कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

जमिन भासिएपछि चर्केको घरमा बस्न बाध्य काफलपानीका स्थानीय

विप्लव महर्जन

सल्यान — गत असोज पहिलो साता केही दिन लगातार परेको अविरल वर्षातका बन्गाड कुपिण्डे नगरपालिका ४ काफलपानीमा बस्ती बसेको स्थानमा जमिन भासिँदा स्थानीय मेघराज गिरीको घर र मिल घर चारैतिरबाट चर्किएको छ । सामान्य वर्षात्‌मा पनि घर भत्किने खतरा बढेपछि उनी एक सातासम्म आफन्तकहाँ बसे । सम्बन्धित निकायले चर्केको घर मर्मतमा कुनै चासो नदेखाएको र वर्षात् रोकिएपछि अहिले उनी पाँच जनाको परिवारसहित त्यहि घरमा बस्न बाध्य छन् ।

जमिन भासिएपछि चर्केको घरमा बस्न बाध्य काफलपानीका स्थानीय

यस्तै स्थानीय शशिराम नेपालीको समस्या उनको भन्दा फरक छैन । उनी त रातभर निदाउँदैनन् । बस्नलाई अर्को घर नभएको र भाडामा बस्नलाई आर्थिक अवस्था कमजोर भएकाले अहिले उनी त्यही चर्किएकै घरमा जोखिम उठाएरै बस्दै आएका छन् ।

यी दुईमात्र नभई काफलपानीका झन्डै तीन दर्जन परिवार वर्षात्‌का कारण जमिन भासिएपछि चर्किएको घरमा अढाइ महिनादेखि जोखिम उठाई बस्न बाध्य हुँदै आएका छन् । सम्बन्धित निकायले मर्मत तथा बस्ती स्थानान्तरणमा कुनै चासो नदेखाएपछि स्थानीय जोखिम उठाई चर्किएको घरका बस्न बाध्य भएका हुन् ।

आर्थिक अवस्था कमजोर भएकाले बाहिर जान नसकेकै कारण चर्किएको घरमा ज्यान जोखिममा पारेर बस्नुपरेको खिमलाल पुनले बताए । असोजको पहिलो सातामा अत्यधिक वर्षात्‌का कारण करिब दुई मिटर तल जमिन भासिँदा घरको बाहिर पर्खाल मात्र नभई भुइँको भागसमेत चर्किएको उनले जानकारी दिए । ‘वर्षात् भए पनि भित्रै पानी पस्ने गर्छ । चर्किएकाले भत्कने खतरा बढी भएकाले रातभर निद्रा लाग्दैन‚’ उनले भने‚ ‘च्यापिएर मर्ने त हो कि भन्ने मनमा डर मात्रै लाग्ने गर्छ । राति सुतेको मान्छे बिहान ब्युझिँदा आज बाँचिएछ भन्ने लाग्छ । आर्थिक अवस्था कमजोर भएकाले भारतका विभिन्न ठाँउमा गएर मजदुरी नगरे गुजारा चल्दैन । चारैतिरबाट चर्किएको घरमा बस्न हामीलाई पनि रहर त हैन तर के गर्नु बाध्यता छ । मरे पनि मरौँला भनेर भनेर बस्नु परेको छ । मरिएला भनेर बस्नु परेको छ ।’

सुरक्षित स्थानमा घर बनाएर बस्न नसकिने अवस्था भएको र स्थानान्तरणका लागि माग राख्दै आए पनि सम्बन्धित निकायले खासै चासो नदेखाएकाले जे-जस्तो भए पनि परिवारको ज्यानै जोखिममा पारेर चर्किएको घरमा बस्नुपरेको सुन्दर पुनले बताए । जमिन भासिएका कारण घरका पर्खाल मात्र नभई सबै कोठाका भुइँतल्ला पनि चर्किएकाले हिँड्डुल गर्न डर लाग्ने गरेको र बाहिरका कोही आए भने भित्र पस्न डराउने गरेको उनले जानकारी दिए । बस्तीका अधिकांश घरको हालत उस्तै भएकाले वर्षात् भएमा खुला चौरमा भिज्दै र काँप्दै बस्नुबाहेक अन्य विकल्प नभएको उनको भनाइ छ ।


वर्षात्‌ले जमिन भासिँदा काफलपानीका एक स्थानीयको घर बाहिरबाट भासिएको जमिनको भाग । तस्बिर : कान्तिपुर

घरमात्र नभई मिल जडान गरेको घरसमेत भासिएको आफनो १० लाखभन्दा बढी रकम क्षति भए पनि अहिलेसम्म कतैबाट राहत पाउन नसकेको स्थानीय मेघराज गिरीले बताए । घर बाहिर तथा भित्रबाट चर्किएकाले मिल प्रयोग गर्न नमिल्दा तीन महिनादेखि त्यत्तिकै बस्नु पर्दा जीविकोपार्जनमा समस्या भएको उनको भनाइ छ । उनले सम्बन्धित निकायसमक्ष राहतका लागि आग्रह गरेका छन् ।

असोजको पहिलो साता परेको वर्षात्‌ले जमिन भासिएपछि बस्तीका स्थानीयको अवस्था दयनीय भएको र बस्ती स्थानान्तरण नगरे कुनै पनि समयमा ठूलो घटना घट्न सक्ने स्थानीय ठगेन्द्र पुनले बताए । घर बाहिर-भित्र मात्र नभई बस्ती आसपासका क्षेत्रका भाग पनि चर्किएको उनले जानकारी गराए । अकालमा ज्यान जानबाट बचाउन सम्बन्धित निकायले तत्काल स्थानान्तरणको प्रक्रिया अगाडि बढाउन उनले सम्बन्धित निकायसमक्ष आग्रह गरेका छन् ।

बन्गाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख कर्णबहादुर बुढाथोकीले बस्ती पहिरोको उच्च जोखिममा परेकाले आउँदा दिनमा मानवीय क्षति हुन नदिनका लागि स्थानान्तरणको पहल भैरहेको र सम्बन्धित निकायसँग समन्वय, सहकार्य भैरहेको बताएका छन् । यसपालि असोजमा परेको वर्षात्‌ले पालिकाभित्र धेरै क्षति पुर्‍याएको उनले जानकारी दिए ।

प्रकाशित : मंसिर १८, २०७९ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?