सरकारको अनुभूति दिलाउँदै गुठीचौर

डीबी बुढा

जुम्ला — जुम्लाको गुठिचौर गाउँपालिकाले हरेक क्रियाकलाप गाउँ केन्द्रित गर्न थालेपछि गुठिचौरवासीले बल्ल घरदैलोको सरकार आएको अनुभूति गर्न थालेका छन् । उनीहरू सान‍ोतिनो कामका लागि पालिका केन्द्र सम्म आइपुग्नु पर्दैन । पालिका सरकार स्थानीयको दु:ख‚ पीडा बुझ्न गाउँमै पुग्ने गर्छ । पालिका अध्यक्ष दानबहादुर बुढा गाउँपालिकावासीको गुनासो सुन्न र विकास योजनाको काम प्रभावकारी भए/नभएको हेर्न आफैँ जाने गरेका छन्‚ जसले स्थानीय सरकारले दिने सेवासुविधा निकै चुस्त र प्रभावकारी बन्ने गरेको छ । 

सरकारको अनुभूति दिलाउँदै गुठीचौर

भौगोलिक दृष्टिकोणले निकै दुर्गम र दूरीका हिसाबले निकै टाढाका गाउँबस्तीमा सरकारी सेवा सहज रुपमा दिन अग्रसर हुने गरेको अध्यक्ष बुढाले बताए । उनले भने, ‘स्थानीय सरकार भन्ने पालिका कार्यालयमै बस्ने र जनताको इच्छा आकांक्षालाई हल्का ढंगले लिने काम कदापि राम्रो हुन सक्दैन । त्यसैले हरेक बस्तीमा पुगेर जनताको समस्या प्रत्यक्ष रुपमा बुझ्न र निगरानी गर्न पनि दुर्गम बस्तीमा केन्द्रित भइरहेका छौं । ’

भौगोलिक बनावट र दूरीका हिसाबले गुठिचौर १ र २ निकै नै विकट छन । पालिका अध्यक्ष बुढा प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारी लिएर योजना सम्झौता गर्ने काममा खटिएका छन् । सरकारको यो कामप्रति स्थानीय निकै उत्साहित छन ।

हरेक वडामा पुगेर शिविरको आयोजना गर्ने,योजना सम्झौता गर्ने र विकास निर्माणको आवश्यकता र महत्त्वबारे छलफल गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत सिंहबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार पालिका अध्यक्ष बुढाको नेतृत्वमा १० जनाको कर्मचारी टिम घरदैलोमा पुगेर योजना सम्झौतालगायतका काम गरिरहेको छ ।

गुठिचौर-१ मा मात्र २२ योजना सम्झौता गरिएको छ । त्यहाँ ३१ वटा योजना परेका थिए । चेतनाको कमी, भौगोलिक कठिनाइ, आवश्यक कागजातको कमी र उपभोक्तालाई खान बस्नको समस्यालाई मध्यनजर गर्दै गाउँमा पुगेको अध्यक्ष बुढाले बताए ।

उनले भने,‘उपभोक्ता योजना सम्झौता गर्न पालिकासम्म आउनुपर्ने अवस्थाको अन्त्य गर्दै छौं । ’अनुगमन गर्न पनि बस्ती स्तरमै पुगेर त्यही भुक्तानी दिने वातावरण मिलाउन थालेको उनले बताए ।

एकै दिनमा सकिने काम पालिकासम्म आइपुग्दा दुईचार दिन लाग्ने गरेको देखिन्छ । उपभोक्ताको समय र पैसाको खर्च बढ्ने देखिए पनि वडास्तरमै पुगेर सेवा प्रदान गर्न थालिएको हो । यसअघि बर्षहरुमा जे भयो भयो तर अबको वर्षहरूमा सानोतिनो काम गर्न सेवाग्राहीहरू पालिकामै पुग्नु पर्ने अवस्थाको अन्त्य गर्न थालिएको छ । टाढाका नागरिकलाई घरमै पुगेर सेवा दिने लक्ष्य रहेको छ,पालिका अध्यक्षले भने,‘जनताले सरकार पुगेको अनुभूति गरून् । सरकारले जनताको काम गरेको महसुस गरोस अनि मात्र स्थानीय सरकारको महत्त्वबारे प्रस्ट हुन्छ । ’

अहिले योजना सम्झौतादेखि सामाजिक सुरक्षाभत्तासमेत घरदैलोमै पुगेर बाँडिन्छ । कृषि, पशु,शिक्षा,स्वास्थ्यका कार्यक्रम पनि ग्रामीण क्षेत्र केन्द्रीत बनाइएको छ । बाढीपहिरोले क्षतिग्रस्त संरचना निर्माण गर्न बस्तीस्तरमै पुग्नेदेखि हरेक नागरिकको समस्यासँग एकाकार हुन जिल्लास्थित सरोकारवाला निकायासँग समेत समन्वयकारी भूमिका निर्वाह भइरहेको छ । ’

मंसिर महिनाभित्र सम्झौता भएका योजनाको काम प्रारम्भ भएर चैत मसान्त भित्र भुक्तानी दिइनेछ । सबै काम असार मसान्तमा गर्ने भन्दै थन्काएर राख्ने परिपार्टीको समेत अन्त्य हुने प्रमुख प्रशासकीय अधिकृत खत्रीले बताए । उनले भने,‘अब सरकार खोज्दै नागरिक पालिका पुग्नु पर्दैन् । नागरिकका कथा व्यथा र पिरमर्का सुन्न सरकार घरदैलोमै पुग्छ भन्ने सन्देश दिन चाहन्छौं । ’

‘सबै योजनाको सम्झौता भइसकेकाले छिटै काम सुरु हुनेछ’, खत्रीले भने ‘एउटा वडाको योजना सम्झौता पूरा भएकाले अब वडा नम्बर २ का लागि तयारी गरिएको छ ।’ गुठीचौर गाउँपालिभित्र ५ वडा छन् । सरकारले जनताको घरदैलोमा गएर सेवा मात्र दिएको छैन; सेवा प्रभावकारी भए/नभएको, पारदर्शीता भए/नभएको बारे समेत निगरानी राख्ने गरेको छ ।

पालिकाभित्रका सबै बस्तीसम्म सडक पुगिसकेको छ । बिजुलीको पर्याप्तता छ । सडक पुगिसकेको बस्तीमा ग्राभेल गर्ने र बिजुली नपुगेको बस्तीमा विद्युत् पुर्‍याउनेदेखि शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रमा प्राथमिकता दिइएको छ ।

स्थानीय गणेश बुढा स्थानीय सरकारले गरेका हरेक क्रियाकलापका बारेमा जनताले थाहा पाउन थालेको बताए । उनले भने,‘पहिलो कार्यकालमा सरकार छ कि छैन भन्दै बित्यो । दोस्रो कार्यकालमा घरदैलोमा पुगेर सेवा दिने कामको प्रारम्भ भएको छ । यसले सरकार भएको अनुभूति हुन थालेको छ । यो राम्रो पक्ष हो । ’

‘स्थानीय सरकारको एक मात्र अभिष्ट भनेको स्थानीय मतदाताहरूको खुसी र उनीहरूको जिवनको रेखदेख हो, तर, विध्वंस होइन,अध्यक्ष बुढाले भने, ‘यही मूलभूत मान्यतालाई दृष्टिगत गरी गुठिचौर गाउँपालिकाको स्थानीय सरकार अगाडि बढिरहेको छ ।’ उनले पालिकाले दिने हरेक सेवा फरक क्षमता भएका व्यक्ति मैत्री, महिलामैत्री, दलितमैत्री,बालबालिका र जेष्ठनागरिक मैत्री र दूरदराजका नागरिकमैत्री हुने बताए ।

गुठिचौर-१ को बेहुलीपाटन सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष बलिबहादुर रोकाया गाउँमै सबै सेवा पाउँदा दंग भए । उनी अघिल्लो वर्ष पालिकामै गएर योजना सम्झौता गरेका थिए । उनले बाससमेत पालिका आसपासकै होटलमा बसे । खर्च पनि धेरै हुन्थ्यो । न समय बचेको समय उपयोग हुन्थ्यो नत रकम नै बचाउन सकिन्थ्यो । उनले भने,‘यो वर्ष गाउँमै सरकारी टोली पुगेपछि निकै राहत मिलेको छ । हप्तादिनसम्म पनि हुन नसक्ने काम एकै दिनमा भइरहेको छ । हामी नागरिक निकै खुसी छौं । ’

स्वास्थ्य शिविर,विद्यालय भर्ना अभियान देखि सुत्केरी र गर्भवती अवस्थामा भोग्नुपर्ने समस्या र हेरचाहको विषयलाई झनै पेचिलो बनाउदै लगेको पालिकाले जनाएको छ । गर्भवती र सुत्केरी बोक्नका लागि छुट्टै गाडीको प्रबन्ध मिलाउनुका साथै जटिल प्रकारका बिरामी ओहोरदोहोर गर्न गाडीको व्यवस्थासमेत गरेको छ ।

प्रकाशित : मंसिर १८, २०७९ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?