कृषिमा रमाउँदै पुराना राजनीतिकर्मी- कर्णाली - कान्तिपुर समाचार

कृषिमा रमाउँदै पुराना राजनीतिकर्मी

विप्लव महर्जन

सल्यान — एकीकृत समाजवादीका केन्द्रीय सदस्य बाग्चौर नगरपालिका–९ डाँगीगाउँका ५२ वर्षीय लोकबहादुर डाँगी जिल्लाका पुराना नेता हुन् । पार्टीको कर्णाली सहइन्चार्ज उनी राजनीतिसँगै कृषिमा रमाइरहेका छन् ।

उनी पार्टीका गतिविधिमा सहभागी नभएको दिन बिहान सबेरैदेखि राति अबेरसम्म आफ्नो सुन्तलाबारीमा व्यस्त रहन्छन् । २०६७ देखि व्यवसायिक सुन्तला खेतीमा लागेका उनले २४ रोपनी जग्गामा ९ सय सुन्तला बोट लगाएका छन् । तीन वर्षदेखि उनले नर्सरीमा बेर्नासमेत उत्पादन गरेका छन् । सुन्तलाबाटै उनले गत वर्ष २० लाख रुपैयाँ आम्दानी गरे । यो वर्ष करिब १५ लाख रुपैयाँका सुन्तला बिक्री गरिसकेका छन् । उनको बारीमा अझै करिब २ सय बोटका सुन्तला टिप्न बाँकी छ । व्यापारीहरू बारीमा आई प्रतिक्विन्टल ६ देखि ७ हजार रुपैयाँमा सुन्तला किन्ने गरेका छन् । उनले अहिलेसम्म २ सय १५ क्विन्टल सुन्तला बिक्री गरिसकेका छन् । अझै करिब १ सय क्विन्टल सुन्तला टिप्न बाँकी छ ।

डाँगीले सुन्तला खेती र नर्सरीका लागि अहिलेसम्म करिब ५० लाख रुपैयाँ खर्च गरिसकेका छन् । उनले अहिले पनि बारी खनजोत गर्ने, खाडल खन्ने, बगैंचा गोडमेल गर्ने, सिँचाइ गर्नेजस्ता काम आफैं गर्दै आइरहेको बताए । सिजनका बेला दैनिक १० जनासम्मलाई रोजगारी दिइरहेको उनको भनाइ छ । व्यावसायिक सुन्तला खेतीमा लागे पनि राजनीतिमा खासै असर नपरेको उनले बताए । उनी ०४३ सालदेखि राजनीतिमा लागेका हुन् । माले हुँदै लामो समय एमालेको राजनीति गरेका उनी तत्कालीन सशस्त्र द्वन्द्वको समय ०५४ सालमा झन्डै एक दशक विस्थापित भएर सदरमुकाम बसे ।

‘राजनीतिबाट परिवार पाल्न गाह्रो भएपछि व्यवसाय गरे, त्यसबाट खासै परिवर्तन आएन,’ उनले भने, ‘जीविकोपार्जन गर्न कठिनाइ भएपछि बाबुआमाले अँगालेकै कृषि व्यवसायलाई निरन्तरता दिएको हुँ ।’ उनले ०६७ देखि खाद्यान्न उत्पादन हुने जग्गालाई सुन्तलाबारीमा परिणत गरे । उनले सुन्तला खेतीबाटै ११ जनाको परिवार सजिलै पाल्दै आएको बताए । उनको बगैंचामा चार युवाले नियमित रोजगारी पाइरहेका छन् । उनले गत वर्ष मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारसमेत पाएका थिए । ‘जेजति गरे सबै मेरो परिश्रमबाट भएको हो, राजनीति गरे पनि अहिलेसम्म सरकारी निकायबाट एक रुपैयाँ पनि अनुदान लिएको छैन,’ उनले भने, ‘आफ्नै जग्गामा मिहिनेत गरेर व्यावसायिक कृषि गर्न सके न विदेश जानुपर्छ न अरू जागिरकै भर पर्नुपर्छ, मेरै प्रेरणाले गाउँ आसपासका झन्डै २ दर्जन युवाले सुन्तलाखेतीलाई नै व्यावसायिक बनाएका छन् ।’

प्रकाशित : माघ २४, २०७९ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्

मधेस प्रदेश सरकारमा माओवादी सहभागी हुँदै

सन्तोष सिंह

धनुषा — नेकपा माओवादी केन्द्र मधेस प्रदेश सरकारमा सहभागी हुँदै छ । मंगलबार तेस्रोपटक विस्तार हुन लागेको मन्त्रीपरिषद्‌मा माओवादी केन्द्रबाट एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिने सहमति भएको माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले बताए ।

प्रदेश सरकारमा उद्योग पर्यटन तथा वनमन्त्रीमा माओवादीकी सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई मंगलबार १ बजे शपथ गराउने सहमति भएको साहले बताए ।

यसअघि माओवादीले सरकारमा दुई मन्त्रालय पाए मात्रै सरकारमा सहभागी हुने अडान राखेका थिए । दुई मन्त्रालय नपाएकै कारण माओवादी केन्द्र सरकारमा सहभागी भएको थिएन ।

प्रकाशित : माघ २४, २०७९ ०९:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×