५ वर्षमा ६ किमि पिच- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५ वर्षमा ६ किमि पिच

विप्लव महर्जन

सल्यान — मदन भण्डारी राजमार्गअन्तर्गत तुलसीपुर–कालीमाटी–बोटेचौर सडक कालोपत्रेको काम सुरु भएको झन्डै ५ वर्ष बित्यो । सडक डिभिजन कार्यालय दाङले २०७४ मा टेन्डर आह्वान गरेको उक्त योजनामा ३ वर्षभित्र काम सक्ने गरी ठेकेदार कम्पनी कालिका जेभीले सम्झौता गर्‍यो ।

तर अहिलेसम्म २ पल्ट म्याद थप गरे पनि ६ किलोमिटर मात्र सडक कालोपत्रे गरेको छ । कम्पनीले २०७४ असार २० गतेदेखि सडक निर्माण सुरु गरे पनि लामो समयदेखि काम अलपत्र पारेको हो ।

२०७७ असारभित्रै सकिनुपर्ने योजनामा कोरोनाको कारण देखाउँदै पहिलोपल्ट २०७८ पुस २० गते ६ महिनाका लागि र दोस्रो पटक २०७९ असार २० देखि एक वर्षका लागि म्याद थप गरेको छ । उसले अब २०८० असार १८ सम्म सबै काम सिध्याउनुपर्नेछ । जसका लागि सडक डिभिजन कार्यालयले ४४ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेको छ । ३० किलोमिटर कालोपत्र गर्ने योजनाको ठेकेदार कम्पनीले अहिलेसम्म ७१ प्रतिशत मात्र काम सम्पन्न गरेको देखिए पनि कालोपत्र भने ६ किलोमिटर मात्र गरेको छ ।

ठेकेदारले विभिन्न काम देखाउँदै पेटी ठेकेदारलाई कामको जिम्मा दिएर कालोपत्रको काम अलपत्र पारेको स्थानीय कमल केसीले बताए । उनका अनुसार ठेकेदारले समयमै काम सम्पन्न गर्न नसक्दा वर्षाको समयमा सडक हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । जसका कारण दाङको तुलसीपुर र सल्यान खलंगाबाट कालीमाटी हुँदै सुर्खेत जाने यात्रुहरूले सास्ती भोग्दै आएका छन् । ‘हिलो र धुलोले गाडी फस्दा कष्टकर यात्रा गर्नुपरेको छ,’ उनले भने, ‘कतिपयले त गाडी चढ्नै डर मान्न थालेका छन्, ठाउँठाउँमा फसेको गाडी यात्रुले आफैं धकेलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।’

अहिलेसम्म भएको काम पनि गुणस्तरीय नभएको स्थानीय पुरुषोत्तम भट्टराईले बताए । ‘सरकारले काम नगर्ने ठेकेदारलाई कारबाही गर्नुको साटो म्याद थपेर पुरस्कृत गर्छ, जसले गर्दा ठेकेदारलाई अनेक बहाना बनाउन सजिलो भएको छ,’ उनले भने, ‘हामीले भने सानो दूरीको यात्रा गर्दा पनि ठूलो सास्ती भोगिरहेका छौं ।’ ठेकेदारको लापरबाहीका कारण कालीमाटी गाउँपालिका–३ सिमलकुनादेखि सल्यान–सुर्खेतको सीमास्थित काल्चेडाँडासम्मको सडकमा ठेकेदारले सबैभन्दा बढी गुणस्तरहीन काम गरेको उनको आरोप छ । कतिपय स्थानमा कालोपत्रसमेत उप्किएको उनको भनाइ छ ।

तुलसीपुर र सुर्खेत खण्डमा कालोपत्रको काम सम्पन्न भएको एक वर्षभन्दा बढी भए पनि कालीमाटी क्षेत्रमा भने ठेकेदार कम्पनीले धेरै ढिला गरेको गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए । ‘बारम्बार ताकेता गर्दा पनि ठेकेदारले काममा खासै चासो देखाएका छैनन्, कतिपय ठाउँमा कालोपत्र नै उप्किएको छ,’ उनले भने, ‘ठेकेदारको कामको फेरि मूल्यांकन गरी आवश्यक निर्णय लिन सडक डिभिजनलाई पत्राचार गरेका छौं ।’

सडक डिभिजन कार्यालयका सूचना अधिकारी रिकेश महर्जनले ठेकेदारले कोरोना, इन्धन र निर्माण सामग्रीको मूल्य बढेको, कामदार नपाइएको, सामान समयमै नपुगेको लगायत कारण देखाउँदै म्याद थपिरहेको बताए । ‘काम नगर्नेलाई कारबाही गर्न खोज्दा माथिल्लो निकायले उल्टै म्याद थपिदिन्छ,’ उनले भने, ‘पछिल्लोपल्ट ठेकेदार कम्पनीले कामलाई केही तीव्र बनाएको छ, गुणस्तरहीन काम हुन नदिन अनुगमन र मूल्यांकनलाई निरन्तरता दिइरहेका छौं ।’ उनका अनुसार दाङदेखि नेपालगन्ज हुँदै सुर्खेत जानुपर्दा २ सय ५० किलोमिटर दूरी पर्छ । उक्त दूरी लामो भएपछि तुलसीपुर–कालीमाटी हुँदै सुर्खेत जाँदा झन्डै १ सय ५० किमिको सडक निर्माण भएको उनको भनाइ छ । उनले सडकको ६ किलोमिटरमा कालोपत्र भइसकेको र अन्य खण्डमा ग्राभेलको काम सकिएको जानकारी दिए ।

प्रकाशित : माघ ३, २०७९ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्

अनधिकृत संरचना भत्काउँदै शारदा नगरपालिका

विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका १ श्रीनगरस्थित अस्थायी बसपार्क वरपरको ऐलानी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहराहरू शारदा नगरपालिकाले आइतबारदेखि भत्काउन सुरु गरेको छ । आधुनिक बसपार्क निर्माणका लागि ती संरचना हटाउन ३५ दिने सूचना प्रकाशन गरे पनि सबै स्थानीयले घरटहरा नहटाएपछि नगरपालिकाले डोजर लगाई भत्काउन सुरु गरेको हो ।

अस्थायी बसपार्क वरिपरि ३५ रोपनी ऐलानी जग्गा अतिक्रमण गरी स्थानीय तथा आसपासका व्यक्तिहरू ८५ घरटहरा निर्माण गरी झन्डै तीन दशकदेखि बसोबास र ब्यापार व्यावसाय गर्दै आएका छन् । तिनै घरटहरा हटाउन शारदा नगरपालिकाले एक स्काभेटर र दुई डोजर प्रयोग गरेको हो ।

घरटहरा हटाउन केहीले नमानेपछि उनीहरूलाई नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले तीन दिनभित्र खाली गरेर हटाउन फेरि अल्टिमेटम दिएका छन् । ऐलानी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा भत्काउँदा विवाद हुनसक्ने भन्दै नगरपालिकाले ठूलो संख्यामा सुरक्षाकर्मी खटाएको छ ।

शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीका अनुसार आइतबार मात्रै दुई दर्जनभन्दा बढी घरटहरा भत्काइएको र बाँकी घरटहरा पनि डोजर लगाई भत्काउने काम भरहेको छ । कतिपय स्थानीयले भने आफैंले घरटहरा भत्काएर घरका सामग्री लिएर अन्यत्र गएका छन्।

साथै नगरप्रमुख भण्डारीले श्रीनगरमा आधुनिक बसपार्क निर्माणका क्रममा कुनै पनि विवाद नभएको र केही व्यक्तिले मात्र अटेर गरेको दाबी गरेका छन्। ‘घरटहरा भत्काएर सामान व्यवस्थापन गर्न नगरपालिकाले सहयोग गरेको छ,’ उनले भने ‘जग्गा तथा घर नभएकालाई कोठाभाडा उपलब्ध गराएर बस्ने व्यवस्था मिलाइएको छ ।’


नगरपालिकाका अनुसार आधुनिक बसपार्क निर्माणका लागि तीन पटक प्रत्येक वर्ष ६० करोडभन्दा बढी बजेट आएको छ । तर स्थानीयले यसअघि विरोध गरेका कारण निर्माण प्रक्रिया अगाडि बढ्न सकेको थिएन । ‘अहिले बजेट आएको छैन । फोहर तथा अन्य व्यवस्थापनका लागि नगरपालिकाले ११ औं नगरसभाबाट १ करोड बजेट बिनियोजन गरेको छ । उक्त बजेट पर्याप्त नभएकाले प्रदेस तथा संघमा माग गरेका छौ,’ उनले भने ‘शारदा नगरपालिका १ को श्रीनगर जिल्लाकै प्रमुख ब्यापारिक क्षेत्र हो । बजार क्षेत्रभित्रै रहेको अस्थायी बसपार्कलाई आधुनिक मात्र नभई सुन्दर तथा समृद्ध बनाउने सबैको दायित्व हो । बजारका साथै आधुनिक बसपार्क बनाउन सबैको सहयोग चाहिन्छ । सबैले साथ दिए मात्र आधुनिक बसपार्क सम्भव छ ।’

जिल्लाका १० स्थानीय तहमा विगतदेखि २ हजार हेक्टरभन्दा बढी ऐलानी जग्गा अतिक्रमण गरी घर निर्माण तथा जग्गा बनाइ जिल्लावासीले बसोबार तथा खेतीपाती गर्दै आएका छन् । केहीले ब्यापार व्यवसायसमेत गर्दै आएका छन् तर शारदा नगरपालिका भन्दा अन्य पालिककाले ऐलानी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन कुनै प्रक्रिया अगाडि बढाएका छैनन् ।


प्रकाशित : माघ २, २०७९ १९:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×