मुगुको हिमाली क्षेत्रमा हिउँ, बेंसीमा झरी

मुगु — जिल्लाको उच्च हिमाली क्षेत्रमा चैतमा हिउँ र बेंसीतिर झरी परेको छ । मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फू, छायाँनाथ, मुगु, किम्री परलोक, ऋणिमोक्ष, सोबालेक, मालिकाथान, चंखेली, चुचुमारे लगायत क्षेत्रमा हिउँ परेको छ र तल्लो क्षेत्रमा झरी परेको छ ।

हुम्लाको माथिल्लो हिमाली क्षेत्र नाम्खा गाउँपालिका लिमी, यारी मुचुलगायत क्षेत्रमा पनि झरीसँगै हिमपात भएको छ ।
दुई दिनदेखि मौसममा परिर्वतन भइ उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । गमगढी, ताल्चा, सोरु, खत्याड क्षेत्रमा गाउँबस्तीमा झरी परेपछि खडेरीबाट चिन्तित भएका किसान उत्साहित भएका छन् ।
कार्मारोङ गाउँपालिकाको माथिल्लो हिमाली बस्तीमा हिउँ परेको पालिका अध्यक्ष छिरिङक्याप्सने लामाले बताए । समुद्री सतहदेखि २९ सय उचाइभन्दा माथिका बस्तीमा हिमपात भएको उनको भनाइ छ ।
लेकदेखि बेंसीसम्म यो वर्ष मुगुमा एक पटक मात्र हिमपात भएको छ । खडेरीको संकेत देखापरेको यस जिल्लामा हिमपात र झरी किसानलाई उत्साह थपेको छ ।
बोटबिरुवा टुसाउने फुल्ने र जडिबुटी उम्रिने मौसममा हिमपात झरी परेको छ । झरी र हिमपातले खडेरीबाट सुक्न लागेको जौं, गहुँबाली जोगाएको किसानको भनाइ छ ।
प्रकाशित : चैत्र ७, २०७९ ११:०४