१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कालीमाटीको आफ्नै पाठ्यक्रम

विप्लव महर्जन

सल्यान — कालीमाटी गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि आफ्नै पाठ्क्रम पढाउने भएको छ । स्थानीय पाठयक्रममा स्थानीय कला, संस्कृति, साहित्य, भाषा, रीतिरिवाज, धर्म, कृषि, वन समावेश छ । स्थानीय पर्यटकीय स्थल, भौगोलिक पहिचान, जातीय विविधता पहिचानलगायत पाठ्यक्रममा समेटिएको पालिकाले जनाएको छ । स्थानीय पाठ्यक्रमको नाम ‘कालीमाटी गाउँपालिकाको सेरोफेरो’ छ ।

कालीमाटीको आफ्नै पाठ्यक्रम

स्थानीय विषयवस्तु समेटेर १ देखि १० सम्म पाठ्यक्रम लागू गर्न पाउने राष्ट्रिय पाठयक्रम–२०७६ मा उल्लेख छ । हाललाई १ देखि ८ कक्षासम्म लागू गर्न स्थानीय पाठयक्रम निर्माण गरिएको कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए । उनका अनुसार कालीमाटी गाउँपालिकाभित्र ५२ सामुदायिक विद्यालय छन् । आधारभूत तहमा झन्डै ४ हजार विद्यार्थी अध्ययनरत छन् ।

स्थानीय पाठ्यक्रमले सबै आधारभूत विद्यालयका बालबालिकालाई स्थानीय संस्कार, रीतिरिवाज, पर्यटकीय स्थल, भौगोलिक बनावट, जैविक विविधतालगायत विषयमा जानकारी गराउने उनको भनाइ छ । उनले स्थानीय सम्पदाको संरक्षणमा पनि स्थानीय पाठ्यक्रमको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

पाठ्यक्रम निर्माणका लागि पालिकाले करिब १० लाख रुपैयाँ खर्च गरेको छ । झन्डै १० लाख रकम विभिन्न दातृ निकायबाट खर्च भएको छ । केन्द्रीयस्तरमा निर्माण भएको पाठ्यपुस्तक मात्र पढ्दा विद्यार्थीले आफ्नै गाउँघरमा हुने गतिविधि, संस्कार, संस्कृतिबारे थाह पाउन नसकेकाले स्थानीय पाठ्यक्रम आवश्यक रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा शिक्षक कमल शर्माले बताए । स्थानीय पाठ्यक्रम १ सय पूर्णांकको हुने गाउँपालिकाका शिक्षा शाखा प्रमुख भरत चन्दको भनाइ छ । ‘बालबालिकाहरू बाहिरका विषयवस्तुमा बढी आकर्षित हुँदा आफ्नो संस्कार, रीतिरिवाज, भाषा र भेषभूषा भुल्न थाले,’ उनले भने, ‘स्थानीय पाठ्यक्रमले स्थानीय सम्पदाको संरक्षणमा पनि टेवा पुर्‍याउनेछ ।’ सल्यानका १० स्थानीय तहमध्ये अहिलेसम्म त्रिवेणी गाउँपालिकाले मात्र स्थानीय पाठ्यक्रम तयार गरी पठनपाठन गराइरहेको छ ।

प्रकाशित : माघ २२, २०७९ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?