१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रदेश प्रहरीको सुरक्षित कर्णाली अभियान

ज्योति कटुवाल

वीरेन्द्रनगर, सुर्खेत — कर्णाली प्रदेश कार्यालयले सबै नागरिकलाई सबै घटनाबाट सुरक्षित राख्न ‘सुरक्षित कर्णाली’ अभियान सुरु गर्न लागेको छ । कर्णालीका १० जिल्लाका नागरिकलाई विभिन्न अपराध, दुर्घटना, प्रकोपलगायतबाट सुरक्षित बनाउन यो अभियान सुरु गर्न लागिएको हो । 

प्रदेश प्रहरीको सुरक्षित कर्णाली अभियान

कर्णालीमा पछिल्लो समय लागुऔषध, आत्महत्या, सडक दुर्घटना चोरी, लुटपाटलगायत घटना बढ्दै गएका छन् । २०७७ सालयता अदालतमा मुद्दा चल्नेगरी ३० हजार ९ सय ५८ वटा विभिन्न घटनाहरु घटेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ‘सबै अपराध र दुर्घटनालाई एउटै छातामा राखेर न्यूनीकरण गर्न अभियान आवश्यक देखियो,’ कर्णाली प्रदेश प्रमुख डीआईजी भीमप्रसाद ढकालले भने, ‘प्रहरीले मात्र न्यूनीकरण गर्न सक्दैन, त्यसैले सरोकारवाला निकायलाई पनि अभियानमा सहभागी गराइनेछ ।’ उनले त्यसका लागि कार्ययोजना निर्माण तथा स्थानीय र प्रदेश सरकारसँग आवश्यक समन्वयको काम भइरहेको बताए ।

डीआईजी ढकालका अनुसार गत वर्ष मात्रै ज्यानसम्बन्धी ७ हजार १ सय ५५, आत्महत्यासम्बन्धी ६ हजार २ सय ४१, संगठित अपराधसम्बन्धी ४ हजार १ सय ८ र महिला तथा बालबालिकासम्बन्धी ४ हजार ९३ घटनाहरु घटेका छन् । ‘क्रमशः घटनाहरू बढ्दै गएकाले मातहतका निकायमार्फत न्यूनीकरण अभियान सञ्चालन भइरहेका छन्, तर घटना नै घट्न नदिने गरी हाम्रो अभियान सुरु हुन थालेको हो,’ उनले भने, ‘अपराध भइसकेपछि कानुनी कारबाही गर्नुभन्दा अपराध नै हुन नदिनु उत्तम हो ।’

प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीमा कम जनशक्ति हुँदा कामकारबाहीमा समस्या परिरहेको छ । प्रदेशमा ६ हजार २ सय ७९ जनाको दरबन्दी भए पनि ५ हजार ४ सय ९८ जना मात्र कार्यरत छन् । जनसंख्या वृद्धिसँगै यहाँ सडक, सवारी र आपराधिक घटना बढिरहेका भए पनि जनशक्ति कम भएकाले परिचालन गर्न समस्या भएको डीआईजी ढकालले बताए ।

कर्णालीमा लागूऔषध कारोबार, प्रयोगकर्ता धेरै छन् भन्ने सुनिएको छ । सडकको अवस्था नाजुक, सिट क्षमताभन्दा बढी यात्रु, बसपार्क यात्रुलाई ठगी, चोरीका घटना र आत्महत्या घटना बढ्नुलगायत समस्याहरू बढिरहेका छन् । डीआईजी भीमप्रसाद ढकालले कर्णालीमा सुरक्षा अभियान सुरु गर्ने बताए । कर्णालीमा हुनुपर्ने प्रहरीका कार्यालयहरू लम्बिनी प्रदेशबाट सञ्चालित कार्यालयहरू कर्णालीमा आफ्नो कार्यकालमा ल्याउन प्रतिबद्धता जनाए । उनले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, कर्णाली दंगा नियन्त्रण, संघीय प्रहरी कार्यालय, अनुसन्धानका लागि कुकुर शाखा र प्रहरी ब्यान्डलगायत कार्यालयहरू लुम्बिनी प्रदेशको कोहोलपुर र नेपालगन्जबाट कर्णाली ल्याउन आफ्नो प्रयत्न रहने बताए ।

प्रकाशित : माघ १९, २०७९ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?