हुम्लामा यो वर्षकै पहिलो हिमपात

राजबहादुर शाही

मुगु — हिमाली जिल्ला हुम्ला सिमकोट क्षेत्रमा यो वर्षकै पहिलो हिमपात भएको छ । बिहीबार मध्याह्नदेखि मौसममा बदली भइ रातिदेखि सिमकोट, बरगाउँ, बुराउसे, डाँडाफया लगायतका बस्तीहरुमा भारी हिमपात भएको छ । 

हुम्लामा यो वर्षकै पहिलो हिमपात

गत वर्षहरुमा पुस लाग्दा बित्तिकै धेरै पटक हिमपात हुने हुम्लामा यो पटक भने माघ पहिलो सातामा हिमपात भएको हो । हिमाली जिल्ला हुम्लामा यो वर्षकै पहिलो हिमपात भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।

हिमपात भएपछि हुम्ला सिमकोट आसपासका गाउँबस्ती सेताम्य देखिएको उनको भनाइ छ । 'अब हिउँ खेल्न पाइने भयो,' प्रमुख जिल्ला अधिकारी परियारले सुनाइन् । हिउँ आउने क्रम जारी छ । हिमपात सँगै अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।

माघ महिनाको हिमपातले गर्दा हुम्लाको एक मात्र हवाई यातायात सेवा पनि अवरुद्ध हुने भएको छ । हुम्लाको माथिल्लो क्षेत्र नाम्खा गाउँपालिका लिमी, यारी क्षेत्रमा पनि भारी हिमपात भएको छ ।

माघमा हिउँ परेपछि अन्नबाली, फलफूल र जडिबुटीको सुबिकाल हुने आशामा किसान उत्साहित भएका छन् । यता मुगुको उच्च लेकाली क्षेत्रमा भने हल्का हिमपात भएको छ । अघिल्ला वर्षहरुमा कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्फा पुस लाग्ने बित्तिकै हिमपातले गाउँबस्ती सेताम्य देखिने गर्थे भने यो वर्ष माघ महिनासम्म पनि अझै ठूलो हिमपात हुन सकेको छैन ।

प्रकाशित : माघ ६, २०७९ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?