पहाडमा मेलाको रौनक

हरिहरसिंह राठौर

जाजरकोट — कर्णालीका पहाडी जिल्लामा परम्परागत मेला र जात्राको रौनक सुरु भएको छ । यहाँका पहाडी जिल्लामा दसैं–तिहारदेखि नै मेला–जात्रा मनाउन सुरु हुन्छ । गत मंसिर ४ मा भएको निर्वाचनको अघिपछि पनि मेलापर्व रोकिएनन् । जसका कारण उम्मेदवारले मेलाजात्रामै गएर आफ्नो प्रचारलाई निरन्तरता दिएका थिए ।

पहाडमा मेलाको रौनक

यो वर्ष मंसिर पूर्णिमा, पुस १५, माघे संक्रान्ति, चैते दसैंलगायत पर्व आउन बाँकी छ । जसको अवसरमा विभिन्न स्थानमा मेला र जात्रा लाग्ने गर्छ । जाजरकोटको रामीडाँडा र रमाइलो मेला, धारपानी मेला, झादेउ मेला, कार्कीज्युला मेला, पश्चिम रुकुमको डिग्रे मेला, शंखपीपल मेला, टापु मेला, रिम्ना मेलालगायत पहाडी जिल्लाका प्रसिद्ध मेलाहरू हुन् । चुनावअघि झण्डै एक सातासम्म रुकुम पश्चिममा डिग्रे मेलाको रमझम चल्यो । जहाँ रुकुम पश्चिमका गाउँगाउँका साथै कर्णाली र लुम्बिनीका विभिन्न जिल्लाका दर्शनार्थीहरूले मेला भरे । डिग्रेमा हरेक वर्ष हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म ५ दिन मेला लाग्ने गरेको छ । तर, मेलाको तयारी २ सातादेखि नै सुरु हुने गरेको स्थानीय गोविन्द केसीले बताए ।

डिग्रे मन्दिर व्यवस्थापन समितिका अनुसार यस वर्ष झण्डै डेढ लाख दर्शनार्थीहरूले मेला भरेका थिए भने करिब ११ सय बोकाको बली चढाइएको थियो । ‘चुनावको समय भएकाले पनि योपल्ट मेलामा छुट्टै रौनक थियो । रुकुम पश्चिमसहित रुकुम पूर्व, रोल्पा, सल्यान, जाजरकोट, दाङ, सुर्खेतलगायत जिल्लाका दर्शनार्थीहरू पूजाआजा गर्न, मेला भर्न र बली दिन यहाँ आइपुगेका थिए,’ मन्दिरका पुजारी रामप्रसाद गौतमले भने, ‘डिग्रे शाईकुमारी मन्दिरमा पूजापाठ, दर्शन तथा मन्दिरमा बली चढाएमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहीआएको छ । मन्दिरमा वर्षैभरि पुजापाठ तथा दर्शन गर्न मिल्छ तर हरेक वर्षको हरिबोधनी एकादशीदेखि कात्तिक पूर्णिमासम्मको समयलाई भने विशेष मानिन्छ ।’

उक्त मेलामा विभिन्न स्थानीय नाच तथा झाँकी र पराम्परागत सगाल नाच प्रस्तुत गरिएको थियो । मुसिकोट नगरपालिकाको साँख र आसपासका क्षेत्रबाट बाजागाजासहित हातहातमा लट्ठी लिएर आएका व्यक्तिहरूले ‘सखाल नाच’ नाचेसँगै मेला सकिएको छ ।

सल्यानको कुमाख मेला, छायाक्षेत्रलगायतका मेला पनि कर्णालीमा प्रसिद्ध मानिन्छन् भने दैलेखको डाँडीमाडी र बेस्तडा मेला पनि प्रसिद्ध छन् । यी सबै मेला सयौं वर्षदेखि आयोजना हुँदै आएका मौलिक मेला हुन् । मेलामा वल्लोपल्लो गाउँबाट भेला भएका स्थानीयले संस्कृति झल्कने लोकनृत्यहरू प्रस्तुत गर्दा मेलामा रौनकता बढ्ने गरेको दैलेखका अगुवा अमर सुनारले बताए । उनका अनुसार दैलेखमा हुड्के, देउडा प्रसिद्ध छन् भने जाजरकोटमा देउडा, ख्याली, खाँडो, गर्रा, टप्पा नाच लोकप्रिय छन् ।

मेलामा स्थानीय कृषि उत्पादन सखरखण्ड, सुन्तला, स्याउलगायत बिक्री हुन्छ । परिकारहरूमा जेरी, सेलरोटीलगायतका बनाइने गरिएको रुकुम चौरजहारीका यदु आचार्यले बताए । उनका अनुसार मेलामा युवाहरूको आकर्षणलाई ख्याल गरी लाखौं रकम पुरस्कार रहेको भलिबल प्रतियोगितासमेत आयोजना हुन्छ । मेलामा रोटेपिङ अनिवार्यजस्तै हुने गर्छ । ‘यस्ता मेलापर्वले मौलिकता कायम गरिराखेका छन्, आपसी सद्भाव र भातृत्व पनि जीवित छ,’ उनले भने, ‘मौलिक खानपिन र नाचगानले संस्कृति संरक्षणमा पनि टेवा पुर्‍याइरहेको छ ।’

प्रकाशित : मंसिर १९, २०७९ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?