हिमाली क्षेत्रमा तोतङरी ल्होसार मनाइँदै

जनकबहादुर शाही

हुम्ला — हिमाली क्षेत्रका लामा समुदायको तोतङरी ल्होसार अर्थात् नयाँ वर्ष २१५० शनिबारबाट सुरु भएको छ । पुष कृष्ण चतुर्दशीका दिनदेखि मनाउने गरिए पनि तोतङरी ल्होसार अर्थात् नयाँ वर्ष पर्व भने पुष शुक्ल प्रतिपदाबाट विविध कार्यक्रम आयोजना गरी मनाउने गरिन्छ ।

तोतङरी ल्होसार पर्व पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागतको रुपमा मनाउने गरिन्छ । ल्होतर पात्रो (लामा समुदायको पात्रो) अनुसार पुष शुक्ल प्रतिपदा शनिबारदेखि बाघ वर्ष पूरा गरी खरायो वर्ष प्रवेश हुन्छ । पूर्वको सोलुखुम्बुदेखि चीनको स्वशासित तिब्बतको डिघर्चीसम्म हिमाली क्षेत्रमा बसोबास गर्ने लामा भोटे र ब्यासी समुदायमा यो पर्व प्रचलित रहेको लामा सांस्कृतिक मञ्च हुम्लाका अध्यक्ष धर्मानन्द लामाले बताए । हरेक वर्ष पुष शुक्ल प्रतिपदाका दिनदेखि मनाइने चाड लामा र ब्यासी जातिको मुख्य पर्व हो । यो पर्व वसन्त पञ्चमिसम्म मनाइने उनले जानकारी दिए ।

ल्होसारका १२ वट वर्ष मुसा, हात्ती, बाघ, खरायो, मेघ, सर्प, घोडा, बाँदर, चरा, कुकुर, सुँगुर र भेडा गरी १२ वर्गमा तोतङरी ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपंक्षीको नामबाट गणना गरिएकाले लामा र ब्यासी समुदाय प्रकृतिपूजक रहेको पनि बताइन्छ ।

सोनाम, तमु र ग्याल्बु ल्होसारमा नेपाल सरकारले सार्वजनिक बिदा दिने गरेको भए पनि तोतङरी ल्होसारमा सरकारले सार्वजनिक बिदा दिने गरेको छैन । तोतङरी ल्होसार तथा लामा र ब्यासी समुदायको नव वर्ष २१५० को अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले शुभकामना सन्देश दिँदै कर्णालीवासीसँगै सम्पूर्ण नेपालीहरुबीच एकता, सदभाव र सहिष्णु कायम गरी समृद्ध कर्णाली निर्माणमा सबैलाई प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।

प्रकाशित : पुस १०, २०७९ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्

दाहाल तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त

सोमबार ४ बजे शपथग्रहण गराउने तय भएको छ
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

दाहालले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए ।

यससँगै तेस्रोपटक प्रधानमन्त्री बनेका दाहालले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथ सोमबार ४ बजे तय गरेको राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले जानकारी दिए । दाहाल यसअघि २०६५ र २०७३ मा ९/९ महिनाको अवधि प्रधानमन्त्री बनेका थिए ।

को हुन् दाहाल

कक्षा १० मा पढ्ने बेलादेखि राजनीतिक चासो राखेका दाहाल २०२८ सालमा कम्युनिस्ट पार्टीमा आबद्ध भएका थिए । २०४२ सालमा नेकपा मशालको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बने । २०४६ सालको जनआन्दोलनअघि मशालको महासचिव बने । २०५२ साल फागुन १ गतेबाट सुरु भएको तत्कालीन नेकपा माओवादीको जनयुद्धको नेतृत्व गरेका दाहाल २०५८ मा नेकपा माओवादीको अध्यक्ष भए भने २०५८ मा जनमुक्ति सेनाको सर्वोच्च कमान्डर पनि बने । त्यसयता लगातार पार्टी नेतृत्वमा रहेका दाहाल २०७५ सालमा एमालेस‌ँगको पार्टी एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्ष पनि बने ।

संसदीय यात्रा

पहिलो संविधानसभा २०६४ मा रोल्पा र काठमाडौं १० बाट निर्वाचित भएका दाहाल दोस्रो संविधानसभा २०७० मा सिरहा ५ बाट जिते । २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा चितवन ३ बाट निर्वाचित भएका दाहाल यसपटक गोरखा-२ पुगेर त्यहाँबाट जितेर आए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि पहिलोपटक भएको संविधान सभाको चुनावमा माओवादी ठूलो भएपछि २०६५ सालमा नौ महिनाप्रधानमन्त्री भए । २०७३ सालमा उनी पुन प्रधानमन्त्री बनेका थिए । पहिलो र अहिले तेस्रोपटक प्रधानमन्त्री बन्दा दाहालको मूल सत्ता साझेदार एमाले बनेको छ । दाहाल दोस्रोपटक प्रधानमन्त्री हुँदा उनको मुख्य सत्तासाझेदार दल कांग्रेस थियो ।

प्रकाशित : पुस १०, २०७९ १८:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×