३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

हिमपातले कर्णालीमा दुई दिनदेखि हवाई सेवा अवरुद्ध

राजबहादुर शाही

मुगु — भारी हिमपातका कारण कर्णालीका हिमाली जिल्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । मंगलबार र बुधबार निरन्तर हिमपात हुँदा मुगु, हुम्ला, जुम्ला र डोल्पामा दुई दिनदेखि हवाई सेवा बन्द हुँदा यात्रुहरू मर्कामा परेका छन् । 

हिमपातले कर्णालीमा दुई दिनदेखि हवाई सेवा अवरुद्ध

भारी हिमपातले दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको हुम्ला सिमकोट विमानस्थलका निमित्त प्रमुख चेतराज भट्टले बताए । हवाई सेवा बन्द हुँदा हुम्लामा खाद्य वस्तु ढुवानीमा बाधा परेको र यात्रुलाई तराई झर्न र माथि जिल्लातिर आउन मुस्किल भएको उनको भनाइ छ । दोस्रो पटक हिमपात भएको हुम्ला हिउँ पर्न रोकिएको छैन सिमकोट विमानस्थलमा करिब डेढ फिट हिउँ जमिसकेको छ‚ अझै आउने क्रम जारी रहेको छ । जुम्लामा हिमपात नरोकिँदा दुई दिन देखि हवाई सेवा अवरुद्ध भएको छ ।

नेपालगञ्ज-सुर्खेतदेखि सीता, समिट, तारा एयरलाइन्सले दैनिक तीन-चार फ्लाइट उडान गर्ने कर्णालीका हिमाली जिल्लामा भारी हिमपातका कारण उडान ठप्प भएको छ ।

मुगुको रारा विमानस्थलमा पनि दुई दिनदेखि उडान भएको छैन । धावन मार्गमा बाक्लो हिउँ जमेपछि सुर्खेत नेपालगञ्जदेखि निजी तथा सरकारी एयरलाइन्सले उडान भर्न नसक्दा मुुगुदेखि सुर्खेत‚ नेपालगञ्ज झर्ने यात्रु र नेपालगञ्ज-सुर्खेतदेखि माथि मुगु जाने यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् ।

कर्णालीमा हिमपात रोकिएपछि विमानस्थलमा हिउँ पन्छाएपछि मात्र हवाई उडान हुने गरेको छ । भारी हिमपातले गर्दा कर्णालीमा हिमाली जिल्लामा छिनछिनमा सञ्चार नेटवर्क अवरुद्ध हुन थालेको छ ।

प्रकाशित : माघ ११, २०७९ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?