उपचार नपाउँदा ७ वर्षदेखि ओछ्यानमै
मुगु — सोरु गाउँपालिका–६ पुरुमुरु गाउँका ६७ वर्षीय कालापति नेपाली सात वर्षदेखि रोगले ओछ्यानमै छन् । हातखुट्टाका जोर्नी सुन्निएर असाध्यै दुख्ने (गाँठे) रोगबाट सात वर्षदेखि पीडित छन् । स्थायी घर पुरुमुरु गाउँ भए पनि उनी वडा–४ तलिलिब्रु गाउँमा बस्दै आएका छन् । उनलाई पत्नी कौशिलाले दिसापिसाब गराउन हात समातेर लैजाने र ल्याउने गरेकी छन् ।
आर्थिक अभावका कारण श्रीमान्को उपचार गर्न नसकेको कौशिलाले दुखेसो पोखिन् । ‘पहिले बोकेर उपचार गर्न सोरुकोट गमगढीसम्म ल्यायौं,’ उनले भनिन्, ‘औषधि किन्न पैसा नहुँदा निको भएन ।’ शरीरका गाँठा दुखेर रातभरि नसुत्ने उनी दिउँसो घाम लागेपछि केही सन्चो भएजस्तो हुने बताउँछन् । श्रीमान्लाई दिउँसो घाममा र राति कोठाभित्र ओसारपसार गर्दै दिन बित्ने गरेको कौशिलाले सुनाइन् । बादल लागेको दिन शरीर झन् दुख्ने गरेको उनले बताइन् ।
ज्याला मजदुरी गरेर परिवार पाल्ने उमेरका कालापतिलाई गाठेरोगले थला पारेपछि परिवारमा अन्न र कपडा जुटाउनै समस्या भएको छ । उनका माइलो र कान्छो दुई छोरा भारत गएर मजदुरी गर्छन् । बिरामी परेका कारण उनको सिलाइ पेसा पनि बन्द भएको छ । गाउँलेका कपडा सिलाएर परिवार पाल्दै आएका उनलाई श्रीमतीले उल्टै गाँस खोजेर खुवाउनुपर्ने अवस्था छ । जेठो छोरा खाम्मा र एक बुहारी घरमै भए पनि आर्थिक अभावले बिरामीलाई हेर्न कठिन भएको बताउँछन् । ‘म छोरा भएर के गर्ने औषधि किन्ने पैसा छैन, बिहानबेलुका छाक टार्नै गाह्रो छ,’ छोरा खाम्माले भने, ‘उपचार गराउन पैसा र उपाय केही छैन ।’
दुई वर्षअघि दुवै आँखा बन्द हुँदा घरबाट बोकेर गमगढीमा रेडक्रसले सञ्चालन गरेको आँखा शिविरमा लगेर अप्रेसन गरी आँखा देख्ने बनाए पनि गाँठे रोगको उपचार गर्न नसक्दा थलिएको परिवारको भनाइ छ । गाउँघरमा औषधि पनि नपाइने, टाढा गएर ल्याउन पैसा नहुँदा सात वर्षदेखि रोग पालेर बस्नुपरेको कालापति बताउँछन् । उपचारका लागि घरबाट सोरुकोट पुग्न एक दिन र त्यहाँबाट गमगढी पुग्न थप एक दिन गरी दुई दिन समय लाग्छ । उपचार गर्न सके कालापतिको रोग सन्चो हुन सक्ने अहेब गणेश शाहीले बताए ।
प्रकाशित : चैत्र ६, २०७९ १२:००