ठेकेदारको लापरबाहीले बलेन बिजुली- कर्णाली - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठेकेदारको लापरबाहीले बलेन बिजुली

गाडीएका पोलहरुसमेत ढल्न थाले, लाइनका लागि तानिएको अधिकांश तार चोरी
हरिहरसिंह राठौर, विप्लव महर्जन

जाजरकोट, सल्यान — जिल्लाभरि विद्युतीकरण गर्न सरकारले अघि सारेको ठेक्काको काम अझै पूरा भएको छैन । काम नहुँदा जाजरकोटको ग्रामीण क्षेत्रमा विद्युतीकरणमा समस्या देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा ठेक्का लिएका ठेकेदारहरूले अझै योजनाको काम पूरा नगर्दा स्थानीयको बिजुली बाल्ने सपना पूरा हुन सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय र जिल्ला कार्यालयले गरेका छुट्टाछुट्टै ठेक्का लगाएका थिए । राजनीतिक पहुँचका कारण ठेकेदारहरूले वर्षौंदेखि योजना अलपत्र पारिरहेका छन् । कांग्रेस जिल्ला समिति सदस्य शान्तबहादुर बस्नेतको मालिका निर्माण सेवाले छेडागाड नगरपालिकाको मनघाटदेखि सुयाडासम्म केन्द्रीय प्रसारण लाइन निर्माणको जिम्मा लिएको छ ।

उक्त कम्पनीले छेडागाड नगरपालिकाको थलहदेखि जुनिचाँदे गाउँपालिकासम्मको विद्युत्को प्रसारण लाइन जोड्न अर्को ठेक्कासमेत लिएर काम पूरा गरेको छैन । कम्पनीले करिब १ करोड रुपैयाँमा प्रसारणलाइनको जिम्मा लिएको छ । ठेकेदारले काम नगर्दा बिजुली बाल्ने सपना पूरा हुन नसकेको थलहका अशोक केसीले बताए । ‘अहिले त गाडीएका पोलहरूसमेत ढल्न थालेका छन्,’ उनले भने, ‘लाइनका लागि तानिएको अधिकांश तार चोरी भइसकेको छ ।’ उनले विद्युत् बाल्ने आशामा घरमा गरिएको वायरिङसमेत मुसाले काटिसकेको गुनासो गरे ।

त्यस्तै, कांग्रेसका उपसभापति तेजविक्रम शाहको साईबाबा एन्ड तारा कन्स्ट्रक्सनले कुशे गाउँपालिकको पाँचकाटियादेखि खुर्पा हुँदै समाकोटसम्म प्रसारण लाइन निर्माणको जिम्मा लिएको छ । उनले पनि आर्थिक वर्ष २०७५/७६ मै एक वर्षभित्र लाइन विस्तार गर्ने कामको जिम्मा पाएको थियो । उक्त निर्माण सेवाले पनि विद्युत्लाइन विस्तारको काम अझै पूरा गरेको छैन । ठेकेदारको लापरबाहीले जनताले सास्ती पाइरहेको स्थानीय ओमलाल विकले बताए । ‘गाउँमा अझै पनि सल्लाको झर्रो बाल्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘हुनेखानेले मात्र सोलार जोड्न सकेका छन्, हामी भने वारिपारिका गाउँको बिजुली हेरेर चित्त बुझाउन बाध्य छौं ।’

माओवादी केन्द्रका नेता वीरबहादुर बस्नेतको मुक्ति निर्माण सेवा खलंगाले शिवालयदेखि नाहाडासम्म लिएको ठेक्काको समेत काम हुन सकेको छैन । राप्रपाका नेता कृष्णविक्रम शाहले थलहदेखि टालेगाउँ अछानीसम्म विद्युत् प्रसारणलाइन निर्माणको जिम्मेवारी लिएकोमा अहिलेसम्म करिब ९० प्रतिशत काम गरेको छ ।

विद्युत् प्रसारणलाइन निर्माणका लागि आर्थिक वर्ष २०७५/७६ मा १० वटा ठेक्का भएका थिए । त्यसमध्ये अहिलेसम्म सबै ठेक्काको आधा काम पनि हुन नसकेको नेपाल विद्युत् प्राधिकरण जाजकोटका प्रमुख अविशेककुमार कलवारले बताए । निर्माणको जिम्मेवारी लिएका निर्माण व्यवसायीलाई पटकपटक लिखित र मौखिक ताकेता गर्दा पनि नटेर्ने गरेको उनको गुनासो छ ।

कार्यालयबाट तार, पोल र अन्य सामग्री बुझेर सम्बन्धित ठाउँमा प्रयोग नगर्दा विद्युतीय सामग्री कुन अवस्थामा छन् भन्ने थाहासमेत हुन नसकेको उनको भनाइ छ । ‘कतिपय ठेकेदारले त सामग्रीहरूबीच बाटोमै अलपत्र पारेका छन्, हामीले कारबाही गर्न खोज्दा राजनीतिक दबाब आउँछ, त्यसैले उनीहरूले भनेअनुसार म्याद थप्नुको विकल्प छैन,’ उनले भने, ‘जिल्लास्तरीय कार्यालयलाई ठेक्का तोड्ने अधिकार नहुँदा पनि ठेकेदारको मनोमानी बढिरहेको हो ।’ पछिल्लो समय ठेक्का लिएका ठेकेदारले भने कामलाई तीव्रता दिइरहेको उनले सुनाए । उनका अनुसार गत वर्ष ३ हजार ८ सय २३ ग्राहक रहेको प्राधिकरणका अहिले झन्डै ६ हजार २ सय ग्राहक छन् । चालु आर्थिक वर्षमा मोर्क, शिवालय, इवर, बुरुंगे, काफलचौर छिप्रेना, रिम्ना, रिसाङ, पोख्रा, लहा, बाउलीखोला, थहल, मैदे पिपे गाउँमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युतीकरण गरिएको उनले बताए । उनका अनुसार यो वर्ष थप १० ठाउँमा विद्युतीकरणका लागि ठेक्का भएको छ ।

पूर्वाधार कार्यालयको काम ठप्प

सल्यान– कार्यालय प्रमुखविहीन हुँदा झन्डै एक महिनादेखि पूर्वाधार विकास कार्यालयको कामकाज ठप्प भएको छ । सरुवा भएर गएका निमित्त कार्यालय प्रमुख विनोदकुमार पुनको ठाउँमा कोही पनि नआएपछि कामकाज ठप्प भएको हो । अहिलेसम्म कार्यालयमा कसैलाई पनि निमित्त प्रमुखको जिम्मेवारी दिइएको छैन । प्रमुख नहुँदा नयाँ योजनाको प्रक्रिया र पुराना योजनासमेत कार्यान्वयन हुन सकेका छैनन् । ‘एकातिर निमित्त कार्यालय प्रमुख सरुवा भएर गए,’ कार्यालयका सव इन्जिनियर सागर आचार्यले भने, ‘अर्कोतिर कार्यालयकै ३ कर्मचारी आर्थिक अनियमितता गरेको भन्दै निलम्बनमा परेका छन् । दुवै कारणले कामकाज नै ठप्प भयो ।’

प्रमुख नहुँदा अहिले पूर्वाधार कार्यालय सुनसानजस्तै देखिन्छ । कार्यालयमा उपस्थित कर्मचारी दिनभर घाम तापेर बस्ने गरेका छन् । योजनाको काम नहुँदा सेवाग्राही पनि आउन छाडेको सव–इन्जिनियर आचार्यले बताए । उनका अनुसार धमाधम विकास निर्माणको प्रक्रिया अगाडि बढाउने समयमा कामकाज ठप्प हुँदा यो वर्ष कार्यालयबाट ठूलो बजेट फ्रिज हुने जोखिम बढेको छ । ‘सबैजसो कामको प्रक्रिया प्रमुखबाट हुन्छ, सबै योजनामा प्रमुखकै हस्ताक्षर र उनकै निर्देशन चल्छ, तर यहाँ त निमित्तको जिम्मेवारीसमेत कसैलाई तोकिएको छैन,’ उनले भने, ‘हामी कार्यालय आउने र हाजिर गरेर फर्किने काम मात्र भइरहेको छ, अहिले धमाधम नयाँ योजनाको टेन्डर आव्हान गर्ने, उपभोक्ता समितिहरूसँग सम्झौता गर्ने र पुराना योजनालाई निरन्तरता दिने समय हो ।’ अहिलेसम्म चालु आर्थिक वर्षमा कार्यान्वयन हुने एउटा पनि योजनाको टेन्डर हुन नसकेको उनको भनाइ छ । कार्यालयको आर्थिक कारोबार पनि ठप्प छ ।

कार्यालय प्रमुख नहुँदा कार्यालयको नियमित र प्रशासनिक कामकाज पनि लथालिंग भएको कार्यालयका प्राविधिक अरुण भण्डारीले बताए । ‘प्रमुख नभएकै कारण तलबसमेत खान पाइरहेका छैनौं, कार्यालयमा प्रमुख हुनु र नहुनुमा धेरै फरक पर्छ,’ उनले भने, ‘प्रमुखले प्रक्रिया अगाडि बढाएपछि हामी खटिएर लाग्ने हो, कम्तीमा निमित्तको जिम्मेवारी तोकिएको भए पनि सानातिना योजनाको काम सुरु गर्न सजिलो हुन्थ्यो ।’ कार्यालय प्रमुख पठाइदिन प्रदेश सरकारसँग अनुरोध गरिएको भए पनि बेवास्ता भएको उनको गुनासो छ ।

प्रकाशित : पुस १४, २०७९ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्

पुल नबन्दा यात्रुलाई सास्ती

जाजरकोट –डोल्पा सडकखण्डको डोल्पा खण्डमा तोकिएको समयमा पुल निर्माण नहुँदा जाजरकोट, रूकुम पश्चिम र डोल्पालीलाई दैनिक सास्ती भोग्नुपर्ने बाध्यता
हरिहरसिंह राठौर, विप्लव महर्जन

जाजरकोट, सल्यान — भेरी करिडोरअन्तर्गतको जाजरकोट– डोल्पा सडकखण्डमा ५ खोलामा पुल नहुँदा यात्रुहरू सास्ती भोग्न बाध्य छन् । पुल नभएकै कारण विभिन्न स्थानमा दैनिक उपभोग्य सामान झोलुंगेपुलबाट बारबार गर्नुपर्ने बाध्यता छ । सडकको जाजरकोट खण्डमा अधिकांश पुल बने पनि डोल्पा खण्डमा पुल नबन्दा यात्रुहरू सास्ती भोग्न बाध्य भएका हुन् ।

भेरी नदीसहित डोल्पाको खदाङ ,करबगाड, त्रिपुराकोट बगर र रुपगाडमा पुल निर्माणको काम बाँकी छ । पुल निर्माण हुन बाँकी रहेको भेरी नदी र अन्य ४ खोलाहरूमा असारसम्म पुल निर्माणको काम सकिने सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख ध्रुवकुमार झाले बताए । उनका अनसार अहिले सुर्खेतबाट पुल निर्माणका सामग्रीहरूको ढुवानी भइरहेको छ ।

जाजरकोट –डोल्पा सडकखण्डको डोल्पा खण्डमा तोकिएको समयमा पुल निर्माण नहुँदा जाजरकोट, रुकुम पश्चिम र डोल्पालीलाई दैनिक सास्ती भोग्नुपर्ने बाध्यता छ । दुई वर्षअघि एक वर्षभित्र निर्माण हुने भनिएका पुलहरू हालसम्म पनि निर्माण नहुँदा स्थानीयले दुःख भोग्दै आएका छन् । पुलहरूको जगमा सामान्य पिलर मात्र उठाएको छ । जाजरकोटको चौखामा पनि पुल निर्माणको काम अलपत्र छ । जाजरकोट र रुकुम पश्चिमको बीचमा रहेको भेरी नदीस्थित तल्लुबगरमा चालु आर्थिक वर्षमा मात्र बोलपत्र आह्वान गरिएको छ ।

सडक यातायात पुग्दा यात्रुलाई आवजावतमा केही सहज भए पनि दैनिक उपभोग्य तथा निर्माण सामग्रीको ढुवानीमा कठिनाइ हुने गरेको मुड्केचुला गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले बताए । सडकअर्न्तगतका नदी तथा खोलामा पुल बनेमा डोल्पा दुनैसम्मको यातायात नियमित भइ यात्रा सहज हुने र दैनिक उपभोग्य बस्तुको मुल्य चार गुणा घट्ने उनी बताउँछन् । ‘खोलापिच्छे यातायात साधन फेर्नुपर्दा दुवानी भाडा महँगो हुन गएको छ,’ उनले भने, ‘खोला– खोलामा गाडी बदल्नु पर्दा यात्रुलाई पनि सास्ती हुने गरेको छ ।’ पुल नबन्दा गाडीमा सामान पल्टी गर्नुपर्ने, भरिया नपाइने, समान चोरी हुनेलगायत समस्याले उपभोग्य वस्तुको मूल्य खासै घट्न नसकेको उनले गुनासो गरे ।

नदी र खोलामा पुल नहुँदा र सडक स्तरोन्नति नहुँदा हिउँदे सिजनमा मात्र यातायात सुचारु हुने गरेको डोल्पाका ढुवानी व्यवसायी जनक विसीले बताए । ‘पुल नहुँदा सामानहरू पुल नबनेका ठाउँ–ठाउँमा पल्टी गर्नुपर्ने बाध्यता छ, जसका कारण ढुवानीमा समस्या भइरहेको छ,’ उनले भने, ‘डोल्पाभित्रै खदाङ, छलगाड र त्रिपुराकोटमा सामानको पल्टी गर्नुपरिरहेको छ ।’ उनका अनुसार सामान पल्टी गर्दा सामान ढिलो पुग्ने, टुटफुट हुने, हराउनेलगायत समस्या आउने गरेका छन् । यात्रुलाई समेत ठाउँ ठाउँमा झरेर पैदल यात्रा गर्नुपर्ने बाध्यता भएको छ ।

जाजरकोट–डोल्पा सडकको १ सय १८ किलोमिटर सडकमा झन्डै ३ वर्षदेखि यातायातका साधन चल्न सुरु गरेका थिए । नेपाली सेनाले सडक निर्माण गरी सडक डिभिजन कार्यालयलाई सडक हस्तान्तरण गरेपछि मात्र पुल निर्माणको काम सुरु गरिएको थियो । अहिले पहिलो चरणमा जाजरकोटको पासागाडदेखि रिम्नासम्मको १७ किलोमिटर सडकमा कालोपत्रेको काम सुरु गरिएको छ । जाजरकोट खण्डको भूभागमा वातारणीय प्रभाव मुल्यांकन गरेर बाँकी सडक कालोपत्रेका लागि ठेक्का लगाइने डिभिजन कार्यालय प्रमुख झाले बताए । उनका अनुसार पासागाडदेखि रिम्नासम्मको १७ किलोमिटर सडक कालोपत्रेको जिम्मा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसीले लिएका छन् ।

सल्यानको शारदा नगरपालिका–१४ माल्नेटाका ज्ञानबहादुर घर्तीलाई वर्षाको समय सुरु भयो भने सदरमुकाम आउजाउ गर्न समस्या हुन्थ्यो । उनले शारदा नदीबाट मोटरसाइकल तार्न नसक्दा बीचैमा मोटरसाइकल छाडेर कैयौंपल्ट पैदल यात्रा गरेका थिए । ‘कुनै बेला त बाटैबाट फर्कनुपर्थ्यो,’ उनले भने, ‘पुल बन्यो, अब सबै कुरा सहज भयो ।’ शारदा नदीमा पुल नबन्दा शारदा नगरपालिका–१४ र १५ माल्नेटाका स्थानीयले वर्षौंदेखि सास्ती भोग्दै आएका थिए । ‘गाउँमा कोही बिरामी भए सहज रुपमा अस्पताल लैजान समस्या थियो,’ स्थानीय दलबहादुर घर्तीले भने,‘पुल बनेपछि सदरमुकाम र जिल्ला बाहिरको आउजाउमा सहज भएको छ ।’ पक्की पुल बनेपछि बाह्रै महिना गाडी चल्न थालेको र कृषि उत्पादनले सहज बजार पाइरहेको उनले बताए ।

पुल निर्माणका लागि गत वर्ष पूर्वाधार विकास कार्यालयले ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । ३७ मिटर लम्बाइको उक्त पुल दिवा/यती बिल्डर्स जेभीले निर्माण गरेको हो । पक्की पुल बनेपछि दुई वडाका १ हजार ६ सय परिवारलाई सुविधा मिलेको छ ‘हिउँदको समयमा नदीमा पानी कम हुँदा पनि मोटरसाइकल तथा गाडी जबरजस्ती गुडाउनुपर्ने बाध्यता थियो,’ स्थानीय शेरबहादुर घर्तीले भने, ‘पुल बनेपछि दैनिक २०/२५ वटा गाडी चलिरहेका छन् ।’ उनका अनुसार माल्नेटा अदुवा उत्पादनको लागि प्रख्यात मानिन्छ । यहाँका सबै किसान अदुवा उत्पादनमा आत्मनिर्भर छन् । अब अदुवाले सहजै बजार पाउने उनले विश्वास गरे ।

शारदा नगरपालिका–१४ वडाध्यक्ष कृष्ण गिरीले पटकपटकको पहलपछि पुल निर्माणको काम पूरा भएको बताए । उनका अनुसार पुल बनेपछि शारदा नगरपालिका–१४/१५ को सदरमुकाम खलंगा र दाङ, नेपालगन्ज, सुर्खेतलगायत सहरसँग सिधा सम्पर्क स्थापित भएको छ ।

प्रकाशित : मंसिर २९, २०७८ ११:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×