फरेस्टरसहित ६ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दर्ता- कर्णाली - कान्तिपुर समाचार

फरेस्टरसहित ६ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दर्ता

विप्लव महर्जन

सल्यान — सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको कालिमाटी गाउँपालिकास्थित सब–डिभिजन वन कार्यालयका फरेस्टर जयपृथ्वीराज बुढाथोकीसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सबडिभिजन वन कार्यालय कालिमाटीका फरेस्टर बुढाथोकीसहित सहायक वन अधिकृत मनोज शर्मा लम्साल, महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर कुँवर, कोषाध्यक्ष जुद्धकुमारी ओली, सचिव पुष्पा ओली खासु मगर र दुर्गा ट्रेडर्स एन्ड सप्लायर्सका सञ्चालक दुर्गाप्रसाद ओलीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तुलसीपुर–पुरन्धारा–बोटेचौर सडकखण्ड स्तरोन्नति गर्ने क्रममा काटिएका सामुदायिक वनका रुख बिक्री गरी अनियमितता गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारले उनीहरूलाई १ लाख ८७ हजार ८ सय ७७ रुपैयाँदेखि २ लाख ६८ हजार ५ सय ६१ रुपैयाँसम्म बिगो भराउन माग गरेको छ ।

प्रकाशित : माघ २५, २०७९ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्

लागूऔषधसहित ३ जना पक्राउ

शंकर आचार्य

पर्सा — प्रहरीले मालवाहक ट्रकबाट प्रतिबन्धित लागूऔषधसहित ३ जनालाई वीरगन्जबाट पक्राउ गरेको छ । मंगलबार साँझ ६ बजे वीरगन्ज महानगरपालिका २५ स्थित सिर्सिया सुक्खा बन्दरगाह गेटबाट उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका ९ मा बस्ने ट्रक चालक ४२ वर्षीय निर्मल पौडेल, ४० वर्षीय रमेश थापा, २९ वर्षीय सुदर्शन खड्का छन् । प्रदेश २–०३–००१ क १९३४ नम्बरको ट्रकबाट उनीहरू पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय श्रीपुर पर्साका प्रहरी निरीक्षक डिल्लीराज सापकोटा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न सवारी साधनहरूलाई जाँच गर्ने क्रममा उक्त ट्रकलाई रोकी जाँच गर्दा ट्रकको चालक बस्ने सिटमुनि सेतो प्लास्टिकको बोराभित्र लुकाइछिपाई ल्याएको प्रतिबन्धित लागूऔषध ओनरेक्स १ सय एमएलको १ सय ६६ बोत्तल र कोडिवेल कफ सिरप ५७ बोतल गरी कुल २ सय ३ बोतल फेला परेको थियो ।

प्रकाशित : माघ २५, २०७९ १३:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×