३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बसाइँसराइले सुनसान हुँदै बस्ती

खानेपानी र स्वास्थ्य समस्याको कारण प्रत्येक वर्ष दुई/चार घर गर्दै कोही परिवार पालिकाको केन्द्र पुतलीबजार र कोही दाङतिर झरे
विप्लव महर्जन

सल्यान — एक दशकअघि कालीमाटी गाउँपालिकाको टोटकेमा ६० भन्दा बढी घरपरिवार बसोबास गर्दै आएका थिए । बस्ती ठूलो भएकाले त्यहाँ एक प्रावि पनि सञ्चालनमा थियो । बाह्रै महिना खानेपानीको हाहाकार भइरहने र उपचारका लागि पनि घरदेखि तीन दिन हिँडेर स्वास्थ्यचौकी पुग्नुपर्ने बाध्यता थियो ।

बसाइँसराइले सुनसान हुँदै बस्ती

त्यही दुःखको कारण प्रत्येक वर्ष दुई/चार घर गर्दै केही परिवार पालिकाको केन्द्र पुतलीबजार र कोही दाङतिर झरे । बसाइँसराइले गर्दा विगतमा चहलपहल हुने बस्ती अहिले सुनसान छ । लालीगुराँस आधारभूत विद्यालयसमेत बन्द भएको छ । बस्तीका सबै घर जीर्ण भएका छन् ।

यस्तै, कालीमाटी गाउँपालिका १ लक्ष्मीपुरको चोत्रे र हिङ्गवरे दुई बस्तीमा सयभन्दा बढी परिवार बसोबास गर्दै आएका थिए । सुविधा खोज्दै अधिकांश तराई झरेपछि अहिले उक्त बस्तीमा दुई दर्जन मात्र परिवार छन । बसाइँसराइले बस्ती सुनसान बन्दै गएको छ ।

विगतमा चौरजहारी तथा जाजरकोट आउजाउ गर्दा मानिसहरू बास बस्ने, खाने गर्दा सिद्धकुमाख गाउँपालिकाको ओखरबोटमा धेरै चहलपहल हुन्थ्यो । जताततै सडक, गाडी चल्न थालेपछि पैदल मार्ग बन्द हुँदा व्यापार व्यवसाय धरापमा परेपछि स्थानीय व्यापारमै लागि चाक्लिघाट झरे । सबै बेंसी झरेपछि अहिले त्यहाँका घर भग्नावशेषजस्तै भएका छन् । हिजोआज गाईबाख्रा चराउन जानेभन्दा कोही भेटिँदैनन् ।

यी तीन मात्र नभई जिल्लाका १० स्थानीय तहका उपल्लो भेगमा भएका बस्ती दिन प्रतिदिन सुनसान बन्दै गएका छन् । सम्बन्धित निकायले उपल्लो बस्तीमा हरेक किसिमको सुविधा उपलब्ध गराउन सकेको छैन । बसाइँसराइसमेत रोक्न नसक्दा सुविधा खोज्दै बेंसीतिर, कोही सहरतिर र वैदेशिक रोजगारीमा गएका छन् । त्यहाँबाट कमाइ ल्याएको रकमले सहरमुखी भएपछि जिल्लाका उपल्लो बस्ती सुनसान बन्दै गएका हुन् ।

जिल्लामा कुल घरधुरी संख्या ५७ हजारभन्दा बढी छ । २०७१ को तथ्यांकअनुसार ४ हजार ७ सय ७४ ले बसाइँसराइ गरेका छन् । पछिल्लो समयमा कतिले बसाइँसराइ गरे भन्ने यकिन हुन सकेको छैन ।

भुरे टाकुरे राजा हुने बेला दरबारसमेत रहेको र चारैतिर बाक्लो बस्ती रहेको कालीमाटी गाउँपालिका १ कोटमा खानेपानी समस्या छ । बसाइँसराइले अहिले जम्मा १८ घर मात्र रहेका स्थानीय नन्दबहादुर बस्नेतले बताए । बस्तीका धेरैजसोले जग्गाको माया मार्दै बसाइँसराइ गरेका छन् ।

अहिलेसम्म नफर्कंदा खेतीयोग्य जग्गा जंगलमा परिणत भएका र घरहरू भत्कँदै गएका उनको भनाइ छ । ‘युवा, पुरुषहरू कमाइ गर्न भारत र खाडी मुलुकमा गएकाले घरमा बूढाबूढी र महिला मात्र छन् । महिला दिउँसो मेलापात गर्न जाने भएकाले हिजोआज दिउँसै चोर पसेर घरमा भएका सामग्री चोरेर लगे पनि थाहा हुँदैन,’ उनले भने, ‘मानिसको संख्या धेरै कम भएकाले जंगली जनावरले घरमा पालेका बाख्रा, कुखुरा खाने गर्दछन् । धपाउन जाने कोही हुँदैनन् ।’

संघीयता आएपछि विकट तथा उपल्लो भेगका बस्तीमा सडक, गाडी, बिजुली, पानीको सुविधा हुँदै गए पनि गाउँको घर छाडेर बाहिर जानेको क्रम नरोकिएको सिद्धकुमाख गाउँपालिकाको दहका वर्ष ६० का नरबहादुर खड्काले बताए । एक दशकको अवधिमा झन्डै ३५ बढी परिवारले घरबार छाडेर बाहिर गएका उनले सुनाए ।

‘गाउँमा रोजगारी छैन । शिक्षा, स्वास्थ्य सेवा गतिलो छैन । पानीका लागि आधा घण्टाबढी हिँड्नुपर्छ, अन्य आधारभूत सेवाको उचित व्यवस्था छैन, बसाइँसराइ नगरी के गरून्,’ उनले भने, ‘पछिल्नो समयमा अधिकांश सुविधाभोगी भएकाले वैदेशिक रोजगारीमा गएका पुरुषहरू धमाधम जन्मथलो छाडेर सहरतिर केन्द्रित भइरहेका छन् ।’ धमाधम बस्ती छाडेर बसाइँसराइ गर्दै गए पनि सम्बन्धित निकायले गाउँघरमै युवा तथा स्थानीयलाई रोक्न कुनै कार्यक्रम नल्याएको उनको भनाइ छ ।

छत्रेश्वरी गाउँपालिका ४ झिम्पेका रेमन्त डिसीले विगतमा सुविधा खोज्दै हुने खानेले बसाइँसराइ गर्दै आए पनि पछिल्लो समयमा देखासिकी गर्दै अरू पनि बसाइँसराइ गर्न थालेको जनाएका छन् । बसाइँसराइले गर्दा बस्ती सुनसान हुन थालेपछि एकान्त स्थानका घरमा हिंसात्मक तथा मानव अधिकार हननका गतिविधि बढिरहेको उनले जानकारी गराए ।

अधिकांश बेसीतिर झर्दै खेतीयोग्य जग्गामा घर बनाउनै बस्न थालेपछि उब्जाउ योग्य खेतहरू मासिँदै गएको उनको भनाइ छ । सुविधा खोज्दै बाहिर जानेको क्रम बढ्दै गएपछि जिल्लाको ग्रामीण क्षेत्रमा मात्र नभई सदरमुकाममा पनि धेरै घर खाली रहेका र विगतका मुख्य बजार भनेर चिनिने बस्ती दिउँसै सुनसान हुने गरेका स्थानीय वृद्ध ईश्वरीप्रसाद श्रेष्ठले बताए । यसले गर्दा खलंगाको व्यापारव्यवसाय पनि खस्किँदै गएको उनको अनुभव छ । उनका अनुसार खलंगामा विभिन्न कार्यालय भए पनि संघीयतापश्चात स्थानीय तहले विभिन्न काम गर्ने जिम्मेवारी पाएपछि मानिसहरू आउन छाडेकाले सुनसान बन्दै गएको हो । सदरमुकाम खलंगालाई व्यवस्थित गर्न र चहलपहल बढाउन सम्बन्धित निकायले कुनै पहल नगरेको उनको भनाइ छ ।

कालीमाटी गाउँपालिका ७ काप्रेचौरमा सात सयबढी परिवार बसोबास गर्दै आएकामा विभिन्न असुविधा र जंगली जनावरको त्रासका कारण जनाउँदै केही वर्षभित्रै सयभन्दा बढी परिवारले बसाइँसराइ गरिसकेका बताएका छन् । गाउँघरमा व्यापारव्यवसायको सम्भावना कम, परिवार पाल्न हम्मेहम्मे, सामान्य रोग लागे पनि उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था सृजना भएकै कारण धेरैले बसाइँसराइ गरेको उनको भनाइ छ ।

कालीमाटी गाउँपालिका १ लक्ष्मीपुरका वडा अध्यक्ष रविलाल बस्नेतले पाँच वर्षको अवधिमा वडाबाट ४० बढीले बसाइँसराइ गरेको जानकारी पाएका छन् । उपल्नो भेगको बस्तीमा भएको विभिन्न किसिमको समस्या धमाधन गर्न लिफ्ट खानेपानी, बिजुली, सडक, निर्माण, आधारभूत स्वास्थ्य इकाइ केन्द्र सञ्चालन गरे पनि बसाइँसराइ रोक्न नसकेको कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्रीले बताए । विगतको तुलनामा पछिल्नो समयमा बसाइँसराइ गर्नेको संख्यामा कमी आए पनि अहिलेसम्म कतिले बसाइँसराइ गरे भन्नेबारे तथ्यांक नभएको उनको भनाइ छ ।

अन्य स्थानीय तहले पनि उपल्लो भेगमा बस्ने स्थानीय खानेपानी, स्वास्थ्य, बिजुली, सडकको अभावमा बसाइँसराइ गर्नबाट रोक्न विकास निर्माणलाई तीव्रता दिएको बताएका छन् । उनीहरूले पाँच वर्षको अवधिमा पालिकाको सबै स्थानमा सडक र धेरै बस्तीमा खानेपानी पुर्‍याएको बताएका छन् । कुनै स्थानमा सल्लाको दियालो बाल्न बाध्य हुँदै आएका स्थानीयको घरघरमा बिजुली पुर्‍याएको स्थानीय पालिकाहरुको भनाइ छ ।

प्रकाशित : चैत्र ५, २०७९ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?