कालीकोटको जनचेतना क्याम्पसमा झडप


कालीकोट — शान्नीत्रिवेणी ६ मेहेलमुडीस्थित जनचेतना बहुमुखी क्याम्पसमा दुई विद्यार्थी संगठनका कार्यकर्ताहरूबीच झडप भएको छ । झडपका कारण स्ववियु निर्वाचनको मतदान सुरु हुन सकेको छैन ।

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ५० जना विद्यार्थी फर्जी भर्ना गरेको भन्दै एमाले निकट अनेरास्ववियुले विरोध जनाएपछि दुई पक्षबीच झडप भएको छ । झडपपछि विद्यार्थी संगठन र दलका नेताहरुबीच छलफल भइरहे पनि दिउँसो २ बजेसम्म मतदान सुरु हुन सकेको छैन ।
फर्जी भर्ना गरिएका विद्यार्थीले पैसा पनि जम्मा नगरेको भन्दै एमाले निकट अखिलका उम्मेदवारले विरोध गरेपछि झडपको अवस्था आएर चुनाव सुरु हुन नसकेको प्रहरीले जनाएको छ ।
विद्यार्थीको विवादमा माओवादी केन्द्रकी शान्नीत्रिवेणी गाउँपालिका इज्चार्ज मिठ्ठू शाही बम शैलजासहितले अनेरास्ववियुका जिल्ला अध्यक्ष तथा स्ववियु सभापतिका उम्मेदवार धर्मराज शाहीलाई हातपात गरका थिए ।
एमाले अखिलले भने माओवादी निकट अखिलबाट भर्ना गरिएका ५० जनाको भर्ना खारेज हुनुपर्ने र त्यसको छानबिन हुनुपर्ने अडान राख्दै आएको छ ।
यद्यपि क्याम्पस प्रशासन समक्ष भएको छलफलपछि सहमतिका आधारमा चुनाव सञ्चालन गर्ने बताइएको छ । तर कतिबेला मतदान सुरु गर्ने भन्नेबारे यकिन भइसकेको छैन ।
यसका लागि क्याम्पस प्रशासनले बिहानदेखि अहिलेसम्म एक सय विद्यार्थीको परिचय पत्र वितरण गरिसकेकाले चुनाव हुने सम्भावना अझै रहेको क्याम्पस प्रशासनले जनाएको छ ।
कालीकोटको अर्को क्याम्पस कोटवाडामा भने सहमतिका आधारमा नेविसंघकी जुनिता विष्ट सभापतिमा निर्विरोध भइसकेकी छन् ।
प्रकाशित : चैत्र ५, २०७९ १४:५३