कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जन्मदर्ता र विवाह दर्ता नहुँदा ८२ वर्षीया पुनीले पाइनन् नागरिकता

विप्लव महर्जन

सल्यान — १६ वर्ष पुगेपछि हरेक नेपाली नागरिकले नागरिकता पाउनु उसको नैसर्गिक अधिकार हो । यो अधिकार नेपालको संविधानले प्रदान गरेको छ । घरमा छँदा बाबुको नामबाट र विवाह भइसकेपछि महिलाले श्रीमानको नामबाट नागरिकता पाउने गर्छन् ।

जन्मदर्ता र विवाह दर्ता नहुँदा ८२ वर्षीया पुनीले पाइनन् नागरिकता

१६ वर्षको उमेरमा नागरिकता पाउने अधिकार भए पनि जिल्लाको शारदा नगरपालिका १ शान्तीनगरमा बस्दै आएकी ८२ वर्षीया पुनी नेपालीले अहिलेसम्म पनि नागरिकता पाउन सकेकी छैनन् ।

माइती पक्षको पहिचान, जन्मदर्ता र विवाह दर्ता नहुँदा उनी अहिलेसम्म नागरिकताविहीन बन्नु परेको छ । विवाह गरेको केही समयमै उनका श्रीमान डब्बले बादी रोजगारीका लागि भारत गएर लामो समयसम्म फर्किएनन् ।

‘नागरिकता बनाउन आमालाई लिएर पटकपटक वडा कार्यालय गएको थिएँ । जन्मदर्ता, विवाह दर्ता नभएकाले नागरिकता बन्न सकेन । पहिला जन्मदर्ता हुँदैनथ्यो । बाबुले विवाह दर्ता नगरी भारत जानु भएछ । लामो समय फर्कनु भएन । वडाले पनि जन्मदर्ता र विवाह दर्ता नहुँदासम्म सिफारिस नै दिएन । वृद्ध आमा धेरै हिँडडुल गर्न सक्नु हुँदैन । लामो प्रयास गर्दा सम्भव नभएपछि दिक्क भएर आमाले नागरिकता बनाउनेतर्फ माया मार्नु भएको थियो,’ छोरी गीता नेपालीले बताइन् ।

बस्तीका अन्य सबैको नागरिकता छ । पुनीभन्दा कम उमेरका थुप्रै ज्येष्ठ नागरिकले वृद्धभत्ता बुझिरहेका छन् । डब्बले बादीले २०५५ मा जिल्ला प्रशासन कार्यालय सल्यानबाट नागरिकता लिएको देखिए पनि विवाह गरेलगत्तै बेरोजगारी समस्याले भारत गएदेखि लामो समय उतै बसेकाले पुनीको नागरिकता बनाउन नसकिएको उनको परिवारका सदस्यहरू बताउँछन् ।

शारदा नगरपालिका १ का वडाध्यक्ष प्रदिप कुमार पाण्डेले ८२ वर्षीया पुनी नेपालीको नागरिकता विषयमा वडाले सहजिकरण गर्ने बताएका छन् । अहिलेसम्म नागरिकता पाउन नसकेकी पुनीलाई छिट्टै नागरिकता दिलाउन आवश्यक प्रक्रिया अगाडि बढाउने उनले जानकारी गराए ।

जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले वडाको सिफारिस ल्याए पुनीको नागरिकता तुरुन्तै बन्ने बताएका छन् । वडाको सिफारिसबिना नागरिकता बनाउन सम्भव नहुने भएकाले श्रीमान घरमा आइसकेकाले नागरिकता दिलाउन सजिलो हुने उनले बताए ।

गीताका अनुसार बाबु डब्बले बादी हाल घर फर्किसकेका छन् । यसैले पनि आमाले नागरिकता पाउने आशा पलाएको गीता बताउँछिन् । यहाँका बादी समुदायका अधिकांश मानिसहरू माछा मारेर, बालुवा चालेर खर्चको जोहो गर्दै आएका छन् । पुनी भने धेरै बोल्न नसक्ने र हिँडडुल गर्न नसक्ने भएकाले बिहान बेलुकाको खर्च जुटाउन गाह्रो भएको छोरी गीताको गुनासो छ ।

प्रकाशित : चैत्र ३, २०७९ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?