कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वीरेन्द्रनगर बसपार्क सञ्चालक कम्पनीले तिरेन ४६ करोड भाडा

ज्योति कटुवाल

सुर्खेत — वीरेन्द्रनगर नगरपालिकास्थित सिटी बसपार्क सञ्चालनको जिम्मा लिएको पीआर कन्स्ट्रक्सनले ४६ करोड ५० लाख रुपैयाँ नगरपालिकालाई अझै बुझाएको छैन । बसपार्क निर्माण पूरा भएपछि नगरपालिकाले भक्तपुरको पीआर कन्स्ट्रक्सनलाई सञ्चालनको जिम्मा दिएको थियो । तर १७ महिनाको भाडा नतिरेको उक्त कम्पनीका सञ्चालक भने २०७७ चैत २५ गतेदेखि सम्पर्कविहीन छन् । 

वीरेन्द्रनगर बसपार्क सञ्चालक कम्पनीले तिरेन ४६ करोड भाडा

कन्स्ट्रक्सनले मासिक ३१ लाख १५ हजार ५ सय ३२ रुपैयाँ भाडा तिर्ने गरी नगरपालिकासँग सम्झौता गरेको थियो । त्यस्तै सम्झौता गर्दा तोकिएको समयसीमाभित्र कम्पनीले भाडा नबुझाएमा दैनिक ५ प्रतिशतका दरले थप रकम तिर्नुपर्ने नगरपालिकाको कार्यविधिमा उल्लेख छ । कम्पनीले ५४ वटा सटरसहित ग्यारेज, टिकट काउन्टर, शौचालय र पार्किङस्थल सञ्चालनको जिम्मा लिएको थियो ।

विभिन्न माध्यमबाट कम्पनीका सञ्चालकलाई भाडा बुझाउन ताकेता गरिए पनि सम्पर्कमा नआएपछि नगरपालिका अहिले जिल्ला अदालत पुगेको छ । नगरपालिकाले साँवा र हर्जानासहित ६१ करोड ५० लाख रुपैयाँ मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले बताए ।

उनका अनुसार कन्स्ट्रक्सनलाई खराबसूचीमा राख्ने गरी प्रक्रियासमेत सुरु गरिएको छ । साउन १३ गते नगरपालिकाले अदालतमा मुद्दा दर्ता गराएको उनको भनाइ छ । नगरपालिका र पीआर कन्स्ट्रक्सनबीच ०७७ साउन २५ गते मासिक किस्तामा भाडा भुक्तानी हुने गरी सिटी बसपार्क सञ्चालनका लागि सम्झौता भएको थियो ।

ठेकेदार सम्पर्कविहीन भएपछि नगरपालिकाले आफैं चैतदेखि छुट्टै भाडा उठाइरहेको छ । बसपार्कमा २ वर्षदेखि किराना पसल र होटल व्यवसाय चलाउँदै आएकी बिनुमाया श्रेष्ठले ३ वटा पसलको १२ लाख रुपैयाँ अग्रिम धरौटी बुझाएको बताइन् । उनले अहिले एउटा सटरको मासिक ३५ हजार भाडा बुझाउँदै आएकी छन् ।

‘हामीले पहिले पनि नियमित भाडा तिरिरहेका थियौं, अहिले पनि नियमित तिरिरहेका छौं,’ उनले भने, ‘त्यति रकम उठाएर ठेकेदार फरार छन्, अहिले पनि भाडा तिरिरहेका छौं । शौचालयको समेत मासिक १ हजार रुपैयाँ तिर्नुपरेको छ ।’ पानी र बत्तीको बहानामा पनि थप रकम तिर्नुपरिरहेको उनको गुनासो छ । बसपार्कभित्रका सटरहरूको भाडा फरकफरक हुँदा आफूहरू मारमा परेको व्यवसायीहरूको गुनासो छ ।

‘सानो सटरको पनि ३५ हजार रुपैयाँ तिर्नुपरिरहेको, ठेकेदारले धरौटी भनेर ३ लाख रुपैयाँ पनि लिए,’ बसपार्कमा व्यवसाय गरिरहेका चक्रबहादुर शाहीले भने, ‘भाडा महँगो भए पनि त्यहीअनुसार व्यापार नहुँदा हामीलाई ठूलो मार परेको छ ।’

बसपार्कको महँगो भाडाका कारण व्यवसाय घाटामा गएपछि २ दर्जन व्यवसायी पलायन भएको अर्का व्यापारी मनबहादुर बुढाले बताए । ‘उनीहरूलाई धरौटी रकम पनि फिर्ता गरिएको छैन,’ उनले भने, ‘धरौटी फिर्ता आउँछ कि भनेर जसोतसो भाडा तिरेर हामीले व्यवसाय चलाइरहेका छौं ।’

जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वलदेव रावलले कन्स्ट्रक्सनका सञ्चालक फरार भएकाले उनको नाममा विभिन्न स्थानमा भएका जमिनहरू रोक्का गरिएको बताए । ‘त्यसबारे छिट्टै फैसला हुन्छ’ उनले भने ।

प्रकाशित : पुस २०, २०७९ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?