श्रीमान् हत्या आरोपमा पाँच वर्षपछि श्रीमती पक्राउ- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीमान् हत्या आरोपमा पाँच वर्षपछि श्रीमती पक्राउ

हरिहरसिंह राठौर

जाजरकोट — जाजरकोटमा श्रीमान्‌को हत्या आरोपमा पाँच वर्षपछि श्रीमती र उनका छोरा पक्राउ परेका छन् । भेरी नगरपालिका-६ पुन्मोका ४७ वर्षीया काले कामीको घरायसी झगडापछि हत्या आरोपमा मंगलबार श्रीमती भद्रकला र छोरा तुल्सीरामलाई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटमा राखिएको छ । 

२०७४ पुस ३० मा भद्रकलाले लट्ठीले हान्दा काले कामीको मृत्यु भएको र भद्रकला, उनका छोराहरू गोविन्द विक, तुल्सीरामले घर नजिकै शौचालयमा शव पुरिदिएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

कंकाल पनि शौचालयमा पुरिएको अवस्थामा मंगलबार प्रहरीले फेला पारेको जाजरकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेर शौचालयको खाडल उत्खनन गर्दा कामीको कंकाल भेटिएको हो ।

पुरै दाँत सहितको खप्पर (टाउको), प्लास्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र सोही ज्याकेट पाइन्टभित्र मानव कंकाल हड्डीहरू फेला परेको डिएपी निरौलाले बताए । डिएनए परीक्षणका लागि कंकाल विधिविधान प्रयोगशालामा पठाइने प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ १८, २०७९ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्

कर्णालीमा ६ महिनायता ४१ सुत्केरीको उद्धार

हरिहरसिंह राठौर

सुर्खेत — नेपाली सेनाले कर्णाली प्रदेशमा मात्रै चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा विकट बस्तीबाट ४१ जना कठिन अवस्थाका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको छ । 

अन्य निजी हेलिकोप्टरलगायत हवाई साधन कर्णाली प्रदेशमा तैनाथ नरहनुले पनि सुदूर र कर्णाली प्रदेश हरेक उद्धारजन्य कार्यमा नेपाली सेनाकै भर पर्नु परेको हो । सुर्खेतस्थित उत्तर पश्चिम पृतनाले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत कर्णालीका विकट जिल्लाहरूबाट तत्काल हवाई उद्धार नगरे ज्यानै जोखिममा पर्न सक्ने गर्भवती तथा सुत्केरी महिलाहरूलाई हेलिकोप्टरबाट उद्धार गरेको हो ।

आइतबार पृतना कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा हेडक्वार्टरको अर्धवार्षिक कार्यप्रगति विवरण प्रस्तुत गर्दै पृतना प्रमुख उपरथी हिरालाल जोशीले गत साउन यता कर्णालीका ९ र सुदूरपश्चिमका ६ जिल्लाका ४१ जना गर्भवती तथा सुत्केरी महिलाहरूलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको बताए । उनका अनुसार कर्णालीका २६ र सुदूरपश्चिमका १५ जनालाई उद्धार गरिएको हो, जसमध्ये डोल्पाबाट ४, मुगुबाट २, दैलेखबाट ६, हुम्लाबाट २ र रुकुमबाट ३ जना रहेका छन् । यस्तै जुम्लाबाट १, कालीकोटबाट ३ र जाजरकोटबाट ५ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको हो । सेनाले गत असोजमा परेको अविरल वर्षाका कारण आएको बाढीमा परी घाइते भएका १४ जनाको हेलिकोप्टरबाट उद्धार गरेको छ भने त्रिपाल, खाद्यान्नलगायत १४ हजार ७ सय ३५ केजी राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएको छ ।

‘रन फर युनिटी’

सेनाले सुर्खेतको वीरेन्द्रनगरमा एकताका लागि ‘रन फर युनिटी’ को आयोजना गर्न लागेको पृतना कार्यालयकी सूचना अधिकृत मेजर रेणु शाहले बताइन् । कर्णालीको पहिचानका रुपमा रहेको लामो दूरीको दौडको प्रवर्द्धन र खेलकुद क्षेत्रको विकास तथा राष्ट्रिय एकताको भावना अभिवृद्धिका लागि माघ २१ गते उक्त प्रतियोगिता हुन लागेको हो ।

खेलकुद क्षेत्रको विकासमा थप टेवा, विद्यार्थी तथा खेलाडीहरूलाई हौसला प्रदान गर्दै राष्ट्रियता र संस्कृति जगेर्ना गर्ने माध्यमको रुपमा विकास गर्न प्रतियोगिता गर्न लागिएको सेनाले जनाएको छ । करिब १ हजारको सहभागिता रहने प्रतियोगितामा लामो र छोटो दूरीका दौडसहित पैदल यात्रा समावेश गरिएको छ । जसमा ५ किलोमिटर पैदल यात्रा, ५ किलोमिटर पुरुष महिला दौड र १० किलोमिटर पुरुष महिला दौड रहेका छन् ।


प्रकाशित : माघ १७, २०७९ १२:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×