कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भेरी किनारमा आधुनिक सहर बन्दै

ज्योति कटुवाल

सुर्खेत — भेरी नदीको किनारमा भूकम्प प्रतिरोधक आधुनिक सहर बन्ने भएको छ । पूर्वी सुर्खेतका गुर्भाकोट, लेसबेसी र भेरीगंगा नगरपालिकामा आधुनिक सहरको काम अघि सारिएको छ । आर्थिक वर्ष २०७३/७४ बाट सुरु गर्ने भनिएको उक्त आयोजना विभिन्न कारणले अघि बढ्न सकेको थिएन ।

भेरी किनारमा आधुनिक सहर बन्दै

सहरी विकास तथा भवन डिभिजन कार्यालयअन्तर्गतको संघीय आयोजना कार्यान्वयन इकाइले यो आर्थिक वर्षबाट आधुनिक सहर निर्माणको कामलाई तीव्रता दिइने जनाएको छ ।

आधुनिक सहरअन्तर्गत यो वर्ष पहिलो चरणमा गुर्भाकोटको मेहेलकुनामा सिटी हल, गुमीमा बहुउद्देश्यीय हल, बोटेचारमा वसपार्कलगातयका संरचना निर्माण हुनेछन् । आयोजना कार्यालयका इन्जिनियर रामकृष्ण आचार्यले तीन महिनाभित्र डीपीआरको काम पूरा गरी योजना अघि बढाइने बताए । जसका लागि चालु आर्थिक वर्षमा १९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । उक्त बजेटमा सडक र पार्कलगायत संरचना पनि निर्माण हुने आयोजनाले जनाएको छ ।

यस वर्षको बजेटबाट घोरेटारदेखि घाटगाउँसम्मको १ सय १५ किलोमिटरमा तीन नगरपालिकालाई समावेश गरी आधुनिक सहर निर्माण गरिने इन्जिनियर आचार्यले बताए । उनका अनुसार सबै आयोजना सम्पन्न गर्न करिब २२ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । ‘आयोजनाका लागि पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ,’ उनले भने, ‘तीन पालिकाको काम विभिन्न चरणमा गरिने छ, सबै आयोजना भूकम्प प्रतिरोधात्मक हुनेछन् ।’

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्काले २०७४ सालमा आयोजना सञ्चालन गर्ने योजना बनाएको भए पनि बल्ल काम अघि बढ्न लागेको बताए । ‘यसलाई नेपालकै नमुना सहर बनाउने उद्देश्य छ,’ उनले भने, ‘यो आयोजनाले कर्णालीको पर्यटन व्यवसायमा पनि हब बनाउने उदेश्य हो ।’ उनका अनुसार स्मार्ट सिटी निर्माणका लागि कृषि, पर्यटन र व्यापारको विस्तारले कर्णालीको आर्थिक समृद्धिको विकास आशा छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयअन्तर्गतको संघीय आयोजनाको कार्यालयले भेरीगंगा नगरपालिकामा नमुना सहरको कार्यालय स्थापना गरिसकको छ ।

भेरीको किनामा बन्ने आधुनिक सहर बनेसँगै बस्ती विकास सडक, हाटबजार, जंगल क्षेत्र, सिटी हल बसपार्क र पार्कहरूको प्रतिवेदन तयारी भइरहेको छ । भेरीगंगा नगरपालिका नगर प्रमुख यज्ञप्रसाद ढकालले ५ वर्षअघि बन्नुपर्ने आयोजना बल्ल सुरु हुँदा सरकार नै गैरजिम्मेवार भएको बताए ।

यो आयोजना छिटो बनेको भए पूर्वी सुर्खेतको भविष्य उज्यालो हुने थियो । उनले सिटीअन्तर्गन पर्ने छिन्चु जाजारकोट सडक खण्डको छिन्चुदेखि सिमघाटसम्म फोरलेन सडक निर्माण कार्य तीव्र गतिमा अघि बढेको बताए । १ अर्ब १३ करोड ५० लाख रुपैयाँमा निर्माण भइरहेको फोरलेन सडकका भित्री सडक पनि कालोपत्रे हुँदै गरेको छ ।

प्रकाशित : मंसिर २१, २०७९ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?