हुम्लामा हिमपातले किसान हर्षित - कर्णाली - कान्तिपुर समाचार

हुम्लामा हिमपातले किसान हर्षित 

जनकबहादुर शाही

हुम्ला — हिमाली जिल्ला हुम्लामा बिहीबार रातिदेखि हिमपात भएपछि किसान खुसी भएका छन् । हुम्लामा यो वर्षकै पहिलो हिमपात भएको हो । बिहीबार बिहानदेखि मौसममा बदली भई हुम्लामा भारी हिमपात भएको छ । 

गत वर्षहरुमा पुस लाग्दा बित्तिकै धेरै पटक हिमपात हुने हुम्लामा यो पटक भने माघ पहिलो सातामा हिमपात भएको हो । हुम्लामा यो वर्षकै पहिलो हिमपात भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।

हिमपात भएपछि सिमकोट आसपासका गाउँबस्ती सेताम्य देखिएका छन् । हिउँ पर्ने क्रम जारी छ । हिमपातसँगै अत्यधिक चिसो बढेकाले जनजीवन भने प्रभावित भएको छ । हिमपातले गर्दा हुम्लाको एक मात्र हवाई यातायात सेवा पनि अवरुद्ध भएको छ ।

गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परे पनि सिमकोटमा भने पहिलो पटक हिउँ परेको हो । लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि हिउँ खेलेर रमाइलो गर्न थालेका छन् । रातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीका जनजीवन झन् कष्टकर बनेको प्रमुख जिल्ला अधिकारी परियारले बताइन् । उत्तरी हुम्लाका बस्तीहरुमा बाक्लो हिउँ जमेका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् ।

मौसम बदलीका कारण जिल्लाको तापक्रम १४ डिग्री सेल्सियसमा झरेको छ । स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको चिकित्सक बताउँछन् ।


प्रकाशित : माघ ६, २०७९ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्

हावाहुरी चल्दा हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध

जनकबहादुर शाही

हुम्ला — हिमाली जिल्ला हुम्लामा हवाई सेवा दुई दिनदेखि अवरुद्ध भएको छ । बिहीबार बिहानदेखि चलेको हावाहुरी शुक्रबार पनि चलेकाले हवाई सेवा अवरुद्ध भएको हो । नेपालगन्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले हावाहुरीका कारण आफ्नो सेवा अवरुद्ध भएको जनाएका छन् । 

हुम्लालाई अन्तरजिल्ला जोड्ने हवाई सेवा भए पनि दुई दिनदेखि बन्द हुँदा नेपालगन्ज र सुर्खेतदेखि सिमकोट आउने यात्रुसहित कार्गो सामान आउन सकेको छैन । उडान नहुँदा जिल्ला बाहिर जाने यात्रु सिमकोटमै रोकिएका छन् ।

यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र कार्गोको सामान पनि ढुवानी हुन सकेको छैन । घाम लागेपछि दिनहुँ उडान भर्ने निजी विमान कम्पनीका जहाज हावाहुरी चलेर अवरुद्ध हुन पुगेको सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले बताए । ४५ मिनेट समय लगाएर दैनिक नेपालगन्जबाट हुम्लाका लागि तारा, समिट एयरका जहाजले उडान भर्दै आएका छन् ।

अहिलेसम्म राष्ट्रिय सडक संजालसँग नजोडिएको एकमात्र जिल्ला हुम्ला हो ।

प्रकाशित : पुस २२, २०७९ १७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×