दुई महिनापछि कर्णाली प्रदेशसभा बैठक बस्दै

तृप्ति शाही

वीरेन्द्रनगर — दुई महिनापछि कर्णाली प्रदेशसभाको बैठक बस्ने भएको छ । चैत्र १२ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए ।

सरकारले बैठक आह्वानका लागि आइतबार प्रदेशसभालाई जानकारी गराएको थियो । अहिलेलाई एजेन्डाबिना नै बैठक आह्वान गरिएको छ । कुन विषयमा छलफल गर्ने भन्ने विषय सोही दिन १ बजे बस्ने सर्वदलीय बैठकले निर्णय गर्नेछ ।

यसअघि पुस १८ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो । प्रदेशसभा बैठकले सभामुख र उपसभामुख चयन गरेको थियो । यस्तै, माघ ६ गते मुख्यमन्त्री राजकुमार शर्माले संसद्‌बाट विश्वासको मत लिएका थिए ।

प्रकाशित : चैत्र ११, २०७९ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्

एयरहोस्टेसले सुनाए विभेद र दुर्व्यवहारका कथा

नागरिक उड्डयन प्राधिकरणमा शुक्रबार जम्मा भएका नौ फरक–फरक वायुसेवाका दुई दर्जन ‘ क्याबिन क्रु’ का उस्तै–उस्तै वेदना
सुरज कुँवर

काठमाडौँ — पाइलटहरूका साथी बनेर यात्रुलाई सघाउँदै आकाशमा उडिरहने विमान परिचारिकाहरूको जीवन आकर्षक देखिन्छ । तर, सत्कारमा सदैव तत्पर उनीहरूको जीवन खासै सहज पनि छैन । अधिक काम, मानसिक थकान, सहकर्मीबाट विभेद र कतिपय अवस्थामा यौन दुर्व्यवहार भोग्नुपर्दा उनीहरू दिक्क पनि छन् । नागरिक उड्डयन प्राधिकरणमा शुक्रबार जम्मा भएका नौ फरक–फरक वायुसेवाका दुई दर्जन ‘क्याबिन क्रु’ ले उस्तै–उस्तै वेदना सुनाए । 

नेपालगन्जमा ‘नाइट स्टप’ बस्दा पाइलट सहकर्मीको दुर्व्यवहार खेपेकी नेपाल वायुसेवा निगमकी परिचारिकाले प्राधिकरणका महानिर्देशकसहित उपस्थितहरूमाझ घटना बयान गर्दा उनको आँखामा आँसु भरिएको थियो । भन्दै थिइन्, ‘नेपालगन्जमा बस्नुपर्ने भयो । एक जना पाइलट सरले घुम्न जान कर गरे । दबाब यति दिए कि कोठाबाट बाहिर निस्किन पनि डर लाग्यो । त्यो साँझ खाना पनि खाइनँ । एकैचोटि बिहान उठें ।’पछि उनलाई थाहा भयो– ती पाइलटले अरू एयरहोस्टेस साथीहरूलाई पनि म्यासेन्जर र मोबाइलमा यौनजनक सन्देश पठाउँदा रहेछन् । हैरान भएपछि धेरैले ब्लक पनि गरेका रहेछन् ।

सहकर्मीको दुर्व्यवहार गरेर सिकायत गर्न वायुसेवा कम्पनीहरूले ‘गोप्य रिपोर्टिङ’ प्रणाली राखेका छन् । तर, कम्पनी वा नियमनकारी निकायमा सिकायत गर्नै नसकिने क्याबिन क्रुको भनाइ छ । ‘गुनासो कसलाई कहाँ राख्नु ? सोधपुछ हुन थालेपछि सिकायत कसले गरेको हो भन्ने थाहा भइहाल्छ, त्यसपछि झन् पेलान हुन्छ । श्रम ऐनअनुसारको बिदा पनि पाइँदैन । उडान नभए पनि अफिसमा बोलावट हुन्छ,’ अर्की परिचारिकाले भनिन् ।

गुनासो गर्नेलाई दण्डित गर्न ‘पनिसमेन्ट फ्लाइट’ को अभ्यास रहेको पनि क्याबिन क्रुको अनुभव छ । ‘यो भनेको कम्पनी वा पाइलटलाई कुनै एयरहोस्टेस मन परेन भने लगातार उडानमा राखिदिन्छन् । थकाउने र उल्टै चेताउने उद्देश्यले यसो गरिन्छ ।’ केही पाइलटहरूले उडानका क्रममा ककपिटमा बोलाइरहने, केरकार गर्ने, दोहोर्‍याइ/तेहेर्‍याइ पानी मगाउने गरेको पनि उनीहरूको भनाइ छ ।

दुर्गम मात्रै उडान गर्ने एक वायुसेवाकी परिचारिकाको कथा सुन्दा लाग्यो, यति धेरै अत्याचार सहेर पनि उनीहरू कसरी खुसी देखिन सक्छन् होला ? ‘जब लुक्लाको सिजन सुरु हुन्छ । हामीलाई लिन बिहान साढे चार बजे गाडी आइपुग्छ । त्यसका लागि हामी कम्तीमा राति साढे तीनमा उठ्नुपर्‍यो । झिसमिसेमै विमानस्थल पुगिन्छ, ६ बजे उडान हुन्छ । दिनभर १२ वटा टेकअफ/ल्यान्डिङ गर्नुपर्छ । मौसमले उडान डिले हुन्छन् । खाना र खाजाको टुंगो हुन्न,’ यति भनेपछि उनले सोधिन्, ‘यस्तोमा हामी कति थाक्छौं होला ?’ तर उनलाई दुःख तब लाग्छ जब वरिष्ठहरूले भन्छन्, ‘तिमीहरूको के काम छ र ? बस्ने मात्रै त हो ।’

जहाजमा यात्रु राख्ने । सिट बेल्ट बाँध्न मद्दत गर्ने । सामान राख्ने । कम्पनीले व्यवस्था गरेको खानेकुरा वितरण गर्ने, बिरामी यात्रुको हेरचाह गर्ने । उडान र अवतरणको सूचना दिने । परिचारिकाहरूका मुख्य काम यिनै हुन् । जहाजमा सबै यात्रु बसिसकेपछि साना १९ सिटका जहाजमा एयरहोस्टेसले पाइलटलाई हातले संकेत दिएपछि जहाज धावनमार्गमा दगुर्छ ।

तर, कर्णालीबाट उडेर नेपालगन्ज विमानस्थलमा अवतरण भएका बेला, एयरहोस्टेस शौचालय गएका बेला ग्राउन्ड स्टाफले जहाजमा यात्रु भरिदिएछन् । ‘म फर्कंदा जहाजमा आएर यात्रु बसिसकेका थिए । आफन्तलाई बिदाइ गर्न आएका एक जना ढुक्कसँग सिटमा बसेर गफ गर्दै रहेछन्, उता जहाज उड्न लागेको थियो । बल्लतल्ल रोकेर उनलाई निकाल्नुपर्‍यो,’ भुक्तभोगी एयरहोस्टेसले भनिन्, ‘तिमीहरूबिना पनि चल्छ भन्ने देखाउन यसो गरिएको हो । खासमा हामीलाई हेपिएको हो ।’

उडानमा यात्रुलाई सिटको पेटी बाँध्न सिकाउनु, आपत्कालीन अवस्थामा के गर्ने ? अक्सिजन मास्क कसरी लगाउने भनेर सिकाउने दायित्व पनि क्याबिन क्रुको हो । हरेक उडानअघि यसको प्रदर्शन गर्नुपर्ने अन्तर्राष्ट्रिय उड्डयन संगठनको नियम हो । तर, कतिपय पाइलटले यसलाई कतिसम्म मजाक ठान्छन्, एक एयरहोस्टेसले भनिन्, ‘ल, तिमीहरू बाँदर नाच सुरु गर भनेर कमान्ड आउँछ ।’

दुर्गममा हुने कतिपय उडानमा यात्रुहरूका लागि ‘ब्रिफ’ पनि गर्न नदिई जहाज उडाइहाल्ने गरेको पनि एक एयरहोस्टेसले बताइन् । भनिन्, ‘एक जना सुत्केरीको सिट बेल्ट बाँधिदिँदै थिएँ, पाइलटले जहाज दौडाइहाले । म ट्याम्पुमा जस्तै झुन्डिनुपर्‍यो । सिटमा पुग्नै पाइनँ । यो उडान सुरक्षाका लागि खतरा हो ।’

यात्रु र एयरहोस्टेसबीच वादविवाद भएका घटना पटक–पटक सार्वजनिक हुन्छन् । अझ अहिले त केही सवालजवाफ सुरु हुनासाथ यात्रुहरूले मोबाइल झिकेर भिडियो रेकर्ड सुरु गरिहाल्छन् । उडानका कमान्डर पाइलट हुन् । तर, यात्रुहरूले झगडा गरेको विषयमा पाइलटलाई गुनासो गर्दा उल्टै हप्की खानुपर्ने गरेको एक एयरहोस्टेसले बताइन् । भनिन्, ‘तिमी राम्री भएकाले झगडा गर्‍यो होला । तिमीले मास्क खोलेर बोल्यौं होला भन्छन्, अनि त्यो मान्छे कस्तो थियो, ह्यान्डसम थियो भनेर सोधिन्छ, तिमीहरूको के आत्मसम्मान छ र भनेर यसो गरिएको हो ।’

निगमका एयरहोस्टेसहरूले अन्तर्राष्ट्रिय उडानमा केही चर्चित पाइलटहरूले आफूलाई मन पर्ने परिचारिकालाई मात्र राख्न दबाब दिने गरेको पनि सुनाए । ‘ऊबिना म उड्दै उड्दिनँ, अनि त्योसँग त म उड्दै उड्दिनँ भनेर ठाडै भन्छन्,’ उनीहरूले भने । उनीहरूका अनुसार नियमित र लामो अन्तर्राष्ट्रिय उडानमा पर्नेले मासिक २ लाख रुपैयाँसम्म आर्जन गर्छन् भने सीमित उडानमा जानेले ४०/५० हजारमै चित्त बुझाउनुपर्छ । उडानको ‘रोस्टर’ मा समानता हुनुपर्ने उनीहरूको भनाइ छ ।

यता आन्तरिक उडानका केहीले १० वर्षदेखि पारिश्रमिक वृद्धि नगरेको, उडानको रोस्टर पालना नगरेको, मन पर्ने र नपर्ने भन्ने छुट्याएर खटाउने गरेको र गुनासो गर्दा कारबाही खेप्नुपरेको बताए । उनीहरूले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई सम्बोधन गर्दै कडाइका साथ अनुगमन र नियमन गरिदिन आग्रह गरे । ‘यस्तो सुनुवाइ पहिलो पटक भएकाले बहिनीहरूले धेरै कुरा अझै खुलेर भनेका छैनन् । अहिले सुनाइएभन्दा गम्भीर अत्याचार छन् । दुर्व्यवहारका घटना दबाइएका पनि छन्, कृपया निगरानी बढाउनुहोला,’ एक वरिष्ठ एयरहोस्टेसले भनिन्, ‘हामी वस्तु होइनौं, दक्ष जनशक्ति हौं । उडान सफल गराउन हाम्रो पनि उत्तिकै मिहिनेत छ ।’

महानिर्देशक अधिकारीले क्याबिन क्रुका भोगाइले प्राधिकरणलाई गम्भीर बनाएको बताए । भने, ‘यस्ता व्यवहार निषेध गर्न प्राधिकरणले नीति निर्माण गर्छ, कारबाही पनि हुन्छ । फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागमा सेल बनाइनेछ ।’

प्रकाशित : चैत्र ११, २०७९ ०९:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×