ट्रकको ठक्करले सल्यानमा दुई जना घाइते


सल्यान — ट्रकले मोटरसाइकलालाई ठक्कर दिँदा शनिबार बिहान सल्यानमा दुई जना गम्भीर घाइते भएका छन् ।
दाङको तुलसीपुरदेखि सल्यानको थारमारेतर्फ जाँदै गरेको रा १ क १०८९ नम्बरको ट्रकले विपरीत दिशाबाट गइरहेको रा २ प ५१२४ नम्बरको मोटरसाइकललाई राप्ती राजमार्ग अन्तर्गतको छत्रेस्वरी गाउँपालिका–६ कल्लेखोला नजिकै ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका हुन् ।
गम्भीर घाइते हुनेमा त्रिवेणी गाउँपालिका ३ लोटाउने निवासी वर्ष २३ का चालक सन्तोष बुढाथोकी र वर्ष १९ का रामबहादुर बुढाथोकी रहेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दामोदर केसीले बताए । गम्भीर घाइते दुवैलाई जिल्लाको शारदा नगरपालिका १ श्रीनगरस्थित कर्णाली प्रदेश अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको उनले जानकारी गराए ।
उनका अनुसार ट्रक र चालक तुलसीपुर उपमहानगरपालिका ९ बेलवा घर भएका वर्ष २५ का घनश्याम केसीलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लुहाममा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
प्रकाशित : पुस ३०, २०७९ १२:११