कर्णाली सरकारमा दलित शून्य- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्णाली सरकारमा दलित शून्य

ज्योति कटुवाल

सुर्खेत — कर्णाली प्रदेश सरकार संविधानको व्यवस्थाविपरीत गठन भएको छ । बुधबार मन्त्रिपरिषद्मा‌ समावेशी सिद्धान्त अनुसारका दलित, जनजाति, मधेसीलगायत आरक्षित क्षेत्रको प्रतिनिधित्व छैन । संविधानको धारा १६८ (९) मा प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफरिसमा प्रदेशसभाका सदस्यमध्यबाट समावेशी सिद्धान्तबमोजिम मुख्यमन्त्रीसहित प्रदेश सभाका कुल सदस्य संख्याको २० प्रतिशतभन्दा बढी नहुनेगरी प्रदेश मन्त्रिपरिषद् गठन गर्ने उल्लेख छ ।

तर मुख्यमन्त्री राजकुमार शर्मासहित ८ सदस्यीय कर्णाली मन्त्रिमन्त्रिपरिषद्‌मा सबै खसआर्य समुदायका पुरुष मन्त्री र एक दलित महिलालाई राज्यमन्त्री दिइएको छ । दलित समुदायबाट मन्त्री दिइएको छैन । प्रतिनिधित्व भएको देखाउन मात्र एक राज्यमन्त्री राखिएको छ ।

प्रदेशसभा सदस्य लक्ष्मी सुनारले सरकार गठनमा समावेशिता भन्ने शब्द भाषामै सीमित भएको बताइन् । ‘दलहरुले पार्टीमा लगानी र उमेर हेरेर समावेशीतालाई लत्याउनु यो दुर्भाग्य हो,’ उनले भनिन्, ‘पहुँचवाला जाति र वर्गमात्र भयो, यो बहसको विषय हुनु आवश्यक छ ।’

संविधानको वर्ग जातजाती, मर्म र क्षेत्रलाई आधार मानेर मन्त्रिपरिषद्‌ विस्तार नगरेको उनको भनाइ छ । यसअघिको मन्त्रिपरिषद् विस्तारमा कांग्रेस र एकीकृत समाजवादीको प्राथमिकतामा महिलाको सहभागिता थिएन भने अहिले दलित तथा समावेशी सिद्धान्त नै लत्याएको देखिन्छ ।

कर्णाली प्रदेशमा दलित समुदायको बाहूल्यता छ । २०७८ को जनगणनाअनुसार दलित समुदायको जनसंख्या २९ प्रतिशत छ । ४० सदस्य रहेको कर्णाली प्रदेश सभामा समेत दलित सांसद ४ जना छन् । कर्णाली प्रदेशमा ४० जना सांसदमा १४ जनामात्र महिलाहरू छन् ।

विगत ५ वर्षयता माओवादीबाहेक पार्टीले महिलालाई मन्त्री बनाउन सिफारिस गरेको देखिँदैन ।

मन्त्रिपरिषद् सदस्यहरु

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय : राजकुमार शर्मा [मुख्यमन्त्री]

आन्तरिक योजना तथा कानुन मन्त्रालय : कृष्ण जीसी [मन्त्री]

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय : भीमप्रकाश शर्मा [मन्त्री]

उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय : जीतबहादुर मल्ल [मन्त्री]

आर्थिक मामेला तथा योजना मन्त्रालय : विनोदकुमार शाह [मन्त्री]

भौतिक पूर्वधार उर्जा तथा जलस्रोत मन्त्रालय : मंगलबहादुर शाही [मन्त्री]

सामाजिक विकास मन्त्रालय : टेकराज पछाई [मन्त्री]

भौतिक पूर्वधार उर्जा तथा जलस्रोत मन्त्रालय : उर्मिला विक [राज्यमन्त्री]

प्रकाशित : माघ ११, २०७९ १९:५५
प्रतिक्रिया
पठाउनुहोस्

कर्णालीका नवनियुक्त मन्त्रीले लिए शपथ

ज्योति कटुवाल

सुर्खेत — कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा बुधबार साँझ आयोजित समारोहमा प्रदेश प्रमुख तिलक परियारसमक्ष नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

माओवादी केन्द्रका कृष्ण जिसी आन्तरिक मामिला तथा कानुनमन्त्री, भीमप्रकाश शर्मा भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री, एमालेबाट टेकराज पछाईले सामाजिक विकासमन्त्री र जीतबहादुर मल्लले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको रुपमा शपथ लिएका हुन् ।

उनीहरुलाई आजै मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा प्रदेश प्रमुख परियारले नियुक्त गरेका हुन् । मुख्यमन्त्री शर्मा पुस २८ मा नियुक्त भएका थिए । सोही दिन माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही र एमालेबाट दैलेखका विनोदकुमार शाहले बिनाविभागीय मन्त्रीको शपथ लिएका थिए । शाह र शाहीले पनि बुधबार जिम्मेवारी पाएका छन् । एमालेका शाहलाई आर्थिक मामिला तथा योजना र शाहीलाई भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

शर्मा नेतृत्वको ७ सदस्यीय मन्त्रिपरिषद् महिला र दलित प्रतिनिधिविहीन बनेको छ ।

प्रकाशित : माघ ११, २०७९ १९:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×