शैक्षिक सुधार योजना अलपत्र

पालिकाहरूले बेवास्ता गर्दा साक्षर घोषणा योजना कार्यान्वयन नै अलमलमा
तृप्ति शाही

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारले लागू गरेका शैक्षिक सुधारका योजना कार्यान्वयन हुन सकेका छैनन् । कर्णाली प्रदेश सरकारले शैक्षिक सुधारका लागि थालेका कार्यक्रमहरू अलपत्र परेका छन् ।

सार्वजनिक शिक्षा सुधारका लागि प्रदेश सरकारले विभिन्न प्रकारका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको थियो । तर उक्त योजनाअन्तर्गतका अधिकांश कार्यक्रम अलपत्र छन् । सरकारले अघि सारेका कार्यक्रममध्ये प्रदेशलाई साक्षर घोषणा गर्ने योजना पनि एक हो । यो कार्यक्रम पनि कार्यान्वयन हुन सकेको छैन ।

प्रदेशका १० वटै जिल्लाका सबै पालिकालाई पूर्ण साक्षर बनाएर प्रदेशलाई नै साक्षर घोषणा गर्ने योजना सरकारको थियो । स्थानीय तहसँगको साझेदारीमा कार्यान्वयन गर्ने भनिएको साक्षर घोषणा योजना अलपत्र छ । त्यसका लागि अहिलेसम्म कुनै पनि कार्यक्रम सञ्चालन भएका छैनन् ।

यसअघि कर्णाली प्रदेशका ५ जिल्ला मात्र साक्षर घोषणा भएका छन् । साविक कर्णालीका पाँच जिल्लाका ३६ पालिकामध्ये ३२ पालिका साक्षर घोषणा हुन बाँकी छन् । मुगुका ४ , जुम्लाका ८, कालीकोटका ८ , हुम्लाका ६, डोल्पाका ६ गरी ३२ पालिका साक्षर घोषणा हुन बाँकी छन् ।

अहिले पनि कर्णालीका ३८ प्रतिशत नागरिक साधारण लेखपढ गर्नसमेत जान्दैनन् । स्थानीय तहहरूले बेवास्ता गर्दा साक्षर घोषणा योजना कार्यान्वयन हुन नसकेको सामाजिक विकास मन्त्रालयका शिक्षा शाखा प्रमुख बलवीर सुनारले बताए । पालिकाले अनौपचारिक शिक्षाअन्तर्गत प्रौढ शिक्षा, सामुदायिक सिकाइ केन्द्रमार्फत साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने भए पनि नगरेकाले कार्यान्वयनमा जटिलता थपिएको उनको भनाइ छ । पालिकाबाट साक्षरता कार्यक्रम सञ्चालन तथा साक्षर घोषणा गर्न प्रदेशसँग समन्वय गर्नुपर्ने भए पनि स्थानीय तहले समन्वय नगर्दा प्रभावकारी नभएका उनले बताए ।

यस्तै, गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि सामाजिक विकास मन्त्रालय र मध्यपश्चिम विश्वविद्यालयको समन्वय र सहकार्यमा उच्च शिक्षासम्बन्धी कार्यक्रम गर्ने भनिएको थियो । उक्त कार्यक्रमका लागि प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरेको छ । यो कार्यक्रम पनि हालसम्म सञ्चालन हुन सकेको छैन ।

प्रदेश सरकारले अघि सारेको एक विद्यालय एक नर्स कार्यक्रम पनि अघि बढ्न नसकेको शिक्षा शाखा प्रमुख सुनार बताउँछन् । कर्णालीमा दलित, बादीलगायत पिछडिएका समुदायका बालबालिकाका अभिभावकलाई शिक्षा दिने योजना पनि कर्णाली प्रदेश सरकारको थियो । यो कार्यक्रम पनि गरिएको छैन । कर्णालीको शैक्षिक अवस्था अन्य प्रदेशभन्दा कमजोर छ । शैक्षिक गुणस्तर सुधारका लागि सरकारले सार्वजनिक शिक्षा सुधारका कार्यक्रमहरू अगाडि बढाएको सामाजिक विकास मन्त्रालयका शिक्षा शाखा प्रमुख सुनार बताउँछन् । गतवर्षबाटै यो कार्यक्रम लागू भए पनि प्रभावकारी रूपमा कार्यान्वय भने हुन नसकेको उनको भनाइ छ । यो कार्यमा पूरै रकम पनि खर्च भएन,’ उनले भने, ‘अन्य कार्यहरू गर्न बजेट नपुगेको हुनाले उता खर्च गरियो । अहिले पनि यो कार्यक्रम अगाडि भने बढाइरहेका छौं ।’

अहिले शैक्षिक कार्यक्रमअन्तर्गत गोष्ठीलगायतका कार्यक्रमहरू भने रोक्का गर्न अर्थ मन्त्रालयको परिपत्र भएकाले नयाँ कार्यक्रमहरू सञ्चालन गर्न नसकिएको उनले बताए । गरिरहेका कार्यक्रमहरू मात्र सञ्चालनमा रहेको उनको भनाइ छ । कर्णाली प्रदेशमा शिक्षा योजना पनि पास भएको छैन । उनका अनुसार कर्णालीमा गुणस्तरीय शिक्षाको अभावमा विद्यार्थी टिकेका छैनन् । ६० वटा क्याम्पसहरू रहेको कर्णालीमा १४ हजार २० वटा विद्यार्थी मात्र अध्ययन गरिरहेका छन् । अन्य ६ वटै प्रदेशमा विश्वविद्यालय खुले पनि कर्णालीमा अझै खोल्न नसकिएको उनले बताए । २२ हजार शिक्षक चाहिने कर्णालीमा १७ हजार शिक्षक मात्र छन् । शिक्षामा बजेटको पनि अपुग छ ।

प्रकाशित : चैत्र ७, २०७९ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्

हिमालमुनिको उत्कृष्ट विद्यालय

भानुभक्त निरौला

सोलुखुम्बु — विकट खुम्बु क्षेत्रमा अवस्थित खुम्जुङ सामुदायिक मावि जिल्लाकै नमूना विद्यालय मानिन्छ । समुद्री सतहबाट ३ हजार ७ सय ५० मिटर उचाइमा रहेको यस विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुन्छ । सगरमाथा आरोही सर एडमन्ड हिलारीले सन् १९६१ मा हिलारी स्कुलका नाममा स्थापना गरेको उक्त विद्यालयलाई खुम्जुङ माविको नामले चिनिन्छ ।

विद्यालयमा सुविधासम्पन्न छात्रावास, फराकिलो खेल मैदान, पुस्तकालय, कम्प्युटर ल्याब र विज्ञान प्रयोगशाला छन् । हिमालयन ट्रस्ट नेपाललगायत दातृ निकायले उक्त विद्यालयको गुणस्तरमा सहयोग गरेका छन् । ‘यहाँ तल्लो सबै कक्षामा सबै विषय अंग्रेजी माध्यमबाट पढाइरहेका छौं,’ विद्यालयका प्रधानाध्यापक ङवाङ दोर्जी राईले भने । २०७० देखि यहाँ पूर्ण रूपमा अंग्रेजी भाषामा पढाउन थालिएको हो । ‘अंग्रेजी माध्यम भन्नेबित्तिकै बोर्डिङले मात्रै पढाउन सक्छ भन्ने भ्रम यो सामुदायिक स्कुलले ताडेको छ,’ प्रअले भने, ‘शिक्षकको कडा मिहिनेतले स्तरीय पढाइ गराउन सकेका छौं ।’ उक्त विद्यालय तत्कालीन एसएलसीदेखि हालको एसईईमा समेत जिल्ला प्रथम हुँदै आइरहेको छ । दुर्गम क्षेत्रको उत्कृष्ट विद्यालयको रुपमा सन् २०१६ मा शिक्षा मन्त्रालयलये नगद १ लाखसहित उक्त विद्यालयलाई पुरस्कृतसमेत गरेको छ ।

विकट क्षेत्रको यो विद्यालयमा २ सय ९३ जना विद्यार्थी नियमित विद्यालय जान्छन् । ‘विद्यार्थीको प्रमुख आकर्षण अंग्रेजी माध्यमको पढाइ, कम्प्युटर शिक्षा र प्रयोगशाला हुन्,’ सामाजिक विषयकी शिक्षिका लीलाकेशरी राईले भनिन् । ‘शेर्पा समुदायका बालबालिकाबाहेक महाकुलुङ, सोताङदेखि टाढाका गाउँबाट समेत अध्ययनका लागि आउँछन्,’ प्रअ राईले भने । १३ शिक्षकको मात्रै सरकारी दरबन्दी रहेको उक्त विद्यालयमा निजी क्षेत्र, हिमालयन ट्रस्ट र गाउँपालिकाले पनि शिक्षकहरूको व्यवस्था गरेका छन् ।

यो विद्यालयले स्तरवृद्धि गरेसँगै गुणस्तरीय शिक्षाकै लागि सहर जानुपर्ने स्थानीयको बाध्यता पनि हटेको छ । ‘यहींको पढाइ राम्रो छ, माविसम्मको अध्ययन यहीं गर्छु,’ कक्षा ९ का फुर्वातेन्जिङ शेर्पाले भने । अभिभावक पनि गाउँमै बालबच्चालाई आधुनिक र प्रविधियुक्त शिक्षा पढाउन पाउँदा मक्ख छन् । ‘यहाँ प्राविधिक ज्ञान दिइन्छ । कम्प्युटर, विज्ञानमा पनि हाम्रा बच्चाहरू तगडा छन्,’ अभिभावक पासाङ शेर्पाले भने ।

प्रकाशित : चैत्र ७, २०७९ ०८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×