हुम्लामा फेरि हिमपात- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुम्लामा फेरि हिमपात

कान्तिपुर संवाददाता

काठमाडौँ — हुम्लामा फेरि हिमपात भएको छ । सोमबार रातिबाट सुरु भएको हिमपात अहिले पनि लगातार हिमपात भइरहेको छ । हिमपातले हुम्लाको जनजीवन झन् कष्टकर बनेको छ ।

हिमाली जिल्ला हुम्लामा दोस्रो र ठूलो हिमपात हो । जिल्ला भरि नै हिमपात भएपछि हुम्लाका दक्षिणी भेगका केही बस्ती बाहेक पूरै हुम्लाका गाउँबस्ती नै सेताम्य देखिएका छन् । हिउँ आउने क्रम जारी छ । हिमपातले गर्दा हुम्लाको एक मात्र हवाई यातायात सेवा पनि अवरुद्ध भएको छ ।

सोमबार रातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको लिमी, यारी, मुचु चालाका स्थानीयलाई कष्टकर बनेको छ भने आवतजावतमा समस्या भएको हुम्लाका नागरिक अगुवा बसन्त रोकायाले बताए । हिमपातसँगै चिसो बढेपछि सरकारी कार्यालयका कर्मचारी आगो तापेर काम गरिरहेका छन् ।

हिमपात हुँदा हिमालपारिको गाउँ लिमीका चौरीसहित अन्य पशु उच्च जोखिममा परेका छन् । हिमपातले वनमा भएको घाँस पुरिँदा गाउँमा घाँसकोे अभाव छ । जसबाट हजार चौरीसहित गाउँका अन्य पशु उच्च जोखिममा परेका हुन् । घाँस अभावले पशु जोगाउन कठिन भएको लिमीका पशुपालक किसानहरुले बताएका छन् । यस वर्ष हिउँले घाँस छोपिएपछि पशु पाल्न कठिन भएको छ । घाँस नहुँदा भएको पशुसमेत जोगाउन धौधौ भएको स्थानीय पशुपालक किसानले बताएका छन् ।

हिमपातका कारण हुम्लामा चिसो बढेको छ । सिमकोटको तापक्रम माइनस १३ मा झरेको छ । हुम्लाका दक्षिणी भेगका केही बस्तीमा बाहेक जिल्ला भरि नै हिमपात भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिल्लामा हिमपात हुँदा सदमुकाम सिमकोटबाट देखिने सबै क्षेत्रहरु सेताम्य भएका छन् । हिमपातले हुम्लाको जनजिवन कष्टघर बनाएको छ । हिमपातले बाली सप्रने भन्दै हुम्लाका कृषकहरु उत्साहित भएका छन् ।

प्रकाशित : माघ १०, २०७९ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्

तीन पुस्तादेखि माटोसँग मित्रता

भरत जर्घामगर

सिरहा — लहान नगरपालिका–८ का ४१ वर्षीय श्याम नारायण पण्डितको परिवारले माटोसँग मित्रता गाँसेको तीन पुस्ता बित्यो । बाजे राम पण्डित, बुबा गुणी हुँदै श्यामको परिवारले माटोसँग साइनो गाँसेको तीन पुस्ता भयो । काँचो माटोलाई मुछेर पौँठेजोरी खेली कलात्मक मूर्तिको प्रतीमा तयार पार्छन उनी । जीविकोपार्जनको मुख्य स्रोत बनेको छ मूर्तिकला व्यवसाय ।

एसएलसीसम्मको अध्ययन गरेका उनी पौराणिक देवी देवताका माटोको आकर्षक र कलात्मक मूर्ति बनाएर वार्षिक ७ लाख रुपैयाँसम्म आर्जन गर्छन् । ‘सरस्वती, विश्वकर्मा, दुर्गा भवानी, लक्ष्मी, ईन्द्र, कृष्ण भगवान, बुद्ध मूर्तिको प्रतिमा तयार गर्छु‚’ उनले भने‚ ‘जिल्लाको धेरै ठाउँबाट मूर्ति बनाउन आग्रह गर्छन् । छिमेकी जिल्ला सप्तरीमा गएर बनाउने गरेको छु । अरुबेला घरमै बनाएर बिक्रीका लागि राख्छु ।’

विशेषगरी सरस्वती पूजा, विश्वकर्मा पूजा, दुर्गा पूजा र कृष्ण जन्माअष्टमीको बेला उनीसँग मूर्ति किन्नेको भीड नै लाग्छ । ‘यो समयमा मूर्ति बनाउन भ्याई नभ्याई हुन्छ, साथमा तीन जना सहयोगी राख्नुपर्छ‚’ उनले भने‚ ‘त्यतिखेर एक सिजनमा तीन लाख रुपैयाँ बराबरको मूर्ति बिक्री गर्छु ।’ उनीकहाँ सिरहा, सप्तरी, उदयपुर र धनुषा जिल्लाका बासिन्दाले समेत मूर्ति किनेर लैजान्छन् । उनको कलाले ती जिल्लामा ख्याती कमाएको छ ।

सानै उमेरदेखि नै उनले मूर्ति बनाउने कला कुनै क्याम्पस र विद्यालयबाट भने सिकेका होइनन् । उनी भन्छन्‚ ‘मैले बुबाबाट सिकेको हुँ । मूर्ति बनाउने व्यवसाय बुबा गुणी पण्डितले सानैदेखि गर्नुहुन्थ्यो । बुबालाई बाजे राम पण्डितले सानैदेखि सिकाउनुभएको थियो ।’ मूर्ति बनाउने काम उनीहरूको पुर्ख्यौली सीप हो ।

माटोको अलावा उनी धातु र सिमेन्टको पनि मूर्ति तयार गर्छन् । ‘नमुना दिएअनुसारको जस्तो पनि मूर्ति तयार गर्छु‚’ उनले भने‚ ‘धातुको मूर्ति बनाएर धेरै पुँजी लाग्ने भएकाले माटोको बनाएर बिक्री गर्छु । त्यही कमाइबाट घर जोडेको छु ।’

उनले सुरुमा पैसा नहुँदा कमाउन विदेश जाने सोचसमेत बनाएका थिए । ‘तर साहस गरे यही पनि कमाउन सकिँदो रहेछ‚’ उनले भने‚ ‘चर्चा नपाउँन्जेल गाह्रो भयो । अहिले समय दिन भ्याउँदिनँ ।’ उनले बनाएको आकृतिको पहिचान नै आधुनिकता हो । मूर्तिको मुहार र सिंगारपटारमा आधुनिक शैली जोडिएको हुन्छ । एक पटक बनाएको मूर्तिलाई अर्को वर्ष सोही आकृतिको मूर्ति बनाउँदा उनले नयाँ आकृति दिने गरेका छन् ।

‘मूर्तिको पसल खोलेर बसेको छु‚’ उनले भने‚ ‘यहीँको आम्दानीबाट परिवार पालेको छु ।’ अहिलेसम्म यो व्यवसायका लागि कतैबाट सहयोग नलिएको बताउँदै उनले भने‚ ‘मूर्तिको बजार सानो र लगानी धेरै गर्नुपरे पनि दिगो बजार छ, कतैबाट सहयोग पाए धातुको मूर्ति बनाउने व्यवसाय गर्ने इच्छा थियो ।’ श्यामका भाइ विशेश्वर पनि उनीसँगै मूर्ति बनाउने व्यवसायमा संलग्न छन् ।

श्याम नारायण पण्डितको परिवार मात्र होइन । कुमाले टोल र छिमेकी आसपासमा १२ जनाभन्दा बढी मूर्ति व्यवसायमा सक्रिय छन् ।

लहान नगरपालिका–८ का रामबाबु पण्डित पनि मूर्ति व्यवसायमै सक्रिय छन् । उनले पनि वार्षिक ६ लाख रुपैयाँसम्म आर्जन गर्छन् । रामबाबुद्वारा निर्मित मूर्तिले प्रदर्शनीमा पुरस्कारसमेत हात पारेका छन् । ०५७/०५८ सालमा काठमाडौं भृकुटीमण्डपमा भएको प्रदर्शनीमा बीपी कोइरालाको माटोको अर्धकदको मूर्तिले पुरस्कार जितेको थियो । ‘त्यसपछि अहिलेसम्म भाग लिन पाइनँ’ उनले भने‚ ‘प्रदर्शनीमा माटोको मूर्ति नराखिँदो रहेछ ।’

‘बिहान र बेलुका कुची, माटो र रंग लगाउनमै दिन बित्छ‚’ उनले भने‚ ‘जीवन नै माटो, माटो नै जीवन भएको छ मेरा लागि ।’ माटो र मूर्तिमा चाहिने कच्चा पदार्थ किनेर बनाउने गरेका उनी भगवानको आकृति वरिपरि देख्दा भगवान मदेखि टाढा छैनन् र साथी नै ती आकृति भएको महसुस गर्छन् ।

प्रकाशित : माघ १०, २०७९ १२:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×