प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन

केन्द्रमा कार्यरत डाक्टर अध्ययन बिदामा गएपछि ३ वर्षदेखि अहेबको भरमा
विप्लव महर्जन

सल्यान — छत्रेश्वरी–४ लेखपोखरामा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १३ वर्ष भयो । तर, केन्द्र डाक्टरविहीन हुँदा बिरामी उपचारका लागि सदरमुकाम आउन बाध्य छन् । प्राथमिक स्वास्थ्य केन्द्र अहेबको भरमा छ ।

छत्रेश्वरी, दमाचौर, झिम्पे र शारदा नगरपालिका–१३ स्यानीखालका स्थानीयलाई उपचार सुविधा दिन लेखपोखरामा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिएको थियो । २०६४ मा केन्द्र स्थापना गरिएको हो । केन्द्रमा कार्यरत डाक्टर अध्ययन बिदामा गएपछि ३ वर्षदेखि अहेबको भरमा रहेको स्थानीय शेरबहादुर बस्नेतले बताए । उनका अनुसार केन्द्रमा एक्सरे मेसिन जडान गरेको ३ वर्ष पुगे पनि सञ्चालनमा आउन सकेको छैन ।

‘एक्सरे सञ्चालनमा नआउँदा निजी मेडिकल र जिल्ला अस्पतालमा उपचारका लागि जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘स्वास्थ्यचौकी सरहको सुविधासमेत नहुँदा सामान्य बिरामी पनि सदरमुकाम जानुपर्ने बाध्यता छ ।’ उनले प्रसूति सेवा पनि भरपर्दो नभएको गुनासो गरे ।

डाक्टरको दरबन्दी पूर्ति नहुँदा विभिन्न उपकरण थन्किएको स्थानीय दिलाराम बोहराले बताए । ‘सामान्य औषधिसमेत पाइँदैन,’ उनले भने, ‘केन्द्रभन्दा मेडिकलकै भर छ ।’ केन्द्र स्थापनाका लागि लामो संघर्ष गरेको उनले बताए । केन्द्र त्रिवेणी गाउँपालिकाको लुहाममा स्थापना गर्ने चलेपछि स्थानीयले आन्दोलन नै गरेका थिए ।

केन्द्रमा उपचारका लागि गए पनि पर्याप्त औषधि, उपकरण र डाक्टर नहुँदा समस्या हुने गरेको स्थानीय धनबहादुर पुनले बताए । ‘स्वास्थ्यकर्मीले रुघाखोकी र ज्वरोबाहेक अरू रोगको स्वास्थ्य परीक्षण नै गर्दैनन्,’ उनले भने, ‘न अस्पतालमा औषधि हुन्छ ।’ केन्द्रमा बल्लबल्ल १० वर्षपछि आएका डाक्टर पनि अध्ययन बिदामा गएपछि उपचारमा समस्या भएको उनको गुनासो छ । उनले नाम मात्रको केन्द्र हुँदा बिरामीले सहज उपचार पाउन नसकेको बताए । उनका अनुसार गर्भवतीहरू पनि सुत्केरी हुन जिल्ला अस्पताल पुग्न बाध्य छन् ।

केन्द्रका निमित्त इन्चार्ज वीरबहादुर ओलीले डाक्टरसहित ९ जनाको दरबन्दी रहेको पनि एचए र स्टार्फ नर्सकै दरबन्दी पूर्ति हुन नसकेको बताए । उनका अनुसार अहिले केन्द्रबाट बिरामीको स्वास्थ्य परीक्षण, प्रसूति र ल्याब सेवा सञ्चालन भइरहेको छ । ‘विकट क्षेत्र भएकाले डाक्टर आउनै मान्दैनन्,’ उनले भने, ‘गाउँपालिकाले १५ शय्याको अस्पताल निर्माणको प्रक्रिया अघि बढाएको छ, पूरा भए यही गुणस्तरीय उपचार पाइनेछ ।’ केन्द्र व्यवस्थापन समितिका अध्यक्ष एवं ४ नम्बर वडाध्यक्ष लीलाधर घर्तीले डाक्टरको माग गर्दै विभिन्न निकायको ध्यानाकर्षण गराए पनि बेवास्ता भइरहेको बताए ।

त्यस्तै, दार्मा, कुमाख र बाग्चौर नगरपालिकाका स्थानीयको स्वास्थ्य उपचार सहज गराउन बाग्चौर नगरपालिकाको थारमारेमा २०६२ मा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भयो । सरकारले एक विज्ञ डाक्टरसहित एचए, स्टार्फ नर्सलगायत स्वास्थ्यकर्मीका लागि दरबन्दीको व्यवस्था गर्‍यो । तर प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ वर्ष बित्दासमेत बाग्चौरमा पनि डाक्टर आएका छैनन् ।

प्रकाशित : माघ २५, २०७९ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्

बबइमा पानी छ, छेउकै खेतमा हुँदैन सिञ्चाइ

विप्लव महर्जन

सल्यान — कालिमाटी गाउँपालिका ७ काप्रेचौरको घुइयाबारीका ५५ वर्षीय भोलाप्रसाद बुढाको घर नजिकैबाट बबइ नदी बगिरहेको छ । बबइ नदीको ५० मिटर दूरीमा उनको २ बिघा खेत छ । खेत नजिकै भएर नदी बगिरहे पनि उनले अहिलेसम्म खेतमा सिञ्चाइ गर्न भने पाएका छैनन् ।

खेतमा बालीनाली लगाउँदा सधैँ आकासे पानीकै भर पर्न बाध्य छन् उनी । सिञ्चाइ नभएकै कारण उनको आधा जमिन बाँझै छ भने अधिकांश जग्गा बिक्री गरिसके ।

स्थानीय ४८ वर्षीय रातो बस्नेतको पनि यस्तै अवस्था छ । सिञ्चाइ व्यवस्था भए दुई बाली धान लगाउन सकिने भए पनि सम्बन्धित निकायले आयोजनाका लागि कुनै चासो नदेखाउँदा उनी आफ्नो १६ रोपनी जग्गामा गहुँ, मकै र मसुरो मात्र लगाउन बाध्य छन् । परिवारको गर्जो टार्न पर्याप्त जग्गा भए पनि उनी सधैँ भारतबाट आयातित खाद्यान्नको भरमा सीमित रहेका छन् । त्यससँगै परिवारको जीविकोपार्जनका लागि भारतका विभिन्न स्थानमा मजदुरीका लागि जान बाध्य छन् उनी ।

घुइयाबारीका यी दुई किसान मात्र नभई खेतीयोग्य जग्गा नजिकै बबइ नदी बग्दै आए पनि कालिमाटी गाउँपालिका ७ काप्रेचौरको घुइयाबारी, हाउखोला, –याङ, स्वामिवास, आम्वास, कुसुमतारा, हात्तीढुंगाका किसान आफ्नो २ सय ८२ हेक्टर खेतीयोग्य जग्गामा खेती गर्नका लागि सधैँ आकाशे पानीको भर पर्न बाध्य छन् । यस क्षेत्रमा २०६४ मा सिञ्चाइ आयोजना संचालन गरिए पनि बबई नदीमा आएको बाढीले २०७२ मा तहसनहस बनाएपछि ०७४ मा पालिकाले ३१ लाख बजेटमा लिफ्ट सिञ्चाइ योजना संचालन गरेको थियो ।

तर दुई वर्ष नबित्दै उक्त लिफ्ट पनि बिग्रिएपछि किसानहरू आकाशे पानीको भर पर्न बाध्य भएका छन् । साथै बबइ किनारको खेतीयोग्य जमिन जर्जर बन्दै गएको स्थानीय किसानहरूको गुनासो छ । तर यस क्षेत्रका खेतमा सिञ्चाइका लागि स्थानीय सरोकार पक्ष र राजनीतिक दलका नेताहरूले सिञ्चाइ आयोजनाका लागि पटकपटक छलफल गर्दै आएका छन् ।

'सिञ्चाइ आयोजना पार्नका लागि आग्रह गर्दै आए पनि अहिलेसम्म साना योजनासमेत नपर्दा आफूहरु समस्यामा परेको र खेती गरेर जीविकोपार्जन गर्ने वातावरण नहुँदा खेतीयोग्य जग्गा बाँझै राख्नु पर्ने अवस्था आएको घुइयाबारीका पूर्णबहादुर सिजालीले बताए । ‘बबइ नदीको नजिकै मेरै आफन्तको २० देखि ४० रोपनी खेत छ । त्यसमा दुई बाली मात्र अन्न फलाउन सके सबै किसान परिवारलाई सात/आठ जना परिवारलाई वर्षभर गुजारा चलाउन सजिलै पुग्छ । त्यत्ति मात्र नभई बढी भएर बिक्री समेत गर्न पुग्छ । तर सिञ्चाइको अभाव र जंगली जनावरले पाकेको बालीमा क्षति पुर्‍याउँदा अधिकांशलाई परिवारको गुजारा चलाउन भारतका विभिन्न ठाँउमा जानुपर्ने बाध्यता छ,’ सिजालीले भने ।

आम्वासका नारायण सुनार भने सिञ्चाइ योजना नहुँदा बबइ नदीमा प्रसस्त पानी भए पनि माछा मार्नका लागि मात्रै उपयोगी हुने बताउँछन् । पालिकाले विकासको नाममा सडकको मात्र काम गर्दै आएकाले पनि सिञ्चाइ योजना ओझेलमा परेको उनको गुनासो छ ।

घुइयाबारी लगायत आसपासका क्षेत्रमा प्रसस्त मात्रामा खेतीयोग्य जग्गा भए पनि सिञ्चाइको अभावमा ३५ प्रतिशतभन्दा बढी जग्गा त्यत्तिकै बाँझै रहेको कालिमाटी गाउँपालिका ७ का वडा अध्यक्ष मित्रलाल सुनारले बताए । पालिकाले वडाका लागि छुट्याएको सीमित बजेट दुई/चार योजनाको काम गर्दैमा सकिने र प्रदेश तथा संघले योजना तोकेर बजेट विनियोजन नगर्दा किसानहरु समस्यामा परेको उनको भनाइ छ ।

उनका अनुसार पालिकाले २०७४ मा ३१ लाख खर्च गरेर २५ बिगाहा खेतमा सिञ्चाइ गर्न सौर्य लिफ्ट सिञ्चाइ योजनाको काम गरेको थियो । योजना सम्पन्न भएदेखि दुई वर्ष किसानले खेतमा सिञ्चाइ त गरे । तर बिग्रेको मोटर नबनाउँदा अहिले त्यत्तिकै थन्किएको छ । त्यसपछि अन्य कुने योजना नपरेको स्थानीयहरूको गुनासो छ ।

खानेपानी सिञ्चाइ तथा उर्जा विकास कार्यालय सल्यानका प्रमुख पदमराज देवकोटाले २०६४ मा झन्डै ३ सय हेक्टर खेतीयोग्य जग्गा सिञ्चाइ गर्न निर्माण गरेको योजना बबइ नदीको बाढीले तहसनहस पारेको र पुनर्निर्माणका लागि थप बजेट नआई योजना नै रद्ध भएको बताए ।

प्रकाशित : माघ २४, २०७९ १५:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×