सिँगारिँदै संसद्

ज्योति कटुवाल

सुर्खेत — प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको नतिजा आएसँगै कर्णाली प्रदेश संसद् भवन सिँगार्न थालिएको छ । कर्णाली प्रदेशसभा सचिवालयले प्रदेशसभा सजाउन थालेको हो । नयाँ सांसदहरूको स्वागतका लागि प्रदेशसभाका कर्मचारीहरू कार्यालय व्यवस्थापन, विभिन्न कार्यकक्ष सजावट, रंगरोगन, बगैँचा गोडमेल र मर्मतसम्भारलगायत काममा व्यस्त छन् ।

सिँगारिँदै संसद्

जसका कारण कर्मचारीलाई भ्याईनभ्याई भएको प्रदेशसभा सचिवालयका कानुन अधिकृत मदन खड्काले बताए । ‘यसअघिभन्दा राम्रो व्यवस्थापन बनाउन खोजिरहेका छौं, यसअघिभन्दा सभाभुख र उपसभामुखसहित संसदीय दलका विभिन्न कार्यकक्षहरू आकर्षक बनाइरहेका छौं,’ उनले भने, ‘बाहिरको सजावटमा पनि विशेष ध्यान दिइएको छ ।’ उनले प्रदेशसभाका सबै कर्मचारीहरू बिहान सबेरैदेखि साँझ अबेरसम्म विभिन्न काममा व्यस्त भइरहेको बताए ।

अघिल्लो कार्यकालभन्दा योपल्ट दुई दलका संसदीय कार्यालय थपिने भएका छन् । यसअघिको प्रदेशसभामा एमाले, कांग्रेस, माओवादी र राप्रपालगायतका चार दलका लागि कार्यालयको व्यवस्थापन गरिएको थियो । अब एकीकृत सामाजवादी र स्वतन्त्र सांसदका लागि कार्यालय व्यवस्थापन गर्न सचिवालय जुटेको छ । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले झन्डै एक महिनायता नयाँ आउने प्रदेशसभा सदस्यहरूको स्वागत र व्यवस्थापनमा जुटिरहेको बताए । उनले विभिन्न कार्यकक्ष र आवश्यक फर्निचरहरू किनमेल गर्न थालिएको बताए । ‘खासै नयाँ किन्नेभन्दा पनि बिग्रेका सामानहरूलाई मर्मत गरेर काम चलाउने सोचमा छौं, सांसदहरूको मागअनसार पछि किन्न सकिन्छ,’ उनले भने, ‘भवनहरूको सजावटमा पनि जोड दिइएको छ ।’

प्रदेशसभा सचिवालयले गाडी पनि पुराना मर्मत गरिहेका जनाएको छ । ‘यसअघि नै भौतिक पूर्वाधारहरू आवश्यक्ताअनुसार बनिसकेका छन्,’ उनले भने, ‘सबै कर्मचारीहरू नयाँको स्वागतका लागि आवश्यक व्यवस्थापनमा जुटेपछि सभामुख, उपसभामुखलगायत पदाधिकारीको बिदाइसमेत गरिएको छैन ।’ आउने र जानेलाई सँगसँगै स्वागत र बिदाइ गर्ने गरी कार्यक्रम मिलाइएको उनले बताए ।

संसद् सचिवालयले ५ वर्षको अवधिमा यसअघिको संसद्ले गरेका कामको अभिलेख व्यवस्थापन पनि भइरहेको जनाएको छ । अहिले बगैँचा गोलमेल र नयाँ फूल रोप्ने काम भइरहेको छ, जसका कारण प्रदेशसभा निकै झकिझकाउ देखिएको छ । प्रदेशसभा मात्र होइन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अन्य मन्त्रालयमा पनि रंगरोगन र आवश्यक सामग्री व्यवस्थापनको काम भइरहेको छ । नयाँ आउने मन्त्रीहरूको स्वागतका लागि सबै मन्त्रालयमा व्यवस्थापनको काम भइरहेको मुख्यमन्त्री कार्यालयका सचिव आनन्द सारुले बताए ।

प्रकाशित : मंसिर २०, २०७९ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?