पहिचान जोगाउँदै मयूर नाच

विगतमा लोप हुन थालेको मयूर नाचका लागि युवापुस्तामा चासो बढ्न थालेको छ
विप्लव महर्जन

सल्यान — विगतमा चाडपर्व मेला तथा आफन्तको घरमा पूजाआजामा विभिन्न किसिमको नाच हुन्थ्यो । त्यत्ति मात्र नभई मादल घन्किन्थ्यो । एक ठाउँमा प्रदर्शन गरेको नृत्यले गर्दा गाउँघर गुन्जयमान हुन्थ्यो । धेरै मानिसहरू जमघट भएर मनोरञ्जन गर्दै त्यसमै रमाउँथे, चहलपहल बढ्थ्यो ।

माओवादीले ०५२ मा सञ्चालन गरेको ‘जनयुद्ध’ का कारण सल्यानमा नृत्य, मेलापर्व लगायत सांस्कृतिक महत्त्व बोकेका कलासंस्कृति ओझेलमा परे । तत्कालीन माओवादीको डरका कारण विभिन्न महोत्सव, कार्यक्रम, मेला, चाडपर्वमा मनोरञ्जनका लागि नृत्य प्रदर्शन गर्नेभन्दा मानिसहरू आफनो ज्यान बचाउनरित लागे । धेरै कलाकार गाउँघर छाडी विस्थापित भए ।

तत्कालीन जनयुद्धकै कारण जिल्लामै चर्चित मानिने विभिन्न नाचसँगै मयूर नाच पनि ओझेलमा परेको थियो । जनयुद्ध समाप्तिसँगै देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै ओझेलमा परेको मयूर नाच पुरानै लयमा फर्कन थालेको छ । गाउँघर, मेला, चाडपर्व, महोत्सव, राजनीतिक दलका कार्यक्रम तथा स्थानीयको घरमा लगाएको पूजाआजामा पछिल्नो समयमा मनोरञ्जनको महत्त्वपूर्ण माध्यम भनेकै मयूर नाच बन्न थालेको छ । मयूर नाचले भीडभाड बढाउन थालेको छ । गाउँघरमा पुनः मानिसहरूको जमघट हुन थालेको छ । विगतमा लोप हुन थालेको उक्त नृत्यका लागि युवा पस्तामा पनि चासो बढ्न थालेको छ । यसले कला संस्कृतिको जगेर्ना गरेको छ ।

विगतमा एक/दुई स्थानमा मात्र सीमित रहेको मयूर नाचमा अहिले जिल्लाका धेरै स्थानका युवायुवतीहरू सहभागी भएका छन् । परम्परागत वाद्यवादन मादलको तालमा सामूहिक रूपमा नाचिने मयूर नाच आयआर्जनको माध्यमसमेत बन्दै गएको छ ।

विगतमा जनयुद्धकै कारण ओझेलमा परेको मयूर नाच पछिल्नो समयमा लोकप्रिय बन्दै गएको बाग्चौर नगरपालिका ९ लिउरेवारीका रुद्रबहादुर ओलीले बताए । मयूर नाचको अगुवा तथा नाइके रहेका ओलीका अनुसार मयूरको प्वाँखले बुनेको कपडा लगाएर नाच्ने भएकाले यसलाई मयूर नाच भन्ने गरिएको हो । ‘गाउँमा २०४६ सालदेखि नाच्न सुरु गरिएको मयूर नाच जनयुद्धको प्रभावका कारण लामो समय बन्द भयो,’ उनले भने ‘अहिले फेरि चर्चामा आउन थालेको छ ।’ पछिल्नो समयमा यो आयआर्जनको राम्रो माध्यम बन्दै गएको छ । एक स्थानमा गएर नृत्य प्रस्तुत गरेमा ८ देखि १५ हजारसम्म आउने उनको भनाइ छ ।

लिउरेवारीकै वर्ष ४५ का प्रेमबहादुर खड्काले पछिल्नो समयमा १५ देखि २८ वर्षसम्मका पुरुष तथा महिलाको मयूर नाचमा आकर्षण बढेको छ । धेरै ठाउँबाट नाचका लागि माग आउने गरेको बताए । मयूर नाच हेर्दा आनन्द आउने भएकाले एकै स्थानमा घण्टौं बसेर दर्शकले हेर्ने गरेको उनले जानकारी गराए । ‘एक समूहमा १२ देखि १५ जनासम्म मादल र सिट्टीको तालमा नाच्ने मयूर नाच विगतमा महिनामा एक/दुई स्थानबाट माग आउँथ्यो भने अहिले धेरै ठाउँबाट आउँछ,’ उनले भने, ‘यसबाट राम्रो कमाइ भएको छ । यसले संस्थाको विकास मात्र नभई नृत्यमा सहभागी भएकाहरूको जीविकोपार्जनमा सहज भएको छ ।’

१५ वर्षको उमेरदेखि मयूर नाचमा विशेष चासो देखाएका वर्ष २० का हर्कबहादुर ओलीले आफ्नै गाउँघरमा मात्र नभई जिल्लाका विभिन्न स्थान र जिल्लाबाहिर गएर पनि नाच्दै आएको बताए । जिल्लामा मयूरको प्वाँख नपाइने हुँदा रुकुमको सिम्रुतुबाट किनेर ल्याइने र सबै तयार पार्दा ३ लाख रुपैयाँभन्दा बढी खर्च हुने उनले बताए । आफ्नो पुर्खाले नाच्दै आएको नाचको संरक्षण गर्न पनि आफूले सिकेको उनको भनाइ छ । लोकप्रिय नाच संरक्षणप्रति सम्बन्धित निकायले भने खासै चासो नदेखाएको उनको गुनासो छ ।

कहाँ र कसरी उत्पत्ति भयो भन्नेबारेमा थाहा नभए पनि परम्परागत वाद्यवादनको तालमा नाचिने यो नाच बन्गाडी टप्पा, सोरठीजस्तै जिल्लाको पहिचान बन्न थालेको छत्रेश्वरी गाउँपालिका १ का नृत्य संरक्षक वर्ष ६६ का तोकलाल बुढाले बताए । अहिले कुमाख गाउँपालिकाको मर्मपरिकाँडा, दमाचौर बाग्चौरमा मात्र नभई जिल्लाका धेरैले समिति गठन गरी सामूहिक रूपमा नाच्दै आएका छन् । यो नृत्य जिल्लाका विभिन्न स्थानका युवाहरूले काठमाडौं गएर पनि प्रदर्शन गरेको उनको दाबी छ । पछिल्लो समय यो नृत्यलाई धेरैले रुचाएको उनको भनाइ छ ।

प्रकाशित : चैत्र १०, २०७९ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्

भारतबाट कुखुरा तस्करी

कान्तिपुर संवाददाता

नेपालगन्ज — नेपालगन्जको गणेशमान चोकमा कुखुरा किसान र व्यवसायीले चोकमै कुखुरा फालेर विरोध जनाएका छन् । प्रहरीका अनेक चेकपोस्ट पार गर्दै भारतीय कुखुरा सहजै भित्रिरहेको र आफूहरूको व्यवसाय धरापमा परेको भन्दै उनीहरूले आक्रोश पोखेका हुन् । पीडित किसान तस्करी भइरहेका कुखुरा निगरानी गर्न नाकामै पुगेका छन् ।

रातभरि नाकामा निगरानी गरिरहेका आफूहरूले गत बिहीबार र शुक्रबार बिहान भारतीय कुखुरा समातेर प्रहरीलाई बुझाउँदा पनि पक्राउ नगरेको दाबी गरे । ‘सशस्त्र प्रहरी छ, अर्को पुलिस छ, ठाउँठाउँमा चेकिङ छ । तर पनि कुखुरा आइरहेका छन्,’ कुखुरा व्यवसायी संघ बाँकेका अध्यक्ष धर्मराज पोखरेलले भने, ‘कोहलपुरदेखि बर्दियासम्म कुखुरा कसरी पुग्छन् ?’ करोडौं लगानीको ऋणले किसान र व्यवसायी धराशयी बनेको उनले बताए ।

उनका अनुसार नेपालमा दुई किलोभन्दा बढीका कुखुरा नै नहुने गरेकामा बजारमा चार केजीसम्मका कुखुरा पुग्ने गरेको र ती सबै भारतीय कुखुरा भएको दाबी गरे । भारतसँग खुला सीमा जोडिएको बाँकेमा आयातमा प्रतिबन्ध लगाइएका भारतीय कुखुराको तस्करी रोक्न सशस्त्र प्रहरी र नेपाल प्रहरी जिम्मेवार नबनेको व्यवसायीको आरोप छ ।

भारतबाट आउने कुखुरा रोकेर नेपाली व्यवसायीलाई सघाउन जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर सडकमा उत्रनु परेको किसानले बताए । उनीहरूले जिल्ला प्रशासन कार्यालयमा आफ्ना समस्या समाधान गर्न ज्ञापन पत्र बुझाएका छन् । अध्यक्ष पोखरेलका अनुसार भारतबाट जमुनाह, साइगाउँ र नरैनापुर क्षेत्रबाट कुखुराको धेरै तस्करी हुने गरेको छ । बाँके कुखुरामा आत्मनिर्भर भए पनि बाहिरबाट कुखुरा आयात र तस्करी नरोकिंदा किसान मर्कामा परेको व्यवसायी ईश्वर सुवेदीले बताए ।

जिल्लामा मागभन्दा बढी कुखुरा उत्पादन हुने गरेको अवस्थामा आयात प्रतिबन्ध लगाइएको भारतबाट तस्करी हुने र डिलरले अन्य जिल्लाबाट कुखुरा खपत गर्दा स्थानीय किसानका कुखुरा बिक्री नभइरहेको किसानको दाबी छ । पोखरेलले भने, ‘तयारी कुखुरा नै भित्रिएपछि कसले कुखुरा पाल्ने, कसले दाना किन्ने ? व्यवसायीको लगानी डुबेको छ ।’

कुखुरा व्यवसायी संघ बाँकेका अनुसार अहिले जिल्लामा करिब ५ सय किसान कुखुरा पालन व्यवसायमा संलग्न छन् । न्यूनतम ४ लाख लगानी लाग्ने कुखुरा पालनमा यस हिसाबले न्यूनतम २० करोड लगानीमा भएको छ । दैनिक २५ हजार ज्युँदो कुखुरा उत्पादन हुने गरेकामा करिब २० हजार कुखुरा मात्रै जिल्लामा खपत हुन्छन् । दैनिक ५० लाख बराबरको कारोबार हुन्छ । जिल्ला अण्डामा पनि आत्मनिर्भर छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले केही समस्या आएको र सबैको सहकार्यमा समस्या समाधान गर्ने बताए ।

प्रकाशित : चैत्र १०, २०७९ ०७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×