तै खान र पढ्न नपाएका भनेर बादी समुदायका बालबालिकाको बारेमा विभिन्न सञ्चारमाध्यमका खबरहरू आइरहेकाले उनीहरूको विषयमा आवश्यक कार्ययोजना निर्माणका लागि आग्रह गरे ।

अर्का प्रदेशसभा सदस्य कलबहादुर हमालले पछाडि परेको हुम्लामा बाटोका लागि प्रदेश सरकारबाट काम अगाडि बढाउनुपर्नेमा जोड दिए । सांसद कल्याणी खड्काले अबको प्रदेश सरकारको बजेट आम नागरिकका लागि प्रयोगमा आउनुपर्ने खालको हुनुपर्ने बताइन् । सबैका लागि चाहिने कार्यक्रमहरू बजेटमा राख्नुपर्नेमा उनको जोड थियो । रुकुमको चौरजहारी विमानस्थल अझै सञ्चालनमा नआएकाले नागरिकहरू सेवाबाट वञ्चित हुनुपरेको उनले बताइन् । ‘चौरजहारी र कालिकोटको विमानस्थल छिटो सञ्चालनमा आउनुपर्छ । साथै एक घर एक सीप, एक रोजगार कार्यक्रम अनिवार्य ल्याउनुपर्नेछ,’ उनले भनिन् । शोक, रोग र भोकबाट कर्णालीलाई पार लगाउने कार्यक्रम कर्णाली प्रदेश सरकारले ल्याउनुपर्ने उनको भनाइ थियो ।

यस्तै सांसद सुरेश अधिकारीले हालैको वर्षाले कर्णालीका विभिन्न जिल्लामा बालीमा क्षति पुगेको र सडकहरू भत्किएको जानकारी गराए । भत्किएका सडकहरू अझै नबनेको र सल्यानका किसानले राहत नपाएको गुनासो उनले गरे । ‘सल्यान जिल्ला कर्णाली प्रदेशमा पर्छ कि पर्दैन सभामुख महोदय ? कर्णाली प्रदेशले राहत वितरण गरेको भन्ने सुनेको छु । तर सल्यानमा एक रुपैयाँ पनि गएको छैन,’ उनले भने । सल्यानबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने मोटरबाटो ठेक्का लागेको ३ वर्ष भइसक्दा पनि काम सुरु नभएकोले सम्बन्धित मन्त्रालयले निर्माण व्यवसायीलाई तत्काल काम सुरु गर्नका लागि आग्रह गरे ।

प्रकाशित : चैत्र १३, २०७९ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?