दुर्गममा पहिलो पटक विशेषज्ञ डाक्टर

डीबी बुढा

जुम्ला — भौगोलिक रूपमा निकै विकट मानिएको जुम्लाको भेरीखोला अर्थात् तातोपानी ७ र ८ ताम्तीमा पहिलो पटक विशेषज्ञ डाक्टरहरु पुगेका छन् । उनीहरुले एप्रोनसहित आँगनमै पुगेर उपचार सेवा दिएका हुन् । अहेब र एचएबाट स्वास्थ्य सेवा लिएका स्थानीयहरू एकैपटक धेरै डाक्टरहरु पुग्दा खुलेरै आफ्ना स्वास्थ्य समस्या बताएका छन् ।

दुर्गममा पहिलो पटक विशेषज्ञ डाक्टर

आर्थिक अवस्था कमजोर र स्वास्थ्य सेवाको बारेमा पर्याप्त जानकारी नहुँदा अधिकांशले दुर्गम क्षेत्रमा अझै पनि रोग पालेर बस्न बाध्य छन् । तातोपानी–७ की ८० वर्षीया रामकली रावत शरीर दुख्ने, ओठमुख सुक्ने, ज्वरो आउने र पेट दुख्ने समस्याले पीडित थिइन् । अस्पतालसम्म पुग्न आर्थिक अवस्था बलियो नहुँदा लामो समयदेखि रोगी भएर बसेको उनले बताइन् । गाउँमै डाक्टरहरु पुगेपछि मन खोलेर समस्या सुनाइन् । उनीहरुबाट उपचार सेवा पाइन् । ‘अब त डाक्टरले दिएको औषधि र उपचारले निको भइजाला,’ उनले भनिन् ।

गाउँका डाक्टर भन्नु महिला स्वास्थ्य स्वयंसेविका मात्रै छन् । सामान्य रोगको उपचार र औषधि उनीहरुले नै दिँदै आइरहेका हुन्छन् । स्वास्थ्यकर्मीहरुबाट उपचार सेवा पाउन त स्वास्थ्य संस्थामै पुग्नु पर्ने बाध्यता छ । पहिलो पटक डाक्टरहरु आँगनमा उपचार सेवा लिनुको साथै आफ्नो स्वास्थ्य समस्या निर्धक्क राख्न पाउँदा निकै खुसी भएको रामकलीले बताइन् ।’ डाक्टरहरुले लामो समयदेखि हड्डीको समस्या झेलिरहेका, खुट्टामा काँडा र काठ बिझेर संक्रमण भएर जटिल बनेका ३ जना बिरामीको सामान्य शल्याक्रिया समेत गरेका थिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डा. पूजन रोकायाले यति धेरै डाक्टरहरु दुर्गममा पुगेको पहिलो पटक भएको बताए । उनले भने, ‘सामान्य स्वास्थ्य समस्याको उपचार पाउन नसकेका उनीहरुका लागि डाक्टरहरु पुगेर घरदैलोमै विशेषज्ञ सेवा दिँदा खुसीको सीमा नै नरहेको देखियो ।’ हाडजोर्नी विशेषज्ञ डा. पूजन रोकाया, डा. तुफानसिंह कठायत, बालरोग विशेषज्ञ डा. कमल थानी, जनरल सर्जरी विशेषज्ञ डा. सूर्यमान लिम्बू, जीपीको विशेषज्ञ डा. प्रशंसा ताम्राकार र डा. बेद चौधरी पुगेका थिए । उनीहरुसँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली गाउँमा पुगेको थियो ।

कर्णाली राजमार्गदेखि झन्डै १० किलोमिटर दुरी रहेको त्यो क्षेत्रमा रोग थन्काएर बसेकाहरुले विशेषज्ञ सेवा पाएका हुन् । ‘केही माइनर अप्रेसनहरु भए । ठूलो उपचार गर्न सकिने अवस्था थिएन,’ डा. रोकायाले भने, ‘काँडा निकाल्न समेत नसकेको अवस्था भनेको निकै दयनीय अवस्था नै हो । डाक्टरहरुले गर्भवती महिलाहरुको भिडियो एक्सरे गरेका थिए । निमोनिया लागेका बच्चाहरु भेटिए ।’ महिलाहरुको योनीबाट फोहोर पानी बग्नेदेखि, पाठ्यघर समस्याहरु धेरै देखिएको उनले बताए । गोलीगाँठो दुख्ने र ढाड दुख्ने समस्याका बिरामीहरु धेरै भेटिएको उनले बताए । डा. रोकायाले भने, ‘सदरमुकाम खलंगाको अस्पतालसम्म आउन नसक्ने अवस्थाका बिरामीहरुलाई घरदैलोमै पुगेर स्वास्थ्य उपचार सेवा दिन पाउँदा डाक्टरहरुको टिम नै खुसी छ । बिरामीहरुको अनुहारमा खुसी देखिन्थ्यो । पटकपटक आइराख्न आग्रह गरिरहेका थिए ।’

तातोपानी गाउँपालिका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार डाक्टरहरु दुई दिन गाउँमै बसेका थिए । उनीहरुले दुई दिनमा ४ सय ५ जना बिरामीको उपचार गरे । तीन जना बिरामीको माइनर अप्रेसन गरेका थिए । २० जना गर्भवतीको भिडियो एक्सरे गरेर आवश्यक सुझाव दिएका थिए ।

२५१ जना महिला र १५४ जना पुरुषले स्वास्थ्य उपचार सेवा पाए । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले विकट क्षेत्रका नागरिकको माग र देखिएको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै डाक्टरहरु पुगेको बताए । दुर्गम भएकै कारण कुनै पनि नागरिकले स्वास्थ्य समस्या भोग्न नपरोस् भन्दै जनतासँग अध्यक्ष कार्यक्रम चलाएर विशेषज्ञ डाक्टरहरु गाउँमै लैजाने परिपाटीको विकास भएको उनले बताए । दुर्गमका नागरिकहरुलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न ५ लाख बजेट व्यवस्था गरिएको अध्यक्ष चौलागाईंको भनाइ छ ।

तातोपानीको ७ र ८ ताम्ती क्षेत्रमा आधारभूत स्वास्थ्यचौकी र एक स्वास्थ्यचौकी छन् । कहिले स्वास्थ्यचौकीमा औषधि नहुने र कहिले स्वास्थ्यकर्मीहरु नहुने गरेकोले समयमै उपचार सेवा लिन नसकेको नागरिकले गुनासो पोखेका थिए । स्वास्थ्यचौकी र आधारभूत स्वास्थ्य चौकीमा ९७ प्रकारको औषधि पाइनुपर्ने व्यवस्था छ । तर सबै औषधि एकै पटक आउन सकिरहेको छैन ।

आधारभूत स्वास्थ्यचौकीमा अहेब, अनमी र कार्यालय सहयोगी बस्छन् । स्वास्थ्यचौकीमा छैठौं अधिकृतले नेतृत्व गरिरहेका हुन्छन् । सधैं स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य सेवा पाइराखेका बिरामीहरुले पहिलो पटक विशेषज्ञ चिकित्सहरुबाट उपचार गराउन पाउँदा निकै खुसी देखिएको स्वास्थ्य संयोजक चौलागाईंले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्थानीय तहको समन्वयमा पटकपटक घरदैलोमा डाक्टरहरु पठाउने गरेको छ ।

प्रकाशित : चैत्र १२, २०७९ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?