टिपर दुर्घटनामा चालकको मृत्यु

तृप्ति शाही

वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका - १ को तारेभीर नजिकै टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।ल्याण्डफिल साइट जाने सडक निर्माणको क्रममा ढुंगा बोकेर जाँदै गरेको टिपर पल्टिँदा वीरेन्द्रनगर नगरपालिका -२ निवासी चालक ३२ वर्षीय उमेश विकको मृत्यु भएको हो ।


भे १ ख २२०५ नम्बरको टिपर आइतबार दिउँसो सडक किनारामै पल्टिएको हो । ढुंगा झार्ने क्रममा टिपर अनियन्त्रित भइ पल्टिँदा चालक च्पापिएको प्रहरीको भनाइ छ ।

उनको शव निकाल्न क्रेन घटनास्थलमा लगिए पनि टिपर उठाउन नसकिएको प्रहरीले जनाएको छ । घटनास्थलमा थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले बताए ।

प्रकाशित : चैत्र १२, २०७९ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्

उपराष्ट्रपति यादव गृहजिल्ला बारामा

लक्ष्मी साह

बारा — उपराष्ट्रपति रामसहाय यादव आइतबार गृहजिल्ला बारा आइपुगेका छन् । उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादव पहिलोपटक गृहजिल्ला पुगेका हुन् ।

आइतबार यादवलाई मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहित बारा र पर्साका सांसद, सुरक्षा अधिकारीहरुले स्वागत गरेका थिए ।

उपराष्ट्रपति यादव विमानस्थलबाट बाराको बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई दर्शन गर्न पुगेका छन् । गढीमाईस्थित सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले आफूले जिल्ला र क्षेत्रलाई चिनाउने बताएका थिए ।

‘सबैप्रति म अभारी छु । सरकारले देश र जिल्लाको विकास निर्माणसँगै बारा जिल्लाका ऐतिहासिक सिम्रौनगढ र गढीमाईलगायतको विकास गरोस्,’ उनले भनेका छन् ।

यस क्रममा उनले आफू साधारण परिवारको भए पनि क्षेत्र र जिल्लावासीले चिनाएपछि देशको उपराष्ट्रपति पदमा पुगेको बताए ।

गढीमाई शक्तिपीठ बारा निर्वाचन क्षेत्र नं २ को केन्द्र महागढीमाई नगरपालिकाको बरियारमा पर्छ, जहाँबाट यादव गत मंसिरको प्रतिनिधिसभामा निर्वाचित भएका थिए । साथै चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । ग्रामीण क्षेत्र भ्रमणको क्रममा यादवले ऐतिहासिक अन्य शक्तिपीठको दर्शन गर्ने कार्यक्रम रहेको छ । उनको भ्रमणका लागि तामझामबिना नै पैदलयात्रुहरूलाई आउजाउमा राकिएको छैन । समान्य सुरक्षा बन्दोवस्तमा उनको दुईदिने भ्रमणको तयारी गरिएको छ ।

प्रकाशित : चैत्र १२, २०७९ १४:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×