बाग्चौर नगरपालिकाको सेवा ३ दिन बन्द- कर्णाली - कान्तिपुर समाचार

बाग्चौर नगरपालिकाको सेवा ३ दिन बन्द

विप्लव महर्जन

सल्यान — बाग्चौर नगरपालिका सल्यानले कार्यालयबाट दिने अत्यावश्यक बाहेक सबै किसिमका सेवा तीन दिनका लागि बन्द गरेको छ । कार्यालय नयाँ भवनमा सार्न थालेकाले नगरपालिकाले दिने अत्यावश्यक बाहेक सबै किसिमका सेवा बन्द गरेको हो ।

२०७४ देखि भाडाको घरमा बस्दै आएको नगरपालिकाको कार्यालय निर्माण सम्पन्न भएको केही वर्षपछि आफ्नै भवनमा सार्ने क्रममा सबै कर्मचारी सामान ओसारपसारमा व्यस्त हुने र सामग्री पनि लथालिङ हुने भएकाले सबै किसिमको सेवा बन्द गरिएको नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले बताए ।

नयाँ भवनमा सामग्री सारेपछि १४ गतेबाट सेवा दिने उनले जानकारी गराए । 'कार्यालयले दिने सेवा बन्द गर्ने बारेमा १० गते नै सूचना प्रकाशन गरेर पालिकाबासीलाई जानकारी गराइसकेका छौं,' उनले भने । आफ्नै भवन हुँदाहुँदै पनि भाडाको घरमा कार्यालय सञ्चालन गर्दा आर्थिक भार परेको उनको भनाइ छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तराज गौतमले कार्यालय बन्द गर्न नमिल्ने भएपनि सामग्री यताउता सार्दा काम गर्न नसकिने र कर्मचारीहरु पनि कार्यालय व्यववस्थापनमा खटिने भएकाले नै सेवा बन्द गरिएको बताएका छन् । ‘हामीले एक कक्षमा कम्प्युटर लगायतका सामग्रीसहित कर्मचारी राखेका छौं । यही कोही आवश्यक काम परेर आएमा सेवा दिएर घर फर्काउने गरेका छौं,’ उनले भने । सूचना प्रकाशन गरिसकेकाले सेवाग्राही नआएको उनको भनाइ छ ।

प्रकाशित : माघ १२, २०७९ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्

‘एकै किसिमको आणुवांशिक पृष्ठभूमिको कफीले जोखिम’

अध्ययन भन्छ, ‘ठूलो मात्रामा बोर्बोन कफीमा भर पर्दा कुहिने रोगको महामारी निम्तिन सक्छ’
कान्तिपुर संवाददाता

काठमाडौँ — एकै किसिमको आणुवांशिक पृष्ठभूमिको कफी जातमा भर पर्दा जोखिम आउन सक्ने एक प्रतिवेदनले देखाएको छ । ईयू नेपाल तथा लगानी कार्यक्रममार्फत अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा तयार भएको एक अध्ययनले जोखिम न्यूनीकरण गर्न नेपालले आणुवांशिक भूपरिदृश्यमा विविधता ल्याउनुपर्ने सुझाव दिएको छ ।

नेपालमा रहेका कफीका जातहरूको बारेमा गरिएको कफी जिनोटाइप डीएनए सिक्वेन्सिङ अध्ययनअनुसार ७० प्रतिशत नमुना बोर्बोन आणुवांशिक पृष्ठभूमिका रहेको उल्लेख छ । निजी नर्सरीबाट संकलन गरिएकामध्ये ९८ प्रतिशत बोर्बोन आणुवांशिक पुष्ठभूमिका रहेको पाइएको छ ।

‘अनुसन्धानका क्रममा १३ वटा कफी नर्सरीबाट २६ जातका कफीको १०४ नमुना संकलन गरिएको थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘नमुना सरकारी तथा निजी नर्सरीहरूबाट संकलन गरिएको थियो । अनुसन्धानको क्रममा ७० प्रतिशत नमुना बोर्बोन आणुवांशिक पृष्ठभूमिका भेटियो, निजी नर्सरीबाट संकलन गरिएका मध्ये ९८ प्रतिशत बोर्बोन आणुवांशिक पुष्ठभूमिका छन् ।’ बोर्बोन जात जलवायु उत्थानशील रहेको र साना किसानका लागि अनुकुल रहेको उल्लेख छ ।

यही जातका आणुवांशिक एकरूपता नेपालका लागि फाइदा भए पनि यस जातको कफी छिटो कुहिने हुँदा ठूलो जोखिम रहेको उल्लेख छ । अध्ययनको क्रममा संकलन गरिएका नमुनामध्ये ८० प्रतिशत परम्परागत अरेविका जातका भेटिएका छन् । नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत रहेको कफी अनुसन्धान केन्द्रको सहकार्यमा यो अध्ययन भएको जनाइएको छ ।

प्रकाशित : माघ १२, २०७९ १३:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×