सुर्खेतका बाढीपीडित अझै छाप्रोमा

तृप्ति शाही

वीरेन्द्रनगर — बराहताल गाउँपालिका–२ गिरीघाटस्थित बाढीपीडित शिविरमा बस्दै आएकी १८ वर्षीया कविता नेपाली २ महिनाकी सुत्केरी हुन् । यो चिसेमा उनलाई बच्चा हुर्काउनै सकस परेको छ ।

सुर्खेतका बाढीपीडित अझै छाप्रोमा

‘स्याहार त के पाउनु बास बस्ने ठाउँमा पनि शीत चुहिन्छ, आफू जेसुकै भए पनि बच्चालाई कसरी बचाउने भन्ने पिरलो छ,’ उनले भनिन्, ‘न गतिलो ओढ्ने–ओछ्याउने कपडा छन् न लगाउने नै, मेरो शरीर पनि चिसोले गर्दा पूरै दुख्छ ।’ उनका पति रोजगारीका लागि भारतमा गएका छन् । उनले महिनामा पठाउने ९/१० हजार रुपैयाँले साँझ–बिहानको छाक टार्नै मुस्किल हुने उनले गुनासो गरिन् ।

बाढीपीडित शिविरकै २६ वर्षीया रेखा नेपालीको पनि ११ महिनाको छोरी छिन् । चिसो मौसम सुरु भएदेखि उनको बच्चामा पनि ज्वरो, रुघाखोकी, पखालालगायत स्वास्थ्य समस्या देखिरहेका छन् । ‘त्रिपाल चारैतिरबाट फाटेको छ, ओढ्ने–ओछ्याउनेको पनि अभाव छ,’ उनले भनिन्, ‘धेरै चिसो भए रातभरि आगो बालेर जाग्राम बस्छौं ।’

चिसोले गर्दा बाढीपीडित बस्तीमा बस्ने सबैलाई सकस भएको त्यही बस्तीमा बस्ने नरेन्द्र खत्रीले बताए । उनका अनुसार बच्चा र ज्येष्ठ नागरिकलाई अझै बढी समस्या हुने गरेको छ । ‘यहाँ त चिसाको मात्र समस्या छैन, जंगलको छेउमा बसेका छौं, वन्यजन्तुको पनि उस्तै डर छ,’ उनले भने, ‘सडकको छेउमा बसेका छौं, हाम्रा बालबालिकालाई सवारीसाधनले हान्छ कि भन्ने डर पनि उत्तिकै हुन्छ ।’ सरकारले अहिलेसम्म बाढीपीडितलाई प्रतिपरिवार किस्ता किस्तामा गरेर ३ लाख ५० हजार रकम दिएको थियो । संघीय सरकारले सुरुमै ५० हजार दिएको थियो । केही समयअघि कर्णाली प्रदेश सरकारले ३ लाख रुपैयाँ निकासा गरिदियो । सरकारले सबै पैसा एकैचोटि नदिएकाले घर बनाउन समस्या भएको पीडितहरू बताउँछन् । ‘एकै पटक रकम आएन, आएको पनि धेरै ढिलो आयो,’ उनले भने, ‘त्यो रकम आउन्जेल जग्गाको मूल्य धेरै बढिसकेको थियो, जग्गै किन्न समस्या भएपछि घर बनाउन सकेनौं ।’

सुर्खेतमा २०७१ साउन अन्तिम साता आएको बाढीले २४ जनाको मृत्यु भयो । ९१ जना बेपत्ता भए । त्यसबेला ९ सय ७० परिवार विस्स्थापित भएका थिए । कर्णाली प्रदेश सरकारले पुनःस्थापनाका लागि गठन गरेको उच्चस्तरीय समितिले जिल्लाभर १ हजार ४५ बाढीपीडित रहेको प्रतिवेदन तयार पारेको थियो । त्यसमध्ये ५ सय ९१ जनाले बाढीपीडितले शिविर छोडिसकेको तथ्यांक प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग छ । अहिले बाढीपीडितहरू सुर्खेतको गिरीघाट, तिखाकुना र मसिनामा बस्दै आएका छन् ।

प्रकाशित : माघ ३, २०७९ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?