बजेट अभावमा तीन वर्षदेखि विद्यालय भवन निर्माण अलपत्र

विप्लव महर्जन

सल्यान — जिल्लाको त्रिवेणी गाउँपालिका १ काभ्रास्थित जनता माध्यमिक विद्यालयको चारकोठे भवन तीन वर्षदेखि अलपत्र परेको छ । आर्थिक वर्ष २०७६/०७७ मा सञ्चालन गरिएको भवन बजेट अभावमा अलपत्र परेको हो । 

कर्णाली प्रदेशको २५ लाख रुपैयाँ बजेटमा जिज्ञासु वीसी निर्माण सेवाले काम गरेको र असार मसान्तसम्म सम्पन्न गर्नुपर्नेमा कोरोना महामारीका कारण ठेकेदार कम्पनीले तोकेको समयमा काम सम्पन्न गर्न नसकेपछि फिर्ता भएको बजेट पुनः नआउँदा निर्माणाधीन अवस्थामै अलपत्र परेको विद्यालयका प्रधानाध्यापक हिक्मत रोकाले बताए । भवनको अहिलेसम्म योजनाको ६० प्रतिशतजति काम सम्पन्न भएको उनले जानकारी गराए ।

उनका अनुसार प्रदेशको २५ लाख बजेटमा गाउँपालिकाले टेन्डर गरेर सञ्चालन गरेको थियो । जिज्ञासु वीसी निर्माण सेवाले समयमै काम सम्पन्न गर्न नसक्दा ९ लाखमात्र भुक्तानी पाएको थियो । अन्य रकम फिर्ता गएको थियो । तीन वर्षदेखि अलपत्र परेको भवन अहिले गाउँपालिकाले मर्मतका लागि भनेर ३ लाख विनियोजन गरेको उनको भनाइ छ ।

भवन निर्माण कार्य अलपत्र परेपछि कक्षाकोठाको अभावमा अहिले ६, ७, ११ र १२ गरी चार कक्षाका बालबालिका उक्त झ्यालढोका, रेलिङविहीन भवनमा जोखिम उठाई बसेर पढ्न बाध्य भएका शिक्षक कुलबहादुर यरीले बताए । अहिले परीक्षा पनि त्यही अधुँरो भवनको कोठामा बसेर दिइरहेको उनले जानकारी गराए । ‘झ्याल–ढोका केही नभएकाले वर्षात्को समयमा परेको पानी सिधै कक्षाकोठामा जाने गरेको छ । हुरी चलेमा कोठामा बस्न मिल्दैन । कापी, किताब उडाउनेजस्तो गर्छ,’ उनले भने, ‘पानी परेमा तथा हुरी चलेमा विद्यार्थीको पठनपाठन, परीक्षा दुवै प्रभावित हुने गरेको छ ।’ रेलिङ नभएकाले विद्यार्थी कक्षाकोठा आउजाउ गर्दा लड्ने सम्भावना बढी रहेको उनको भनाइ छ ।

त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतले प्रदेशले फिर्ता गएको बजेट पुनः नपठाएकै कारण भवन निर्माणको कामलाई निन्तरता दिन नसकेको बताएका छन् । तीन वर्षदेखि रोकिएपछि बालबालिकालाई पढ्नका लागि केही राहत होस् भनेर उक्त भवन मर्मत गर्न पालिकाले यो वर्ष ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए । पालिकाले विनियोजन गरेको बजेटबाटै पुनर्निर्माण गर्न नसके पनि मर्मत तथा झ्यालढोका हालेर सहज रुपमा बसेर पढ्न मिल्ने गराउने उनले दाबी गरे ।

प्रकाशित : चैत्र ९, २०७९ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्रीलाई राज्य चिनाउन हिँडेका महिला

सुदखोरमात्र होइन, प्रहरी, प्रशासन, अड्डा अदालतबाट समेत लखेटिएका महिला बर्दिवासबाट हिँडेको आठौं दिन हेटौंडा आइपुगेका छन्, तर नागरिक किन पैदल आउँदै छन्, दाहाल सरकारलाई वास्तै छैन
कान्तिपुर संवाददाता

पथलैया, बारा — प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक विश्वासको मत पाएकै दिन सोमबार संसद् भवन परिसरमा पत्रकारहरूसँग भन्दै थिए, ‘अब वैशाख पहिलो सातासम्म भारत भ्रमणमा जान्छु ।’ भारतले अहिलेसम्म औपचारिक निम्तो दिएको छैन । निम्तोबिना भारतको पाहुना बन्न आतुर दाहाल स्वयम्लाई भेट्न महिलाहरू सिंहदरबार आउँदै छन्, त्यो पनि राजमार्गमा हिँडेर । तर, उनीहरूको माग के हो ? प्रधानमन्त्रीलाई भेट्न आफ्ना नागरिक किन पैदलै आउँदै छन्, सरकारलाई वास्तै छैन ।

प्रहरी प्रशासनबाट संरक्षित मिटरब्याजी सुदखोरले विपन्न सर्वसाधारणको उठिबास लगाएका छन् भनेर राज्यले विगतमा गरेका अनुसन्धानले नै पुष्टि गरेका छन् । मिटरब्याजपीडितले विगतमा जस्तै यस पटक पनि ठाउँठाउँमा आन्दोलन गरिरहेका छन् । तर, सरकारले सुन्दै नसुनेपछि पूर्वी मधेशका पीडितहरू बर्दिबासमा जम्मा भएर काठमाडौंको मार्चमा छन् । यसअघि आफ्ना सरोकार सुनाउन उनीहरू पछिल्लो ९ महिनादेखि स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी र मधेश सरकारका अड्डाहरूमा धाइरहेका थिए ।

‘तमसुक व्यवस्था खारेज गर’ भन्ने मुख्य नारासहित चैत २ मा बर्दिबासबाट निस्केको मार्च मंगलबार साँझ बाराको पथलैया आइपुगेको थियो । बुधबार बिहान पथलैयाबाट सुरु भएर साँझ मकवानपुरको हेटौंडासम्म करिब २५ किलोमिटर यात्रा पछ्याइरहेको कान्तिपुर टिमले पैदलयात्रीको मनोविज्ञानमा कुनै अन्योल भेटेन ।

पूरा पढ्न : प्रधानमन्त्रीलाई राज्य चिनाउन हिँडेका महिला


प्रकाशित : चैत्र ९, २०७९ १५:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×