१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

लागूऔषध नियन्त्रण गर्न अभियान

जुम्ला — लागूऔषधको सेवन र कारोबार बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालयले लागूऔषध नियन्त्रण अभियान सुरु गरेको छ । प्रत्येक स्थानीय तहका सबै वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरी प्रहरीले अभियान सुरु गरेको हो ।

कक्षा ८ देखि १२ सम्मका झण्डै ५ प्रतिशत विद्यार्थीहरू लागूऔषधको लतमा फसेको प्रहरीको तथ्यांकले देखाएको छ ।

लागूऔषध कारोबार र सेवनमा युवापुस्ताको संलग्नता बढेको प्रहरीको ठहर छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नरेन्द्र चन्दले हरेक विद्यालय र एसईई दिने विद्यार्थीलाई बढी सचेत बनाउन अभियान सञ्चालन गरिएको बताए । ‘जुम्ला लागूऔषध कारोबार र सेवनको केन्द्र बनिसकेको छ, यसको नियन्त्रणमा सबै लाग्नु पर्ने देखियो,’ उनले भने, ‘त्यसैले हरेक पालिकामा सचेतना फैलाउने अभियान सुरु गरेका हौं ।’

स्थानीय तहसँगको समन्वयमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत अभियान सुरु गरिएको हो । पहिलो चरणमा सिंजा गाउँपालिकाबाट लागूऔषध नियन्त्रण अभियान सुरु भएको डीएसपी चन्दले बताए । उनका अनुसार परिवार तथा अभिभावकको हेलचक्र्याइ र निगरानी अभावमा किशोरकिशोरी लागूऔषधको लतमा फस्दै जान थालेका छन् । उनका अनुसार लागूऔषधको लतमा फस्नेहरूमा सबैभन्दा बढी १८ देखि ४० वर्षसम्म युवा छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो ३ वर्षमा १८ देखि ४० वर्ष उमेर समूहका ४४ जनालाई नियन्त्रणमा लिइ मुद्दा चलाएको छ । यो वर्ष मात्रै १८ वर्षमुनिका ३ जनालाई नियन्त्रणमा लिइ अभिभावकको जिम्मा लगाइएको प्रहरीको भनाइ छ । चालु आर्थिक वर्षमा ब्राउन सुगर र चरेसका ४ वटा मुद्दा दर्ता भएका छन् । उक्त मुद्दामा २ जना नियन्त्रणमा छन् ।

प्रहरीको निगरानी बढेसँगै प्रयोगकर्ता पक्राउ पर्ने र मुद्दासमेत अघि बढ्ने गरेको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए । उनका अनुसार ब्राउनसुगर र चरेस गरी जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा गरी ५ र २०७८/७९ मा ७ वटा मुद्दा दर्ता भएका छन् ।

प्रकाशित : माघ २०, २०७९ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?