स्थानीयको माग बेवास्ता गरेको भन्दै आधारभूत सहरी स्वास्थ्य क्लिनिकको भवनमा  तालाबन्दी- कर्णाली - कान्तिपुर समाचार

स्थानीयको माग बेवास्ता गरेको भन्दै आधारभूत सहरी स्वास्थ्य क्लिनिकको भवनमा  तालाबन्दी

स्वास्थ्य सेवा प्रभावित
विप्लव महर्जन

सल्यान — जिल्लाको शारदा नगरपालिका ४ सुनटाकुरामा नगरपालिकाले सञ्चालन गरेको आधारभूत स्वास्थ्य क्लिनिक सञ्चालनमा आउन नदिई सामुदायिक वन उपभोक्ता समितिको नेतृत्वमा स्थानीयले गेटमा तालाबन्दी गरेका छन् । आफूहरूले राखेको मागको सम्बोधन नभएको भन्दै स्थानीयले आधारभूत स्वास्थ्य क्लिनिक सञ्चालन गरेको भवनको गेटमा तालाबन्दी गरेका हुन् । 

स्थानीयले घर नजिकैबाट सेवा लिन सकून् र सामान्य उपचारका लागि लामो समय हिँड्न नपरोस् भनेर २०७५ मा नगरपालिकाले आफ्नै भवन नभएपछि स्थानीय सालघारी सामुदायिक वनको भवनमा आधारभूत स्वास्थ्य क्लिनिक सञ्चालन गरेको थियो । सामुदायिक वनमा आबद्ध स्थानीयले भवनमा तालाबन्दी गर्दा स्थानीय तीन दिनदेखि स्वास्थ्य सेवाबाट प्रभावित भएका छन् । सामान्य स्वास्थ्य सेवाका लागि पनि स्थानीय एकदेखि दुई घण्टासम्म हिँड्नुपर्ने अवस्था सिर्जना भएको छ ।

स्थानीयले आधारभूत स्वास्थ्य क्लिनिक सञ्चालन गर्दा स्वास्थ्यकर्मी तथा कर्मचारी भर्नामा स्थानीयलाई नै प्राथमिकता दिनुपर्ने माग राखेका थिए । क्लिनिक सञ्चालन गर्न २०७५ मै नगरपालिकाले १५ दिने सूचना प्रकाशन गरी परीक्षा लिई दुई जना स्वास्थ्यकर्मी भर्ना गरेको थियो । दुवै बाहिरका थिए ।

नगरपालिकाले आधारभूत स्वास्थ्य क्लिनिक सञ्चालन गरेको चार वर्ष बितिसक्दा पनि स्वास्थ्यकर्मी भर्ना गर्दा स्थानीयलाई प्राथमिकता दिन राखेको मागप्रति उपेक्षा गरेको र अहिलेसम्म छुट्टै भवनको व्यवस्था गर्न नसकेकाले सामुदायिक वन उपभोक्ता समूहको बैठकले गरेको निर्णयअनुसार सामुदायिक वनको भवनको गेटमा ताला लगाएको अध्यक्ष रोमप्रकाश थापाले बताए । ‘आधारभूत स्वास्थ्य क्लिनिक सार्न २०७९ मंसिर २८ गतेको निर्णयअनुसार माघ ३ गते शारदा नगरपालिकामा पाँचदिने अल्टिमेटम दिएको थियो तर नगरपालिका र वडा कार्यालयबाट कुनै प्रतिक्रिया आएन । हाम्रो मागको सुनुवाइ हुँदैन भने किन हामीले सामुदायिक वनको भवन प्रयोग गर्न दिने भनेर भवनको गेटमा ताला लगाउन बाध्य भएका हौँ‚’ उनले भने । भवनमा आफ्नो कामकाजका लागि मात्र प्रयोजन गरिने उनको भनाइ छ ।

सामुदायिक वनका सहसचिव खिमबहादुर बुढाथोकीले आधारभूत सहरी स्वास्थ्य क्लिनिक सञ्चालनका लागि भवन निर्माण गर्न स्थानीय निःशुल्क जग्गा दिन तयार भए पनि नगरपालिकाले बेवास्ता गरेको बताए । स्वास्थ्यकर्मी पनि स्थानीयलाई भर्ना नगरी बाहिरबाट ल्याएको उनले जानकारी गराए । स्थानीयको मागलाई सम्बोधन नगरेकाले भवन उपलब्ध गराउन नसकिने उनको भनाइ छ ।

यता शारदा नगरपालिका सल्यानका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्रकुमार हमालले स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालन गरेको आधारभूत तथा सहरी स्वास्थ्य क्लिनिक सञ्चालन गर्न नदिई भवनको गेटमै तालाबन्दी गर्दा स्थानीय स्वास्थ्योपचारबाट वञ्चित भएको बताएका छन् । आफ्नो माग पूरा नभएको भन्दै पाँचदिने अल्टिमेटम दिई नगरपालिका प्रमुखसँग छलफल नगरी भवनको गेटमा तालाबन्दी गरेर सेवा प्रभावित बनाउनु उचित नभएको र यसले समुदायलाई नै घाटा भएको उनले बताए ।

स्थानीयले स्थानीय कर्मचारी तथा स्वास्थ्यकर्मी भर्ना गर्नुपर्ने माग राखेका थिए । ‘नगरपालिकाले आधारभूत स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने क्रममा २०७५ मै १५ दिने सूचना निकाल्यो । परीक्षामा जो उत्तीर्ण भए‚ उनलाई नै नगरपालिकाले नियुक्ति दियो‚’ उनले भने । बन्द भएको सेवा सुचारु गर्न नगरले आफ्नो प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ ।

प्रकाशित : माघ १२, २०७९ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्

बाग्चौर नगरपालिकाको सेवा ३ दिन बन्द

विप्लव महर्जन

सल्यान — बाग्चौर नगरपालिका सल्यानले कार्यालयबाट दिने अत्यावश्यक बाहेक सबै किसिमका सेवा तीन दिनका लागि बन्द गरेको छ । कार्यालय नयाँ भवनमा सार्न थालेकाले नगरपालिकाले दिने अत्यावश्यक बाहेक सबै किसिमका सेवा बन्द गरेको हो ।

२०७४ देखि भाडाको घरमा बस्दै आएको नगरपालिकाको कार्यालय निर्माण सम्पन्न भएको केही वर्षपछि आफ्नै भवनमा सार्ने क्रममा सबै कर्मचारी सामान ओसारपसारमा व्यस्त हुने र सामग्री पनि लथालिङ हुने भएकाले सबै किसिमको सेवा बन्द गरिएको नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले बताए ।

नयाँ भवनमा सामग्री सारेपछि १४ गतेबाट सेवा दिने उनले जानकारी गराए । 'कार्यालयले दिने सेवा बन्द गर्ने बारेमा १० गते नै सूचना प्रकाशन गरेर पालिकाबासीलाई जानकारी गराइसकेका छौं,' उनले भने । आफ्नै भवन हुँदाहुँदै पनि भाडाको घरमा कार्यालय सञ्चालन गर्दा आर्थिक भार परेको उनको भनाइ छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तराज गौतमले कार्यालय बन्द गर्न नमिल्ने भएपनि सामग्री यताउता सार्दा काम गर्न नसकिने र कर्मचारीहरु पनि कार्यालय व्यववस्थापनमा खटिने भएकाले नै सेवा बन्द गरिएको बताएका छन् । ‘हामीले एक कक्षमा कम्प्युटर लगायतका सामग्रीसहित कर्मचारी राखेका छौं । यही कोही आवश्यक काम परेर आएमा सेवा दिएर घर फर्काउने गरेका छौं,’ उनले भने । सूचना प्रकाशन गरिसकेकाले सेवाग्राही नआएको उनको भनाइ छ ।

प्रकाशित : माघ १२, २०७९ १३:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×