कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पुलले जोड्यो कर्णाली र सुदूरपश्चिम

सुर्खेत — सुर्खेतको पञ्चपुरी–११ कुइने र कैलालीको मोहन्याल–७ बडीगाउँ जोड्न कर्णाली नदीमा पक्की पुल निर्माण भएपछि कर्णाली र सुदूरपश्चिम जोडिएका छन् । सुर्खेतको कुइने–चिसापानी बाटोमा कर्णालीवारि र पारि सडक सञ्चालनमा छ ।

पुलले जोड्यो कर्णाली र सुदूरपश्चिम

३ सय मिटर दूरीको पुल ३२ करोड रुपैयाँको लगानीमा निर्माण भएको हो । पुल बनेपछि स्थानीयको वर्षौंदेखिको पैदल यात्रा घटेको छ । यसअघि सुदूरपश्चिमसँग जोडिएको सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका बासिन्दालाई कैलाली हुँदै भारतबाट आउने व्यापारिक सामग्री ढुवानी गर्न असहज थियो । ‘अब पुल बन्यो, भारतबाट दैनिक उपभोग्य सामग्री सस्तो र छिटो यहाँ आउने भयो,’ पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले भने, ‘यसअघि सामानकै लागि झोलुंगे पुल र नाउ तर्दै कर्णाली चिसापानी हुँदै कटासे, गौरीफन्टा र कैलालीका विभिन्न बजारमा पुग्नुपर्ने बाध्यता थियो ।’ दुई प्रदेश जोड्न मोटरेबल पुल निर्माण भएपछि १४ किलोमिटर दूरीमा महेन्द्र राजमार्गको चिसापानी पुग्न सकिने भएकाले व्यापारमा सजिलो भएको उनको भनाइ छ ।

पुलले सुर्खेतको घाटगाउँ, गल्टा, तातापानी गाउँसहित छिमेकी दैलेख, अछाम, कालीकोट, हुम्ला र जुम्लावासीलाई सुदूरपश्चिम जान सजिलो भएको नगर प्रमुख भण्डारीले बताए । ‘पहिला डुंगाबाट नदी तर्नुपर्थ्यो, त्यसमा पनि पैदल यात्रा गर्नुपर्ने बाध्यता,’ उनले भने, ‘अहिले त वारिपारि सडक पनि भयो यात्रा छोटियो, सास्ती पनि हट्यो ।’ पुल बनेपछि सहज भएको चौकुने घाटगाउँकी निवर्तमान कर्णाली प्रदेशसभाकी उपसभामुख पुष्पा घर्तीले बताइन् । ‘अहिले धेरै सहज भएको छ,’ उनले भनिन्, ‘यो बाटो र पुलले अछाम, दैलेख, कालीकोट, हुम्ला र जुम्लालाई पनि तराईसँग जोडेका छन् ।’ २ दशक अघिसम्म यही बाटो भएर कर्णालीका हिमाली जिल्लाका बासिन्दा खाद्यान्न, लत्ताकपडा जोहो गर्न कर्णालीको चिसापानी जाने गरेका थिए ।

विगतमा यी बाटा भएर हाट जान पनि निकै कष्टकर यात्रा गर्नुपरेको सम्झिन्छन् चौकुने गाउँपालिका–१० का वडाध्यक्ष नन्दराम खनाल । ‘पारि गएको डुंगा यता नल्याइँदासम्म डुंगा चढ्न पनि पालो कुर्नुपर्ने,’ उनले भने, ‘पुल बनेपछि स्थानीयले विकासको अनुभूति गर्न पाएका छन् ।’ अब चिसापानी र कुइने क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित : माघ ३, २०७९ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?