सुर्खेतमा लागूऔषधसहित चार जना पक्राउ- कर्णाली - कान्तिपुर समाचार

सुर्खेतमा लागूऔषधसहित चार जना पक्राउ

तृप्ति शाही

वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगरमा लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–३ पाथिभारा मन्दिर नजिकबाट कोठा र जमिनमुनि गाडेको अवस्थामा १५ ग्राम ९ मिलीग्राम ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका –३ बस्ने २४ वर्षीय प्रितम शाही, वीरेन्द्रनगर- ४ बस्ने १९ वर्षका अभिषेक बस्नेत र २० वर्षका रोहन धौलाकोटी छन् । यस्तै २६ वर्षका दिपेश थापामगरलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले प्रितम शाहीको कोठा र कोठा नजिकै जमिनमुनिबाट लागूऔषध बरामद गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए । उनीहरूको साथबाट २१ हजार ९ सय ४० रुपैयाँ पनि फेला बरामद गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी ब्युरो, लागूऔषध नियन्त्रण ब्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त प्रहरीको टोलीले उनीहरुलाई समातेको हो । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनामा राखिएको छ ।

प्रकाशित : माघ २५, २०७९ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनीको राष्ट्रिय सभा उपनिर्वाचनमा मतगणना सुरू

दुर्गालाल केसी

दाङ — लुम्बिनी प्रदेशको अन्य समूहअन्तर्गत राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको मतगणना सुरू भएको छ । कर्मचारी मिलन केन्द्रमा नै मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले बताए ।

बुधबार बिहान १० बजेदेखि घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा भएको मतदान अपराह्न ३ बजे सकिएको थियो ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३ सय ५ रहेकोमा ३ सय ४ मत खसेको उनले जनाए । एक जना मतदाता अनुपस्थित रहे । रूपन्देहीको मर्चवार गाउँपालिका उपाध्यक्ष आशा सिं उपचारका लागि भारत गएकाले मतदानमा सहभागी नभएको कार्कीले जानकारी दिए । उनी प्रगतिशील पार्टीबाट निर्वाचित भएकी थिइन् ।

मतदातामध्ये प्रदेशसभा सदस्यको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुखको संख्या २ सय १८ छ । लुम्बिनी प्रदेशमा १ सय ९ पालिकाहरु छन् । प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मतभार १८ हुने निर्वाचन कार्यालयले जानकारी दिएको छ । अब केहीबेरमा मतगणना सुरू हुने निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कवरले बताए ।

नेकपा एमाले, नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । सत्ता गठबन्धनका तर्फबाट एमालेका कुमार दशौंदी, कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्तिका राजेन्द्रवीर राय उम्मेदवार छन् । सत्ता गठबन्धनका तर्फबाट दशौंदीको उम्मेदवारी दर्ता भए पनि उन्मुक्तिले असन्तुष्टि जनाउँदै छुट्टै उम्मेदवारी दिएको छ । दशौंदी र आचार्य रोल्पा निवासी हुन् भने राय बाँकेका हुन् ।

एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा निर्वाचनका क्रममा राजीनामा दिएपछि रिक्त भएको पदमा उपनिर्वाचन भएको हो । रुपन्देहीका भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन राष्ट्रिय सभा सदस्य छोडेका थिए । उनले रुपन्देही–५ बाट उम्मेदवारी दर्ता गरेका थिए । उनीभन्दा पहिला एमालेबाटै तिलोत्तमा नगरपालिकाका पूर्वप्रमुख बासुदेव घिमिरेको उम्मेदवारी दर्ता भएका कारण भट्टराईको उम्मेदवारी खारेज भएको थियो ।

प्रकाशित : माघ २५, २०७९ १६:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×