कालीकोटमा अटो दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते- कर्णाली - कान्तिपुर समाचार

कालीकोटमा अटो दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

तुलाराम पाण्डे

कालीकोट — कालीकोटको तिलागुफा-५ खल्लागाडमा शुक्रबार दिउसो अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । हिमा गाउँबाट जुम्ला र कालीकोटको सिमाना नाग्म बजार हुँदै जुविथाको गाल्जे आउँदै गरेको भे १ ह ५९२२ न. को अटो खल्लागाड मोडमा दुर्घटना भएको कालीकोटका डिएसपी जयश्वर रिमालले बताए ।

कर्णाली राजमार्गको जुविथा गाल्जे नाग्म सडकखण्डमा पर्ने खल्लागाड मोडमा अनियन्त्रित भई अटो दुर्घटना हुँदा जुम्ला हिमा-६ का ३५ वर्षीय विर्षबहादुर शाहीको मृत्यु भएको छ भने उनकी पत्नी २९ वर्षीया तारा शाही र ५ वर्षीय छोरा गौरव घाइते छन् । घाइतेलाई थप उपचारका लागि जुम्लास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

लास पनि पोस्टमार्टमका लागि जुम्ला पठाइएको डिएसपी रिमालले बताए । घटनास्थलबाट मृतकको शव प्रहरीले उठाएर एम्बुलेन्समा राखेको भन्दै घटनास्थल केही समय तनावग्रस्त भएको थियो ।

अटो चालक जुम्ला हिमा-४ का ऐमान बुढालाई खल्लागाड प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । तीव्रगतिका कारण मोडमा अटो पल्टिएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

यहाँको तिलागुफा-६ गाल्जेमा गत माघ १५ गतेदेखि सत्यदेवीको सम्झानामा लाग्ने १२ वर्षे मेला हेर्न शाही परिवार जुम्लाबाट आउँदै थिए । मेला २२ गतेसम्म संचालन हुनेछ ।

प्रकाशित : माघ २०, २०७९ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्

दलितको अपमान हुने गरी सामाजिक सञ्जालमा लेख्‍नेविरुद्ध मुद्दा

डीबी बुढा

जुम्ला — सामाजिक सञ्जाल फेसबुकमा दलित समुदायलाई लक्षित गर्दै स्टाटस लेख्ने जुम्ला सिंजाका गौरीलाल जैसीविरुद्ध जातीय विभेद्‍विरुद्धको मुद्दा दर्ता भएको छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ अनुसार मुद्दा दर्ता भएको दलित सेवा संघ जुम्लाका अध्यक्ष भीमबहादुर सार्कीले जानकारी दिए ।

उनका अनुसार जैसीले फेसबुकमा दलित समुदायमाथि अपमानित शब्द प्रयोग गर्दै आफू 'उच्च' जातिको बाहुन भएको स्टाटस लेखेका थिए । गौरी तिमल्सेना नामको फेसबुक आइडीबाट लेखेको स्टाटस उनले अहिले डिलिट गरिसकेका छन् ।

सिंजा गाउँपालिका –२ घोडेङ्गाका जैसीले माघ १६ गते लेखेको स्टाटसले सिंगो जुम्ली दलित समुदायले विभेद्‍ महसुस गरेको भन्दै कारबाहीको समेत माग गरिएको थियो । जैसीको स्टाटसलाई लिएर दलित अधिकारकर्मीले कारबाहीको माग गरी मुद्दा दायर गर्न जाहेरी दिएका हुन् । अध्यक्ष सार्कीले भने,‘प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको २४ घण्टापछि मुद्दा दर्ता भएको हो ।’

दलित समुदायमाथि हुने विभेद्‍ कदापी सैह्य नहुने भन्दै जैशीले लेखेको फेसबुक स्टाटसले जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ आकर्षित हुने भएकाले कानुन बमोजिमको माग गर्न मुद्दा दिनुपरेको उनको भनाइ छ ।

’अब हामी कुनै पनि हालतमा पछि हट्दैनौं। दोषीलाई कानुनी कठघरामा नल्याउँदासम्म छोड्दैनौं,’ उनले भने, ‘फेसबुकमा जथाभावी लेख्नेको कसैसँग व्यक्तिगत रिसइबी हुन सक्छ। तर ती दलित लक्षित अपमानका शब्दले सिंगो समुदायलाई असर पारेको छ । जसकारण जैसीले कानुनी सजाय भोग्नुपर्छ भन्ने हाम्रो माग हो ।’

मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जैसीले 'जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८’ को दफा ४ उपदफा (१) र (२) को (ख) विपरीत कार्य गरेको दलित अधिकारकर्मीहरुले बताएका छन् ।

'कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव गरी सार्वजनिक वा निजी स्थानमा प्रवेश गर्न, उपस्थित हुन वा भाग लिन, निषेध गर्ने वा कुनै किसिमले रोक, नियन्त्रण वा प्रतिबन्ध लगाउने, व्यक्तिगत वा सामूहिक रुपमा सार्वजनिक स्थान वा समारोहबाट निष्काशन, सामाजिक बहिष्कार वा कुनै प्रकारको भेदभाव गर्ने वा त्यस्तो कार्यमा प्रतिबन्ध लगाउने वा अन्य कुनै किसिमको असहिष्णु व्यवहार प्रदर्शन गर्ने गरेमा छुवाछुत गरेको ठहर्छ,' ऐनको दफा ४ मा उल्लेख छ ।

यस्तो कार्य गरेको ठहरेमा ऐनको दफा ४ को उपदफा १ र २ अनुरुप कसूर गर्ने व्यक्तिलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुनसक्छ भने दफा ९ को उपदफा १ बमोजिम अदालतले कसूरदारबाट पीडितलाई दुई लाख रुपैयाँसम्म क्षतिपूर्ति भराइदिनुपर्ने हुन्छ ।

त्यतिमात्र नभइ सोही ऐनको दफा ५ मा दफा ४ बमोजिमको कसूर कसैले गरेको वा गर्न लागेको थाहा पाउने कुनै अर्काे व्यक्तिले समेत नजिकको प्रहरी कार्यालयमा तोकिए बमोजिम उजुर गर्नसक्ने प्रावधान छ । यो प्रावधान अनुसार दलित सेवा संघ जुम्लाका अध्यक्ष सार्कीले आफैं अदालत जान तयार रहेको बताए ।

साथै सामाजिक सञ्जालमा दलित समुदाय लक्षित अपमानका शब्दावली प्रयोग गरेको हुँदा साइबर क्राइम अन्तर्गत मुद्दा समेत आकर्षित हुने राष्ट्रिय दलित आयोगले जनाएको छ । जैसीले फेसबुकमा स्टाटस लेखेपछि जुम्लाका दलित अगुवाहरु भेला भएर त्यसको विरोधमा प्रेस विज्ञप्ति समेत जारी गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी नरेन्द्र चन्दले जातीय विभेद विरुद्धको मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको बताएका छन् । फेसबुकमा जातीय भेदभाव गर्ने जैसीविरुद्ध खोजी कार्य सुरु भइसकेको बताए ।

प्रकाशित : माघ २०, २०७९ १७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×