झाडापखालाबाट चारमहिने सुत्केरीको मृत्यु- कर्णाली - कान्तिपुर समाचार

झाडापखालाबाट चारमहिने सुत्केरीको मृत्यु

विप्लव महर्जन

सल्यान — सल्यानमा झाडापखालाबाट चारमहिने सुत्केरीको मृत्यु भएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका ११ रैकर बस्ने २२ वर्षीया अमृता विकको मृत्यु भएको हो । 

सोमबार बिहान ४ बजेदेखि पखाला लागेपछि स्थानीय मेडिकलबाट मेट्रो नामक औषधि किनेर सेवन गरेको तर औषधि ठिक नभई थप समस्या देखिएपछि उपचारका लागि सुर्खेतको मेहलकुना अस्पताल लैजाँदै गर्दा बाटैमा विकको मृत्यु भएको मृतक महिलाको काका ससुरा तुलसी विकले बताए । पहिला सामान्य जस्तो लागेकाले मेडिकलको औषधिको भर पर्दा समयमै अस्पताल पुर्‍याउन नसकेको उनले जानकारी दिए ।

झाडापखाला कसरी लाग्यो भन्नेबारे केही थाहा नभएको उनले उनले जानकारी गराए । ‘रैकरदेखि मेहलकुनाको अस्पताल जम्मा २०/२५ मिनेटको दूरीमा मात्र थियो । झाडापखाला लागेपछि औषधि सेवन गर्दा ठिक होला भन्ने लाग्यो‚’ उनले भने‚ ‘समस्या झनै बढ्यो । अस्पताल पनि समयमै लगिएको थियो तर बुहारीलाई बचाउन सकिएन । अस्पताल पुग्नेबित्तिकै डाक्टरले मृत घोषण गरिदिए ।’

मृतकका श्रीमान् राजकुमार विक अहिले वैदेशिक रोजगारीका लागि खाडीमुलुक दुबई गएका र घरमा बच्चालगायत अन्य कसैलाई पनि पखालाको समस्या भने नदेखिएको उनको भनाइ छ ।

चिसोका कारण महिलालाई झाडापखालाको समस्या देखिएको र औषधिको मात्र भर पर्दा शरीरमा पानी सकिएपछि डिहाइड्रेसनको समस्या देखिएका कारण मृत्यु भएको अस्पताल स्रोतबाट बुझिएको बन्गाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य शाखा तथा स्वास्थ्यकर्मी प्रमुख वासुदेव पोखरेलले बताए ।

प्रकाशित : माघ ११, २०७९ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्

रोकियो पक्की पुल निर्माण

विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका–१ श्रीनगरसँग १२ र १३ नम्बर वडाको स्यानीखाल जोड्न शारदा नदीमा निर्माण सुरु हुने पक्की पुलको काम १० महिनादेखि रोकिएको छ । पिलर गाड्नका लागि ड्रिल गर्ने क्रममा कडा चट्टान भेटिएपछि निर्माण रोकिएको हो ।

पुल निर्माणका लागि ९ करोड रुपैयाँमा जलजला/जयमा/स्वर्गद्वारी निर्माण कम्पनीले काम गर्ने जिम्मा लिएको छ । उसले कडा चट्टानमा ‘डीएमसी’ मेसिनले समेत प्वाल पार्न नसकिएपछि निर्माणको काम अलपत्र परेको हो । अहिले निर्माण कम्पनीले ल्याएको सामग्री त्यत्तिकै थन्किएका छन् ।

स्यानीखाल सडकमा बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न पक्की पुल निर्माणको काम थालिएको थियो । पुल निर्माणको काम सुरुवाती चरणमै काम रोकिएपछि बर्खाको समयमा जोखिम मोलेर नदी वारपार गर्नुपर्ने बाध्यता भएको स्थानीय कमलसिंह घर्तीले बताए । उनका अनुसार पुल भए गाउँबाट श्रीनगर पुग्न बढीमा १० मिनेट लाग्छ । पुलको काम अलपत्र परेपछि आधा घण्टा हिँडेर झोलुंगे पुल तर्नुपर्ने बाध्यता छ । ‘झोलुंगे पुल भेट्टाउन अर्को गाउँ जानुपर्छ, त्यसैले जोखिम मोलेरै भए पनि नदी तर्न बाध्य छौं,’ उनले भने, ‘वर्षायाममा गाडी नचल्दा सानो कामका लागि ठूलो सास्ती भोग्न बाध्य छौं ।’

पिलर गाड्न ठेकेदार कम्पनीले जमिनको केही भाग खने पनि अरू केही काम नगरेको उनको भनाइ छ । जमिनमुनि कडा चट्टान भेटिएको भनेर ठेकेदार कम्पनी पन्छिन खोजेको स्थानीय रेशमबहादुर बुढाथोकीले बताए । ‘पक्की पुल बनेमा वर्षात्को समयमा रातबिरातमा पनि गाडीबाट आउजाउ गर्न सहज हुन्थ्यो,’ उनले भने, ‘गाउँमा कोही बिरामी भए उपचारका लागि लैजान पनि समस्या छ ।’ निर्माणस्थलमा अहिले मजदुर र ठेकेदार कम्पनीका प्रतिनिधि देखिन छाडेको उनको भनाइ छ ।

सडक डिभिजन कार्यालय दाङका इन्जिनियर नारायण दाहालले पुल निर्माणस्थलको करिब २० मिटर तल जमिनमुनि कडा चट्टान भेटिएको बताए । ठेकेदार कम्पनीले ल्याएको ठूलो मेसिनले पनि चट्टानमा प्वाल पार्न नसकेका कारण काम रोकिएको उनको भनाइ छ । उनका अनुसार दुई वर्षभित्र काम सक्ने गरी गत मंसिरमा ठेकेदार कम्पनीले पुल निर्माणको काम सुरु गरेको हो । ६० मिटर लम्बाइको उक्त पुल निर्माणको अवधि सकिन अब झन्डै ९ महिना मात्र बाँकी छ । ‘ठेकेदारले डिजाइन बदल्न माग गरेका छन्, त्यसबारे हामीले पनि छलफल चलाइरहेका छौं,’ उनले भने, ‘छिट्टै केही टुंगो लाग्ला ।’

निर्माण कम्पनीका ठेकेदार केबी ओलीले पुल निर्माणका लागि पिलर बनाउन २७ मिटर गहिराइसम्म प्वाल पार्नुपर्ने हुन्छ । तर मेसिनले २० मिटरभन्दा तल प्वाल पार्न नसकेको र मेसिनको ड्रिल गर्ने सिजल जमिनमुनि अड्केको उनको भनाइ छ । उनले सडक डिभिजनलाई डिजाइन बदल्न आग्रह गरिएको बताए ।

प्रकाशित : माघ ७, २०७९ ०९:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×